खेत खाने कोरोना

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

जनस्वस्थ्य विज्ञ समेत रहेका साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

जीवन आफ्नो लयमा चलिरहेको थियो । सुख थिए, दु:ख थिए, तनाव थिए अनि आशा थिए ।

वुहानमा नयाँ रोगले धेरैजना संक्रमित भएको समाचार सामान्य लागेको थियो । हुम्ला, बाजुरा, जाजरकोट लगायतका जिल्लामा अज्ञात रोग फैलिने तथा अज्ञात रोगले ज्ञात मान्छेको मृत्यु हुनु सरकारका लागि सामान्य कुरा हुँदै आएको थियो । चीनमा पनि त्यस्तै होला भन्ने अनुमान गरें ।


Advertisement

वुहान भाइरस, चाइनिज भाइरस हुँदै नोबेल कोरोना भाइरसमा दर्ता भयो । वुहानमा जन्मिएको कोरोना भाइरसले पूँजीवादको ढाड टेकेर जहाज, पानीजहाज र बस हुँदै संसारभर फैलियो । महामारीका किस्सा त सुनेको थिएँ तर यो स्तरको महामारी सामना गर्नुपर्ला भनेर सपनाको सपनामा पनि सोचेको थिइनँ ।

वुहान, इटली, न्युयोर्क, पेरिस लगायतका अस्पतालमा पीपीई लगाएका स्वास्थ्यकर्मी, आईसीयूमा इन्तु न चिन्तु भएका संक्रमितहरू अनि खाल्डोमा पुरिरहेका शवको पहाड देख्दा मुटु नै सिरिङ्ग भयो । हावाको लहरभन्दा छिटो आउने हल्लाले मस्तिष्कमा डरको डेरा जमायो ।


Advertisement

हेर्दाहेर्दै भाइरस प्लेन तथा बस चढेर नेपालमा पनि प्रवेश गर्‍यो ।

जीवनमा नसुनेका शब्द सुन्न थालेँ । लकडाउन, क्वारेन्टीन, आइसोलेसन, पीपीई ...।

युरोपमा लकडाउन गरेको खबर सुन्दा अचम्म लागेको थियो । उत्सुकता जागेको थियो ।

नेपालमा पहिलो संक्रमित पत्ता लाग्दा काठमाडौं हल्लिएको थियो, देशै तरंगित भएको थियो । दोस्रो संक्रमित देखिएपछि देशभर मृत्युको छायाँ छमछम नाच्न थालेको थियो ।

अचम्म मानेको शब्द लकडाउन नेपालले पनि गर्‍यो । सुरुमा रमाइलो लाग्यो, लकडाउन । जीवनको भागदौडले आराम पायो । मान्छेहरूले थरिथरि परिकार पकाएर फेसबूकमा फोटो सेशन गरे । सबैजना घरमै बस्न पाएकोमा रमाए । म पनि खुब रमाएँ ।

रमाउँदै तथा डराउँदै गर्दा एक महिना बित्यो । यो एक महिनामा धेरैपटक मुटुले ठाउँ छोड्यो, कोरोनाको हल्लाले ।

बार्बिक्युका लागि कुखुराका सपेटालाई म्यारिनेट गर्दै थिएँ । केटाकेटीले टेलिभिजनमा कार्टुन हेर्दै थिए । हनीले सुन्तला, स्ट्रबेरी , ब्रान्डी, रेड वाइन, रोज, मिन्ट तथा आइस मिलाएर कक्टेल बनाउँदै थिई ।

अफिसबाट फोन आयो ।

क्षितिज सर बोल्नुभएको हो ?

हजुर ।

अब हजुर होटल आउनु पर्दैन । होटलले ६० % कर्मचारी कटायो । सरको नाम पनि काँटछाँटमा परेछ ।

अघिल्लो महिनाको २५ % तलब आज खातामा राखिदिन्छु ।

मेरा हातखुट्टा लुला भए । ओठमुख सुके । शरीरमा चिसा पसिना आए ।

फोन राखेर श्रीमतीलाई भनें – एक गिलास चिसो पानी देऊ न, रिंगटा लाग्यो ।

हनीले एक गिलास पानी दिएर भनी - प्रेसर बढ्यो कि ! औषधि छोड्नु भएको त थिएन नि ? सुगरको औषधि त बिहान खानुभएको थियो ।

उसले  झ्याल खोली अनि बालकथाको किताबले हम्किन थाली ।

के भयो बाबालाई ? छोराछोरी साख्खै भए  ।

म मुर्तिवत बसें ।

हनीले डिजिटल मेसिनबाट प्रेसर र ग्लुकोमिटरले सुगर जाँच गरेपछि भनी – सुगर र प्रेसर ठीक छ ।

मैले भनें – म ठीक छैन ।

मैले सोंचे – फ्ल्याट भाडा १६ हजार, बिजुली / पानी / नेट / फोनको ५ हजार, रासन १० हजार, मेरा महंगा औषधि ७ हजार, स्कुल खुलेपछि दुईजना केटाकेटीको फी १४ हजार ....अरू खर्च कतिकति !

त्यति मात्र कहाँ हो र ? हनीको पार्लरको भाडा १२ हजार, सहयोगीको तलब ८ हजार ।

एउटा होटलको म्यानेजरको तलबले परिवार चलाउन यसै पनि धौ–धौ भएको थियो । अलिअलि टिप्स र ओभरटाइमले धानेको थियो । पार्लरले आफूलाई र हनीको खर्च मात्र धानेको थियो ।

हनीलाई भनें – अब हामी गाउँ जानुको विकल्प छैन ।

उसले छक्क पर्दै सोधी – किन गाउँ जाने नि ? तपाईंको जागिर, मेरो पार्लर, केटाकेटीको स्कुल ... ।

मैले सुस्केरा निकाल्दै भनें – मेरो जागिर गयो । तिम्रो पार्लर अब खुल्दैन, खुलेपनि चल्दैन, केटाकेटीको स्कूल यो वर्ष खुल्दैन ।

मेरो जागिर गएको थाहा पाएर ऊ रोई ।

पैसा ठिकै भएपनि होटलको जागिर बाहिर हेर्दा आकर्षक थियो । अफिसले सुटबुट दिएको थियो । अफिसको कारले ल्याउने / लैजाने गरेको थियो । सेक्युरिटीको सलोट दिनको दुईछाक खान पाइएको थियो । सधैँ टिपटप हुनुपर्थ्यो । होटलमा हुने रमाइलो हेर्न पाइन्थ्यो ।

यता ८ वर्ष बसेको टोल एक किसिमले आफ्नै गाउँको टोलजस्तै बनेको थियो । सबैले इज्जत गर्थे ।

घरसल्लाह गर्दागर्दै रात ढल्यो । तीन दिनपछि हामीले अर्को टोलमा पाँच हजार भाडा तिर्ने गरि एउटा कोठा र स्यानो  किचेन लियौं । सिंगो फ्ल्याटका सामानमध्ये नचाहिने त्यहीँ छाड्यौं, नयाँ कोठामा आवश्यक सामान कोचाकोच गरेर राख्यौं । भोलिपल्ट पार्लरका सामान पनि त्यही कोठामा सार्‍यौं र पार्लर छोड्यौं । सहयोगी बहिनीलाई हनीले फोन गरेर पार्लर बन्द भएको जानकारी दिई । तलब स्वरूप पार्लरका फर्निचर लिन बोलाई ।

 सामानले कोठा निकै गह्रौं भयो । हाम्रो मन अलि हलुको भयो ।

यस्तो परिस्थिति आउन सक्छ भन्ने हेक्का भएको भए अलिअलि बचत गरिन्थ्यो होला । दुई महिना धान्ने बचत मात्र हामीसँग थियो । खर्च व्यापक कटौती गर्नुको विकल्प रहेन ।

चौध वर्ष आफ्नै होटल सम्झेर काम गरेको होटलले एक फोनमा जागिरबाट घोक्रेठ्याक लगाउँछ भन्ने कल्पना समेत गरेको थिइनँ ।  सम्झिँदा एकदम रुने मन लाग्थ्यो । होटलका लागि आफूले बगाएका पसिना सम्झें । होटलको लागि छोडेका धेरै अवसर सम्झें अनि आपतको बेला होटल निर्दयी भएको सम्झें । तारे होटलको मालिकसँग राजा चिनाई मात्र थियो । जनरल म्यानेजरलाई धेरैपटक फोन गरें ।

फोन उठेन । एचआर डिपार्टमेन्टको प्रमुखलाई फोन गरें । उनले भने – होटलले ६० % स्टाफ कटौती गर्‍यो । यो महामारी वर्षौं लम्बिन सक्छ । सरले विकल्प खोज्नुहोला । मेरो जागिर पनि आज हो कि भोलि भन्ने भएको छ । सरको मात्रै हैन ट्रान्सपोर्ट, पर्चेज, हाउस किपिङ, लिनेन, गेस्ट रिलेसन, कस्ट कन्ट्रोल, गेमिंग, बारलगायत अधिकांश म्यानेजरको जागिर गयो । सेक्युरिटी, एचआर, फाइनान्स लगायत केही सरहरूको मात्र जागिर बचेको छ ।  होटल व्यवसाय सबैभन्दा अन्तिममा चल्ने व्यवसाय हो । पर्यटक आउनका लागि दुईचार वर्ष पनि लाग्न सक्छ । उसको कुराले आशाको त्यान्द्रो समेत चुँडियो ।

हनीले भनी – बूढा ! अब होटलको आशा गरेर हुँदैन । केही नयाँ काम गर्नुपर्छ ।

मैले भनें – फण्डमा अफिसले जम्मा गरेको सात / आठ लाख छ होला । हाम्रो सम्पत्ति त्यही हो । गाउँका भीरपाखा कसले किन्छ र ?

फेरि भनें – नयाँ काम के गर्ने ? यो उमेरमा शुरू गरेको कामले कसरी स्थापित गर्ला ? अहिले खाद्य पसलबाहेक कुनै व्यवसाय चलेको छैन ।

समय अघि बढ्दै गयो । कोरोना महामारी तराई हुँदै काठमाडौं उपत्यकामा आयो ।

अब के गर्ने होला ? भन्दै धेरै रात छर्लङ्ग बिते । मन एकदम निराश भयो । जागिरले मान्छेलाई केही निर्णय गर्न नसक्ने बनाउँदो रहेछ । साँच्चै जा अनि गिर रहेछ ।

*****

बिहेको एक दशकसम्म चखेवाका जोडी रहेका हामी बूढाबूढीको सानो कुरामा पनि झगडा हुन थाल्यो । केटाकेटीले  पनि झर्किने, रुने तथा पहिल्यैको घर जाऊँ भन्न थाले ।

होटलबाट प्रायजसो मम, पिज्जा, बर्गर ल्याउने बानी थियो । घरमा पकाएको खानामा केटाकेटी सन्तुष्ट भएनन् ।

गाउँबाट बाआमाले बेखर्ची भयौं भनिरहनु भएको थियो ।

एकदिन आमाले रुँदै भन्नुभयो – तँ स्वास्नीको भाउँतोमा लागेर हामीलाई हेर्न छोडिस् । बाआमालाई मेरो जागिर गएको थाहा थिएन ।

घरबेटी पनि किचकिच गर्ने खालका परेछन् । बाथरुम कमन भएकोले भाडामा बस्ने अरूसँग ठासठुस पर्न थाल्यो ।

रातिमा मेरो अल्कोहलको मात्रा बढ्दै गयो ।

*****

मैले हनीलाई भनें – हेर, मैले गाडी चलाउन जानेको छु । अब फण्डको पैसा निकालेर तथा अटो लोन लिएर ट्याक्सी किनौं । दैनिक कमाइ हुन्छ । तारे होटलको म्यानेजरबाट ट्याक्सी ड्राइभरमा बढुवा हुनुपर्दा हामी एकदम दु:खी भयौं ।

हामीसँग अरू विकल्प थिएन ।

*****

कोरोना महामारीको कारण मान्छेहरू थर्कमान भएको अवस्था थियो । एम्बुलेन्सको चर्को अभाव थियो । मेरो नयाँ पेशा राम्रै चल्न थाल्यो । मास्क र क्याप लगाएपछि परिचितले पनि चिनेनन् । आखिर सबै कामको उत्तिकै महत्त्व छ । तर गुरुजी, डाइबर, ओ ट्याक्सी, भाइ भन्दा झनक्क रिस उठ्थ्यो । मलाई तारे होटलको फुर्तिफार्तीले अहंकारी बनाएको रहेछ । मेरा अहंकारका पातहरू झर्दै झर्दै जान थाले ।

घरमा झगडा पनि घट्दै गयो । केटाकेटीले बाहिरको खानेकुरा खान पाए । खल्तीमा दैनिक एक / डेढ हजार जम्मा हुन लाग्यो । म खाली बस्नु हुँदैन भनेर बिरामी बोकेर अस्पताल जाने, अस्पतालबाट डिस्चार्ज भएका बिरामीलाई घरमा पुर्‍याउने तथा बसपार्क /एयरपोर्ट सबैतिर गुड्न थाले । बैंकको मासिक किस्ता तिरेर पनि बचत हुन थाल्यो ।

दशैंको भोलिपल्ट मलाई अचानक ज्वरो आयो । सुख्खा खोकीले रातभर सुत्न सकिनँ । शरीर निकै दुख्यो ।

हनीले भनी – हजुरलाई धेरै धपेडी भयो । दुईचार दिन आराम गर्नु ।

सिटामोल खाएर भएपनि म काममा निस्कें ।

ट्याक्सीमा म लगातार खोकेको सुनेर एकजना प्यासेन्जरले भन्यो – भाइ, ट्याक्सी रोक । कोरोना लागेको मान्छेले ट्याक्सी चलाउने ? मलाई सर्‍यो भने त्यसको जिम्मा तिमीले लिनुपर्छ ।

मलाई लाग्यो, आजको बुहुनी नै खराब भयो ।

म त्यहाँबाट सिधै टेकु अस्पताल गएँ । त्यहाँ पीसीआर टेस्टको लागि नमूना दिएर कोठामा फर्किएँ ।

राति  ९ बजे फोन आयो, तपाईंलाई कोरोना पोजेटिभ देखियो । ख्याल गर्नुहोला है !

अब कहाँ बस्ने ? समस्या पर्‍यो ।

हनीले भनी – हजुर किचेनको कोठामा बस्नु । किचेनका सामान यहाँ सारेर हामी यतै काम चलाउछौं । किन दुनियाँलाई थाहा दिनुपर्‍यो र ?

म चिसो किचेनमा खोक्दै बसें ।

मेरो खोकीले घरबेटीको निद्रा बिथोलेछ । बिहानै गोलभेंडा जस्ता आँखा गराउँदै उनी कड्किए – कोरोना लागेको मान्छे यहाँ बस्न मिल्दैन । आजै कोठा खाली गर्नू, मलाई अरू कुरो थाहा छैन ।

हनीले बिन्तीभाउ गरी – उहाँ छुट्टै बस्नुभएको छ । हजुरलाई गाह्रो लाग्छ भने उहाँलाई आइसोलेसन सेन्टर पठाएर हामी मात्र बस्छौं ।

उनले भने – काँ हुन्छ ?

*****

त्यसपछि म ट्याक्सी लिएर वडामा गएँ । वडाले स्थानीय आइसोलेसन केन्द्रमा बस्ने व्यवस्था गर्‍यो । ज्वरोले भन्दा मलाई खोकीले निकै गाह्रो भयो । सास फेर्न मुश्किल हुन थाल्यो । आइसोलेसन केन्द्र एकदम भद्रगोल थियो । चिसो दालभातको भरमा के हुन्थ्यो र ? म शिथिल भएँ ।

म शिथिल भएको थाहा पाएपछि एकजना स्वास्थ्यकर्मी आएर जाँच गरे ।

‘तपाईंको अक्सिजन स्याचुरेसन धेरै घटेको छ । अस्पताल जानुपर्छ, तुरुन्तै । एम्बुलेन्स बोलाइदिएको छु ।’

दिनभर कुर्दा पनि एम्बुलेन्स आएन । जेनतेन आफैँले ट्याक्सी चलाएर अस्पताल चाहारें । सबै सरकारी अस्पताल चाहर्दा पनि बेड खाली भेटिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने मेरो क्षमता थिएन ।

*****

उता टोलका मान्छे जम्मा गरेर घरबेटीले कोठाका सामान बाटोमा फालिदिएछन् । श्रीमती र छोराछोरीलाई छि,छि! र दुरदुर गरेछन् । हनीले मेरो होटलको साथीलाई फोन गरिछ । उनले मेरो केही उपाय छैन भनेर फोन राखेछन् । त्यसपछि ट्याक्सी राख्ने ग्यारेजमा फोन गरिछ । ग्यारेजका भाइहरूले ती सबै सामान उठाएर ल्याएछन् । श्रीमती र केटाकेटीलाई आफू सुत्ने एउटा कोठा उपलब्ध गराएछन् । हनी र केटाकेटीको पीसीआर टेस्ट गर्दा हनीको पोजेटिभ आएछ, केटाकेटीको नेगेटिभ आएछ । हनीलाई ज्वरो र खोकीले सताएछ । विकल्प थिएन, सबैजना एकै कोठामा बसेछन् ।

यी घटना सुनेर म ट्याक्सीभित्र एक्लै रोएँ ।

अस्पतालमा बेड नपाएको समस्या सुनाएपछि ग्यारेजको साहुले सरकारी अस्पतालमा बेड मिलाएर मलाई बोलाए ।

उनले भने – यहाँका डाक्टरको गाडी हामीले बनाउँछौं । चिन्ता नगर, सबै राम्रो हुन्छ । खर्च पुगेन भने हामीले व्यवस्था गर्छौं ।

मैले धन्यवाद भन्न सकिनँ । हिक्कहिक्क आवाज मात्र आयो ।

*****

अस्पताल पुग्दा अक्सिजनको स्तर ७० मा घटेको रहेछ । पीपीई लगाएका दुई जनाले समाएर मलाई सिधै आईसीयू पुर्‍याए अनि अक्सिजन र सलाइनमा राखे । मुखमा अक्सिजनको मास्क लगाएपछि मलाई शितल अनुभव भयो । अर्को बिहान मेरो छातीको सिटीस्क्यान भयो । निमोनियाले फोक्सोको अधिकांश भाग क्षति भएको रहेछ । मलाई तुरुन्तै रेमडेसेभिर चाहिने भयो । अनेक ठाउँ खोज्दा पनि रेमडेसेभिर उपलब्ध हुन सकेन । ग्यारेजका साथीहरूले ब्ल्याकमा ६ वटा रेमडेसेभिर पाएछन् । रेमडेसेभिर लगाएपछि पनि खासै सुधार नभएकाले डेक्सोना सुई पनि लगाउन शुरू भयो । यो सुई लगाएपछि मलाई निकै सजिलो महशुस भयो ।

बेलुकाको राउण्डमा डाक्टर हस्याङफस्याङ गर्दै आए । मेरो सुगर खाली पेटमा ३९० र खानापछि ५१० पुगेछ । किड्नी र कलेजोमा पनि खराबी देखिएछ । इन्सुलिनको डोज जति बढाएपनि सुगर कन्ट्रोलमा आएन । दैनिक छातीको एक्स रे र रगत जाँच भइरहेको थियो । आईसीयूमा घोप्टो परेर सुत्दा म हैरान भएको थिएँ । सास फेर्दा घ्यारघ्यार मात्र हुन्थ्यो । पहिलेजस्तै सास फेर्न पाए मलाई केही चाहिँदैन भन्ने भाव मनमा आइरहन्थ्यो । मलाई बूढा बाआमा, केटाकेटी र हनीको निकै याद आयो । बाँच्छु भन्ने कुनै आशा थिएन । केटाकेटीले दु:ख पाउने भए भन्ने चिन्ताले रातभर निद्रा लागेन । छाति दुखेर एकदम गाह्रो भइरहेको थियो ।

अर्कोदिन डाक्टरले भने – यहाँका भेन्टिलेटर प्याक छन् , अर्को अस्पतालमा जानुपर्ने भयो । सरकारी अस्पतालमा पाइएन । प्राइभेट अस्पतालमा एउटा भेन्टिलेटर खाली रहेछ । अस्पतालले ५ लाख डिपोजिट गर्न भनेछ । कहाँबाट ल्याउने ५ लाख ?

अर्कोदिन बिहानै मलाई एम्बुलेन्सले प्राइभेट अस्पताल पुर्‍यायो । पुग्ने बित्तिकै मलाई भेन्टिलेटरमा राखे । मेसिनको आवाज र फोक्सोमा हावाको खोलो हाल्दा मलाई छाती उछिट्टिएर अस्पताल बाहिर पुग्ला जस्तो भयो । मेरो हालत दिनप्रतिदिन नाजुक भइरहेको थियो । भेन्टिलेटरमा राखेको तेस्रो दिनदेखि म अर्धचेत भएँ । मेरा अंगले गर्ने काम भेन्टिलेटर तथा डाइलाइसिस मेसिनले गरेका थिए । स्मृति र विस्मृति भइरहेको थियो । हवाइजहाजमा उडेजस्तै भान भइरहन्थ्यो ।

*****

‘ बाबु ! बाबु !! ‘ कता कता बाआमाको आवाज आयो । सपनामा हो कि जस्तो लाग्यो । आँखा धमिला भएका थिए । हेर्दा, डाक्टर / नर्स मात्र देखें  तर बाआमा रोएको आवाज सुनें । मलाई भ्रम भए जस्तो लाग्यो ।

बाबु ! हामी तिम्रा बाआमा ! बुहारीले फोन गरेपछि धान खाने खेत बेचेर तिम्रो उपचारको लागि आयौं । खर्चको चिन्ता नगर । तिमीलाई ठीक हुन्छ । हामीले कसैको कुभलो चिताएका छैनौं । भगवान त्यति निष्ठुरी छैनन् ।

म धुरुधुरु रोएँ तर आवाज आएन ।

मेरो स्वास्थ्य क्रमिकरूपमा राम्रो हुँदै आयो । भिडियो कलमा हनी र केटाकेटीसँग छोटो कुरा हुन थाल्यो । बाआमाको पनि दैनिक ४-५ पटक मुख देख्न पाएँ । मलाई बाँच्छु भन्ने आशा जाग्यो । बाले भन्नुभयो– डर नमान, भीमेश्वरको मन्दिरमा भाकल गरेको छु ।

अर्को दिन मलाई जनरल वार्डमा सारे । जनरल वार्डमा धेरैजना संक्रमित रहेकाले मलाई सहज महशुस भएन । एक सर्को श्वास र एक बिन्दु सलाइनको थोपाका लागि तड्पिरहेका अनुहार हेर्दै क्षणभंगुर मानव चोलाको थप महशुस गरें । निद्रा नलागेपनि ती दृश्य ओझेल पार्नको लागि अधिकांश समय आँखा बन्द गरेर सुतें, कानमा एयरफोन राखेर भजन सुनेर परमानन्द महशुस गरें ।

तीन दिन त्यहाँ बसेपछि म डिस्चार्ज भएँ । डिस्चार्ज भएर काउन्टरतिरको  बाटो निस्कें । बाले लेखा शाखामा भन्दै हुनुहुन्थ्यो – ‘पहिले पाँच लाख डिपोजिट गरें । त्यसपछि ३ लाख । अब ढाइ लाख चाहियो ? केही छैन, बाबुलाई ठीक भयो । अब त गाउँमा बाँझो खनेर भएपनि परिवार पाल्छ । सबैको जय होस् !’

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्