लोकतन्त्र वितरणमा सार्वजनिक प्रशासन

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

आधुनिक लोकतन्त्रको अभ्यास भएको दुई शताब्दी नाघिसक्दा पनि यसलाई व्यावहारिक रूपमा सर्वसाधारणको दैनिकीलाई सम्बोधन गर्नेगरी कसरी घरदैलोमा पुर्‍याउने, लोकतन्त्रलाई कसरी जीवन पद्धति बनाउने र मानवीय मूल्य एवं सामाजिक न्यायलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा शासकीय प्रणालीहरू प्रस्ट छैनन् । लोकतन्त्रलाई प्राविधिकबाट कार्यमूलक बनाउन नीति नेतृत्व गर्ने राजनीति र प्रणाली धान्ने प्रशासन अल्मलिएका छन् । 

सार्वजनिक प्रशासन राज्य सञ्चालनको निर्विकल्प संयन्त्र, विधि र प्रक्रिया हो तर यो निकै आलोचित छ । राजनीतिक प्रणालीमार्फत राज्यप्रक्रियामा जनप्रतिनिधित्व हुने जनभावनालाई राज्यइच्छामा बदल्न र राज्यइच्छाका रूप लिइसकेपछि त्यसलाई कार्यरूप दिन सार्वजनिक प्रशासनको क्रियाशीलता कमजोर छ ।


Advertisement

यो व्यवस्थित अनुशासन र स्वायत्त संयन्त्र भएर पनि राजनीतिक प्रणालीबाट निरपेक्ष रहन सक्दैन । राजनीतिसँगै रहेर व्यावसायिक स्वयात्ततामा रहनु यसको चरित्र र चुनौती दुवै हो । 

लोकतन्त्रको सामान्य अर्थ सर्वसाधारणलाई सार्वभौम मान्ने प्रणाली हो । सार्वजनिक प्रशासन लोकतान्त्रिक विधिबाट राज्यप्रक्रियामा उन्नयन भएका राज्यइच्छाको कार्यान्वयनमार्फत लोकतन्त्रको वितरण गर्दछ । 


Advertisement

लोकतन्त्रभन्दा पर सार्वजनिक प्रशासनको कल्पना गर्न सकिँदैन भने सार्वजनिक प्रशासनको क्रियाशीलताविना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । लोकतन्त्र राज्यइच्छा मतबाट निर्माण हुन्छ भने त्यसलाई कार्यरूप दिने प्रणालीमा मेरिटबाट माझिएका हुन्छन् । 

योग्यता प्रणालीको विकास प्रशासनिक व्यावसायिकताका लागि भएको हो, प्रशासनिक व्यावसायिकता भने लोकतन्त्रको वितरणका लागि आवश्यक भएको हो । विड्रो विल्सनबाट डिकोटोमी प्रिन्सिपल आविस्कार गर्नुका पछि प्रशासनलाई व्यावसायिक स्वायत्तता दिनु हो, जहाँ प्रशासन राजनैतिक रस्साकस्सी र वादप्रतिवादबाट अलग रहन सकोस् । प्रशासन व्यावसायिक हुन गुणतन्त्रका आधारमा सापेक्षिक रूपमा उम्दा, इमान्दार र अभिप्रेरित व्यक्ति चाहिन्छ भन्ने मान्यता विल्सनलगायत गुणतन्त्रवादीहरूको छ । यी मान्यताले नै योग्यता प्रणालीको विकास भएको हो । 

आधारभूत मूल्यमान्यता उही रहेपनि दुई दशकमा लिङ्कनको लोकतन्त्र र डेढ शताब्दीपछि विल्सनको सार्वजनिक प्रशासनको चरित्रमा उल्लेख्य परिवर्तन आएको छ । प्रजातन्त्र र प्रशासनको जननी भनेर चिनिने संयुक्तराज्य अमेरिकमा यी दुई प्रणालीबीचको परम्परागत सम्बन्ध बदलिएको छ र अन्य मुलुकहरू पनि प्रभावित छन् । परम्परागत प्रजातन्त्र अब उदार पूँजीवादी प्रतिनिधित्वमूलक लोकतन्त्रको अभ्यासमा छ, जुन सार्वजनिक प्रशासनको कार्यपरिवेश हो । उदार पूँजीवादी प्रतिनिधित्वमूलक लोकतन्त्रका मूल्यवृत्ति संरक्षण र संवर्द्धन गर्नु सार्वजनिक प्रशासनको आचरण हो ।

उदारको अर्थ वैयक्तिक स्वतन्त्रताका मूल्यलाई महत्त्व दिनु हो । पूँजीवादी भन्नुको अर्थ साधन स्रोतको कुशल र प्रतिस्पर्धात्मक विनियोजनमा उच्चतम प्रतिफल वा सामाजिक फाइदा प्राप्त गर्नु हो । त्यस्तै प्रतिनिधिमूलक भन्नुको अर्थ त्यस्तो लोकतान्त्रिक परिवेश जहाँ आफ्ना विषयमा निर्णय गर्न नागरिकहरू आफैँ संलग्न नभै आफ्ना वारेसहरूलाई जिम्मेवारी दिन्छन् भन्ने हो । त्यसैले लोकतन्त्रको वितरण गर्नु भनेको उदार पूँजीवादी प्रतिनिधित्व प्रणालीका मूल्य आदर्शलाई सम्वर्द्धन गर्दै नागरिक हित प्रबद्र्धन गर्नु हो । यसबाट के देखिन्छ भने कानूनको व्यवस्थित कार्यान्वयन गर्ने विल्सियन मान्यताबाट सार्वजनिक प्रशासनको कार्यआचरण आजको अवस्थामा विशिष्टीकृत र जटिल बनिसकेको छ । 

आधुनिक लोकतन्त्र (उदारीकृत राज्यव्यवस्था) मा सार्वजनिक प्रशासन सधैँ चुनौतीप्रद परिवेशमा हुन्छ । अन्तरनिहित जटिलताका कारण पनि प्रशासन सिद्धान्त भनिएजस्तो व्यावसायिक र स्वायत्त हुन सक्दैन । सर्वसाधारणहरू कार्यकुशल र प्रभावकारी सेवाको चाहना राख्दछन् । बढ्दो चेतनास्तर र सञ्जालीकृत समाजका कारण सेवाग्राहीको स्वाद र प्रवृत्ति निरन्तर बदलिएको छ । तर सार्वजनिक प्रशासनको मूल्यसंस्कृति, कार्य आचरण, नियन्त्रणवृत्ति, संरचना र जवाफदेहिता साङ्ग्लोका कारण पनि उचित प्रक्रिया पूरा गर्ने बाध्यता रहन्छ । प्रशासनको दक्षता, आर्जित स्वायत्तता र स्थापित सिद्धान्तले उसलाई विवेकको जिम्मेवारी हुन्छ तर विवेकको पूर्णस्वामी बन्न संरचना र संस्कृतिका सीमाहरू छन् । निजी स्वतन्त्रतालाई मान्यता दिँदै सार्वजनिक हित प्रबद्र्धन गर्नु प्रशासनको मूल्य आचरण हो । यिनै बिन्दुबाट सार्वजनिक प्रशासनको सफलता र आलोचना शुरू हुन्छ ।  

सार्वजनिक प्रशासन आफैँ जीवित संविधानको हैसियतमा पुगेको अवस्थामा भने उल्लिखित चार पक्षलाई उसको निष्ठा, उसले प्राप्त गरेको जनविश्वास र आर्जित स्वायत्तताले उचित प्रक्रियामा ल्याई सबल प्रणाली निर्माण गर्दछ । अपरिपक्व र अस्थिर राजनीतिलाई पनि प्रतीकात्मक सचेतीकरण गरी लोकतन्त्रका सीमा नाघ्न दिँदैन, लोकतन्त्रलाई कार्यमूलक बनाई जनताको अनुभूत आवश्यकतामा पुर्‍याउँछ ।

लोकतन्त्रमा सार्वजनिक प्रशासनका पाँच कार्यभूमिका रहन्छन् । पहिलो हो, लोकतन्त्रको वितरण, जस अन्तर्गत लोकतन्त्रका मूल्य मान्यता संस्थागत गर्ने, नागरिक अधिकार संरक्षण गर्ने र प्रणालीको विश्वासनीयता मजबूत बनाउने काम पर्दछन् । दोस्रो भूमिका सार्वजनिक चाखको प्रवर्द्धन गर्नु हो । वैयक्तिक स्वार्थले साझा स्वार्थलाई जित्नु हुदैन । लोकतन्त्र समन्याय र निष्पक्षताको प्रणाली हो । निजी चाख हावी भएमा समाजका अशक्त, संरचनागत बहिस्करणमा परेका, सामाजिक र सांस्कृतिक अवसर लिन पछि परेका वर्गहरू सधैं पीँधमा पर्ने जोखिम हुन्छ । राज्यव्यवस्थाको सिर्जना नै समन्याय र साझा हितका लागि हो ।

सार्वजनिक प्रशासन जहिल्यै पनि न्याय, समानता र समन्यायिकता केन्द्रीत हुनुपर्दछ । तेस्रो, सार्वजनिक संस्थाहरूको व्यवस्थापन र सञ्चालन गर्ने भूमिकामा सार्वजनिक प्रशासन रहन्छ । सामाजिक, सामुदायिक र शासकीय संस्थाहरू लोकतान्त्रिक मूल्य प्रवर्द्धनमार्फत सामाजमा सद्भाव, सहभाव र गतिशीलताका लागि निश्चित विधि र प्रक्रियामार्फत सञ्चालन हुनुपर्दछ, जसको मानक निर्धारण, क्षमता विकास, सहजीकरण र नियमनको काम प्रशासनले गर्नुपर्दछ । संस्थाहरू मर्यादित भएनन् भने लोकतन्त्रको औचित्य रहँदैन । चौथो भूमिका हो सार्वजनिक नीतिको कार्यान्वयन ।

राष्ट्रिय तथा विषयगत नीतिहरू सर्वसाधारणका अनुभूत आवश्यकता सम्बोधन गर्ने र आकांक्षालाई बढावा दिने  गर्दछन् । राम्रा नीतिहरू बैध, अन्य नीतिसंग द्वन्द्व नगर्ने, कार्यान्वयनयोग्य र तथ्यमा आधारित हुन्छन् । नीति कार्यान्वयन हुँदा नीतिग्राही (सर्वसाधारण) का भावना क्रियाशील भएको अनुभूति हुनुपर्दछ । विज्ञता, पहुँच, स्रोत साधन सज्जित र अधिकारपूर्ण हुने भएकाले नीति कार्यान्वयनमार्फत सार्वजनिक प्रशासन लोकतन्त्रलाई बलियो बनाउँछ ।

सरकारीको कार्यकारी हिस्सा नै प्रशासन हो । पाँचौ, प्रशासनमा संलग्न पदाधिकारीहरू वैयक्तिक र संस्थागत दुवै हैसियतमा व्यावसायिक, नैतिक, जिम्मेवार र भरपर्दो हुनुपर्दछ । यो कार्यभूमिका आचारण र कार्यसंस्कृतिमा देखिनु पर्दछ । प्रशासनिक पदाधिकारीहरूमा राजनीतिको जस्तो अनुशासन (तेस्रो विश्वमा ?) र व्यापारीको जस्तो विलाशन रहनु हुँदैन । कोही सार्वजनिक प्रशासनको सदस्य बन्नुको अर्थ ऊ सामान्य जीवनशैली, नैतिक कार्यआचरण, इमान्दार र व्यावसायिक हुनु हो । राष्ट्र, विधि र आफैँप्रति प्रतिबद्धता जनाउनु हो । उसबाट अपेक्षित असल आचरणले सामाजिक रितिथितिमा प्रभाव पार्दै लोकतन्त्रलाई वैध बनाउने काम गर्दछ । पाँचौ भूमिका सबैभन्दा महत्त्वपूर्ण छ, जसले अरू चार भूमिका निर्वाह गर्न आत्मिक चेतना र स्वयंप्रेरणा जगाँउदछ । 

तर लोकतन्त्रका चार पक्षले सार्वजनिक प्रशासनका उल्लिखित पाँच भूमिकालाई प्रभाव पारिरहेको हुन्छ । जस्तो कि लोकतन्त्र अभ्यासको कार्यसंस्कृति कुन दिशातर्फ अभिमुखी छ ?, राजनीतिको निर्णय गर्ने प्रणाली कस्तो छ (प्रत्यक्ष, प्रतिनिधिमूलक वा सहभागितामूलक) ? सरकारका तहहरू कस्ता छन् ? (तहसोपानगत कार्यसम्बन्ध स्वचालित, पारस्परिक वा स्वायत्तताको अभ्यासमा छन् ?) र राज्यका संरचनागत इकाइले नियन्त्रण, सन्तुलन र सहयोगको भूमिका कसरी खेलिरहेका छन् ? 

सार्वजनिक प्रशासन आफैँ जीवित संविधानको हैसियतमा पुगेको अवस्थामा भने उल्लिखित चार पक्षलाई उसको निष्ठा, उसले प्राप्त गरेको जनविश्वास र आर्जित स्वायत्तताले उचित प्रक्रियामा ल्याई सबल प्रणाली निर्माण गर्दछ । अपरिपक्व र अस्थिर राजनीतिलाई पनि प्रतीकात्मक सचेतीकरण गरी लोकतन्त्रका सीमा नाघ्न दिँदैन, लोकतन्त्रलाई कार्यमूलक बनाई जनताको अनुभूत आवश्यकतामा पुर्‍याउँछ । जस्तो कि ट्रम्पकालीन अमेरिकी प्रशासनमा त्यो देखियो । यस्तै उदाहरण राजनैतिक अस्थिरताले गाँजेका इटाली, बेल्जियम जस्ता युरोपेली मुलुक अनि जापान र गणतन्त्र फ्रान्समा पाउन सकिन्छ ।

स्वयं प्रशासन यस अनुकूलको नहुँदा भने राजनैतिक कार्यकारीको अभिभावकत्व, मार्गदर्शन, लोकतन्त्रप्रतिको वास्तविक निष्ठा र प्रणाली निर्माण गर्नसक्ने क्षमता दर्कार पर्दछ जसले प्रशासनिक प्रणाली सबलीकरण गर्दै राजनीति र प्रशासनको मर्यादा र सीमा सुरक्षित गर्दछ । राष्ट्र निर्माणको समयमा सिंगापुर, दक्षिण कोरिया र अष्ट्रेलिया लगायतका मुलुकहरूमा राजनैतिक कार्यकारीको सुझबुझपूर्ण अभिभावकीय भूमिका देखिएको छ । तर अधिकांश तेस्रो विश्वका मुलुकहरूमा सार्वजनिक प्रशासन संस्था बनिसकेको छैन र राजनीतिक संस्कृति पनि लोकतान्त्रिक बनिनसकेकाले लोकतन्त्रको वितरण प्रसव अवस्थामा छ । प्रशासन र राजनीतिक प्रणालीबीच सौहाद्र्रता कमजोर छ र त्यसको परिपूर्ति सल्लाहकारहरूको प्रचलन मार्फत गरिएको छ । यसले नीतिज्ञान र विज्ञताको राजनीतिकरण गर्न सकेन र प्रणाली निर्माणमा बाधा पुग्यो । कर्मचारीतन्त्रको राजनीतिकरणले राजनीतिको कर्मचारीतन्त्रीकरण भयो । परिणामतः लोकतन्त्र औपचारिक रूपमा संरचित त भयो कार्यमूलक भने हुन सकेन । ([email protected]

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्