बेल्जियमको ‘आइडिया’ पोखरामा फस्टायो : कालिज पालनबाट मनग्यै आम्दानी

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

फेवाताल किनारै–किनार अलि पर भकुण्डे पुग्दा तपाईं छक्क पर्नुहुनेछ । ताल किनारबाट झण्डै ५०० मिटर उत्तरी दिशाको वन–बुट्याउनमाथि पूरै फलामे जालीले ढाकिएको छ ।

त्यो पनि थोरै होइन, ५० रोपनी क्षेत्रफलभरि । किन यसो गरेको होला ? जिज्ञासा लाग्नु स्वभाविकै हो । यो तरिका हो – कालिज पालनको ।


Advertisement

वनजंगलमा हुर्किने कालिजलाई मानव समुदायले वनजंगलकै स्वरूपमा पालन गरेर मनग्ये आम्दानीको स्रोत बनाएका हुन् । यो कर्ममा लागेको २ वर्ष नबित्दै ७० लाख रुपैयाँ बराबरको कालिज बिक्री भइसकेको छ ।

पोखराका पूर्णप्रसाद तिमिल्सिना बेल्जियम बस्छन् । उनले त्यहाँ कालिज फर्म नै चलाएका छन् । विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्न आफन्त, साथीभाइलाई उक्साएपछि पर्यटकीय नगरी पोखरामा ठूलो लगानीमा कालिजपालन शुरू भएको हो । 


Advertisement

कालिज पालनका लागि तुलसीकुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रालि नाममा ७ जनाले लगानी गरेका छन् । प्रत्येक सञ्चालकको जनही २० लाख रुपैयाँ बराबर शेयर छ । पोखरा महानगरपालिका–१८ भकुण्डे र रातमाटेमा गरी ३ वटा बडेमानका खोर सञ्चालन गरिएको छ । ती खोरमा सबै गरेर ५ हजारजति कालिज छन् । हाल भुकण्डेमा ४ हजार ५०० र रातमाटेमा ५०० कालिज हुर्किरहेका छन् । 

पोखरा–१८ भकुण्डेस्थित कालिज फर्ममा भेटिएका सञ्चालक ध्रुव थापा अरु सञ्चालकको तुलनामा उमेरले पाका ५३ वर्षीय छन् । उनले कालिजपालन, यसको चुनौती, बजार क्षेत्र र आम्दानीबारे विस्तृतमा बताए ।

‘स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले हामीहरू ७ जना मिलेर नौलो व्यवसायमा हात हालेका हौं,’ उनले भने, ‘शुरूआती अवस्था हेर्दा राम्रै छ ।’ उनका अनुसार ७ सञ्चालकमध्ये ३ जना पूर्णप्रसाद तिमिल्सिना, प्रह्लाद थापा र शिव थापा बेल्जियम बस्छन् । अन्य ४ जना ध्रुव थापासहित डोलबहादुर थापामगर, राजुप्रसाद तिमिल्सिना र पवनकुमार जिसी नेपालमा छन् । 

ध्रुव थापा

सबै जनाले कालिज पालनसहित रातमाटेमा रिसोर्ट समेत निर्माण गर्दैछन् । कालिज पालनको तुलनामा रिसोर्टमा बढी लगानी छ । सबै गरेर कूल ६ करोड रुपैयाँ बराबरको लगानी भइसकेको अर्का सञ्चालक पवनकुमार जिसीले बताए ।

‘पहिले पोखरामा ट्याक्सी चलाएँ । गाडी लाइनमा लामो समय बित्यो । २०५४ सालमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएँ । त्यहाँ ७ वर्षसम्म बसेर पछि ४ वर्ष जति इराकमा काम गरें । ११ वर्षसम्म विदेशी भूमिमा रगत पसिना बगाएपछि स्वेदशमै केही गर्नुपर्छ भनी फर्किएको हुँ,’ सञ्चालक ध्रुव थापाले कालिज कथा सुनाए, ‘साथीहरू मिलेर विभिन्न बिजनेसमा हात हाल्ने क्रममा बेल्जियम बस्ने भाइहरू प्रह्लाद र शिवले पूर्णजीसँग मिलेर कालिज पाल्नेबारे प्रस्ताव ल्याएपछि यो क्षेत्रमा आकर्षित भएका हौं ।’ 

उनले विगत सम्झे, ‘पहिले चल्ला पाइएन । फ्रान्सबाट अण्डा मगाइयो । त्यसबेला ८ हजार हाराहारीमा अण्डा ल्याएकोमा ३ हजार चल्ला निस्कियो । २ हजार ५०० हाराहारीमा बच्यो । पछि तिनै पोथी कालिजबाट क्रमशः संख्या वृद्धि हुँदै गएको हो ।’ बढीजसो रिङनेट जातका कालिज पालिएका छन् । रंग अनुसार ५ जातका कालिज हुर्किरहेका उनले बताए । 

पोथी तुलनामा भाले कालिज सस्तो पर्छ । झण्डै १ हजार २०० ग्राम पुगिसकेपछि बिक्री गरिने भाले कालिज प्रतिगोटा ३ हजार ५०० र पोथी कालिज ६ हजार रुपैयाँसम्म पर्छ । व्यावसायिक पालनका लागि १५ जना जति किसानले फर्ममै आएर खरिद गरिसकेका छन् । ‘कालिज हुर्काउन सक्नुपर्छ, गेटबाटै बिक्री हुँदोरहेछ,’ सञ्चालक थापाले भने, ‘बजारलाई समस्यालाई छैन ।’

उनका अनुसार चाँडै नै १० हजारको संख्यामा कालिज पुर्‍याउने उद्देश्यले नजिकै अर्को खोर पनि तयार हुँदै गरेको छ । ‘साढे ७ रोपनी क्षेत्रफलमा तारजालीसहित खोर बनाउँदा १२ लाख रुपैयाँ पर्छ । एक पोथीले वर्षदिनमा ४५ देखि ५० वटा अण्डा पार्दोरहेछ । कालिजको आहारा भनेको कीरा फट्याङ्ग्रा, घाँस नै बढी हो,’ उनले भने ।

कालिजबाहेक सोही फर्म नजिकै कणकनाथ जातका कुखुरा र ब्रोइलर पनि पालिएका छन् । ७ महिनामा खान मिल्ने कणकनाथ भारतीय जात हो । विशेषगरी सुत्केरी तथा बिरामीको लागि पोषिलो हुने सञ्चालक थापाले बताए । ‘ब्रोइलर तुलनामा कालिज पाल्न ठूलो लगानी र धैर्य गर्नुपर्छ, उनले भने, ‘ब्रोइलरजस्तो ४५ दिनमै बेच्ने हतार हुनेलाई कालिज नपाले पनि हुन्छ । कम्तीमा १ वर्ष पर्खिनुपर्छ ।’ 

कालिज पाल्दा बाघ र मलसाप्रो (जमिन खोस्रिने जीव) बाट बचाउनु ठूलो चुनौती रहेको उनले बताए । ‘२ महिनाअघि मात्रै हो, बाघले जाली च्यातेर खोरभित्र छिर्दा झण्डै ४० लाख रुपैयाँ नोक्सान भएको थियो । त्यसबेला छिरेका २ बाघ माथिबाट जाली च्यातेर २०० जति कालिज मारेको थियो भने ३०० जति उडेर भागेका थिए । जसबाट झण्डै ४० लाख रुपैयाँ नोक्सान भएको थियो,’ उनले भने । सो घटनाबाट पाठ सिक्दै अहिले भने भारतबाट भगाएर बलियो जाली ठोकिएको छ ।

कामको खोजीमा खाडी मुलुक भौतारिने नेपाली युवालाई स्वदेशमै पनि सुन फल्न सक्छ भन्ने गतिलो उदाहरण कालिजपालन हुनसक्ने उनले बताए ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्