फेरि प्रचण्डको क्रमभंगता : लेखेर राख्नुस् कमरेडहरू, चमत्कार हुँदैछ !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

यो पुस महिनाको जाडोमा तातोतातो चिया पिएर, हिटर तापेर घरमै बस्नुपर्ने बेलामा मानिसहरू फेरि आन्दोलन गर्न सडकमा निस्किएका छन्। यस्तो लाग्छ कि आन्दोलनकारी देखेर  कोरोनाभाइरस नै डराएको छ। आन्दोलनका नारा सुनेर शायद कोरोनाभाइरसले नेपाली भूमिबाट सदाका लागि आत्मसमर्पण गरिसकेको जस्तो लाग्छ। 

साँच्चै राजनीतिक भाइरसको अगाडि यो जैविक भाइरस सानो फुच्चे हुँदोरहेछ। कोरोनाभाइरस त खारेज पो हुँदो रहेछ। सामाजिक दूरी कायम त्यतिबेलासम्म रहने रहेछ, जतिबेलासम्म मन स्थिर रहन्छ। एकबारको जुनीमा मन अस्थिर होस् त, मेरा बाबै मान्छे मर्नदेखि नडराउने रहेछ। मास्कको कुरा त के गर्नु, कोहीले चिउँडोमा मास्क लगाएका छन्, कोहीले कुहिनामा मास्क अड्काएका छन्। कोहीले त बालै नदिएर मास्क खल्तीमा राखेका छन्। 


Advertisement

के राजनीतिक भाइरसको निर्मम उदय भएकै हो त? एकबारको जुनीमा  फेरि एकपटक जिन्दावाद र मुर्दावाद सुनिन थालेका छन्। हिजोसम्म गाला जोडेर बसेका मानिसहरू आज कुकुर र बिरालो जस्तै गरेर झगडा गर्न थालेका छन्। कित्ता क्लियर गर्नका निम्ति तिनीहरूलाई बडो हतार छ। को कसको मान्छे हुने बडो प्रतिस्पर्धा छ र अन्तत: प्रचण्डले घुमाइघुमाइ भाषण दिन थालेका छन्। 'यो मजाक हैन कमरेडहरू, साँच्चै क्रमभंग नै गरेको हुँ' भन्दै उनी मुसुमुसु हाँस्न थालेपछि त्यसको संकेत हुन्छ, अब केही हुन्छ ।

अब के हुन्छ त?   प्रचण्डले दु:ख बेसाइसकेपछि केही न केही त पक्कै हुन्छ।  हिजो १२ वर्षसम्म जंगलमा दु:ख बेसाएका प्रचण्डको शान्तिप्रकियापश्चात पनि अनेकन दु:ख छन् । दु:खहरूको बीचबाट उठेर प्रचण्ड फेरि एकपटक सडकमा उपस्थित छन् । सडक दुखियाहरूको थलो हो।  प्रचण्ड एकाएक  सडकमा आएर चिसो भुइँमा बसेपछि धेरैलाई अचम्म लागेको छ। सामाजिक सञ्जालमा प्रचण्ड अब सडकमा पुग्यो भन्ने टिप्पणीहरू आएका छन्। 


Advertisement

सामाजिक सञ्जालमा  कतिपयले अब प्रचण्डलाई जंगलतिर नै पठाउनुपर्छ भन्न भ्याएका  छन्। प्रधानमन्त्री केपी ओलीतर्फका नेता कार्यकर्ताहरूले हर्षोल्लासका साथ  प्रचण्डको हैसियत यही नै हो भनेर व्यंग्य गर्ने गरेका छन्। तर गम्भीररूपमा याद गर्नुपर्ने कुरा नेपालमा प्रजातन्त्र सडककै शक्तिबाट आएको हो। लोकतन्त्र, गणतन्त्र जेसुकै भन्नुहोस्, त्यो पनि सडक संघर्षबाटै आएको हो। यसकारण प्रचण्ड सडकमा हुनुको ठूलो राजनीतिक पराकम्प छ।

हुँदाखाँदाको आफ्नै पार्टीको सरकार छाडेर  प्रचण्ड एकाएक किन सडकमा आए त ? उनलाई किन सडक नै प्यारो भयो त ? उनलाई किन जनता नै प्यारो भयो त ? उनलाई किन संविधानको सर्वोच्चता नै महत्त्वपूर्ण भयो त? उनी किन फेरि एकपटक संविधानको वैचारिक पक्षधरतामा उभिए त? यसबारे धेरैलाई मतलब छैन। केबल उनीहरू प्रचण्ड हिजो जंगल पसेको देख्छन्, आज सडकमा बसेको देख्छन् । राजनीतिक स्वतन्त्रता, सार्वभौम जनताको सत्ता र जनताको आफ्नै राज्य निर्माण गर्न सक्ने राजनीतिक प्रणालीलाई कहिल्यै देख्दैनन्। जस्तो कि सानो बच्चाले चकलेट निकै मीठो मानेर खान्छ तर त्यो चकलेट कुन दु:ख र संघर्षले आमाले किनेर ल्याएको हो, त्यो उसलाई थाहा हुँदैन । 

ए महान अभियान्ताहरू, भोलि तिमीहरू निर्वाचित भएर संसद् भवनभित्र छिर्नेछौ, तर तिम्रो संसदीय अधिकार कुनै सन्की शासकले खोस्यो भने के हुन्छ ? जनतालाई के जवाफ दिन्छौ ? पक्कै चिज गम्भीर छ । सार्वभौम संसद्को कुरा प्रचण्डको हैन, नेपाली जनताको हो, सिंगो राष्ट्रको हो। फूलबारी जोगाउन सके फूलको सुगन्ध जोगिन्छ, मूलहरू संरक्षण गरे नदीहरू बग्दछन् र संविधानको संरक्षण गरे जनताका भावना-सपनाहरू जोगिन्छन्। 

ती जोसुकै हुन्, नेकपाका नेताहरूलाई  पक्कै पनि जनतालाई जवाफ दिन गाह्रो छ। जनतालाई कम्युनिस्ट सरकारले राम्रो सन्देश दिन सकिरहेको छैन। हाम्रासामु काण्डैकाण्ड उपस्थित छन्। घोटलाका समाचार नआएको एक दिन छैन। जनतालाई देखाउन एउटै चिज गतिलो  छैन। जनता कम्युनिस्ट भनेको काम नलाग्ने जिनिस पो  रहेछ भन्नेमा परेका छन्। यसो हुनुको एउटा भागिदार प्रचण्डको अलमल, पछिल्ला समयमा चुपचापीपनको महत्त्वपूर्ण भूमिका छ। तर अब  प्रचण्ड सडकमा तिनै संघीन प्रश्नहरूको जवाफ खोजी गर्न आइपुगेका छन्। 

अब सडकबाट संविधानको सर्वोच्चताको पक्षमा आवाज उठाउनु आवश्यक भएको  छ, र यो राजनीतिक मामला मात्र हैन। सडकमा हेर्नुहोस्, नागरिक समाज उपस्थित छ। पत्रकार, लेखकहरू उपस्थित छन्। पूर्व राष्ट्रपतिदेखि पूर्व न्यायाधीशहरूसम्मले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई असंवैधानिक भनिरहेका छन्। यो देशको जीवनसँग गाँसिएको कुरा हो, प्रचण्डको राजनीतिक विषय मात्र हैन। हाम्रो भविष्यको कुरा हो । स्वतन्त्रताको कुरा हो । संविधानको सर्वोच्चताको कुरा हो। लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनमा को जाँदैन र? सबै जान्छन्। तर मान्छे मरेको घरमा बाजा बजाउन त मिल्दैन। असंवैधानिक संसद् विघटनको आलोचना नगरी फेरि संसदीय निर्वाचनकै कुरा गर्न त मिल्दैन। 

मानिसहरूलाई लागेको होला- प्रचण्ड अब सकियो। प्रचण्डको अब दिन गयो। तर संविधानको सर्वोच्चताका निम्ति प्रचण्ड फेरि एकपटक आफू सहित ७० प्रतिशतको शक्ति लिएर संवैधानिक सर्वोच्चता र जनताको जनजीविकाका प्रश्नहरूलाई लिएर सडकमा उभिएका छन्। हिजो जंगलमा, अनि सदनमा हाल सडकमा । यो प्रचण्डको राजनीतिक परीक्षा निकै संघीन अवस्थामा उभिएजस्तो देखिए पनि कमरेडहरू यो प्रचण्डको क्रमभंगता हो । लेखेर राख्नुहोस्, चमत्कार हुँदैछ ।

लडाईंको मैदान कहिले सहज हुन्छ, कहिले असहज । कहिले सजिलो त कहिले गाह्रो । कस्तो मैदानमा भाग लिने भन्ने हो। कसरी भाग लिने भन्ने हो । जनयुद्धकालीन प्रचण्डका केही शब्दहरू निकै लोकप्रिय थिए। परन्तु त्यो आज पनि छ। उनले कैयौं यस्ता शब्दहरू राजनीतिकर्मीका लागि थेगोकारूपमा स्थापित गरिदिएका छन्।

जस्तो कि फ्युजन, क्रमभंगता, छलाङ, हस्तक्षेप, गोलचक्कर, रूपान्तरण, सेबोटेज, राँको, रुँदारुँदै हाँस्नु र हाँस्दाहाँस्दै रुनु, सांस्कृतिक कारवाही, भगौडा यस्तैयस्तै। यो अरू केही हैन क्रमभंगताको लडाइँ हो । चमत्कारको लडाइँ हो । 

अब चमत्कार भएरै छाड्छ । संसद्  पुन:स्थापनाको विकल्प छैन। यो राजनीतिक कोणको कुरा भयो । यदि संसद् पुन:स्थापित भएन भने के हुन्छ ? हो त्यहाँ चमत्कार हुनेछ । फेरि जनताको बीचमा जाने भन्ने हुन्छ । जनताका बीचमा आफ्ना स्पष्ट दृष्टिकोण बोकेर जाने हुन्छ । एकपटक संविधानको रक्षक प्राप्त उपलब्धिहरूको रक्षाका लागि शान्तिपूर्ण राजनीतिक, वैचारिक संघर्ष गर्नुपर्ने हुन्छ । प्रचण्डको अर्को नाम हो- संघर्ष । हो अब संघर्ष जारी रहन्छ ।

यसरी संघर्ष अगाडि बढिरहँदा कतिपय मान्छेहरू भन्छन् - प्रचण्डले विप्लवलाई धोका दियो, किरणलाई धोका दियो । के भन्न खोजेको हो? के प्रचण्ड फेरि जंगल जानुपर्थ्यो ? के प्रचण्डले फेरि युद्धको घोषणा गर्नुपर्थ्यो ? के फेरि १७ हजारमा अझै १७ हजार थप्नुपर्थ्यो ? यो प्रश्नको उत्तर कसैले दिन सक्दैनन् ।

हामीले पनि त्यस्तै भन्यौ कि प्रचण्डले धोका दिए भनेर तर नेतृत्वको दिमागमा सय वर्ष अगाडि हैन सय वर्ष पछाडिसम्मको विश्लेषण हुने रहेछ । प्रचण्डले कसैलाई धोका दिएका छैनन्, प्रचण्डको बेगसँग चल्न नसक्नेहरू आफैँ धोका खाएका छन् । यो पटक प्रधानमन्त्री कपी ओलीले धोका खाएका छन् ।

हो प्रचण्ड अहिले सडकमा छन्। आफ्नै जोडबलमा निर्माण भएको संविधानको सर्वोच्चतामा समस्या र त्यसको कार्यान्वयनमा अवरोध हुन थालेपछि उनी सडकमा उभिएका छन्। उनीसँगै हजारौ कार्यकर्ता र लाखौं जनताहरू सडकमै उभिएका छन्। पक्कै पनि आफूले जन्माएको बच्चाको धेरै माया लाग्छ, संविधान कुल्चिँदा सबैभन्दा पीडा यतिखेर प्रचण्डलाई नै परेको छ । संसद्को गरिमा, महत्त्व र यसको विधी विधान बच्यो भने त भोलिका पुस्ताले आफ्ना समस्या र विचारहरू मुखरित गर्न पाउँछन्। यसरी नै संसद्को विघटन गर्दै जाने लिगेसी स्थापित हुँदै गयो भने जनताको सर्वोच्चता कहाँ संरक्षित हुन्छ र ?

पक्कै पनि पूर्व एमाले र पूर्व माओवादीको पार्टी एकतापश्चात जनतामा धेरै आशा, अपेक्षाहरू पलाएका थिए । प्रधानमन्त्री केपी ओली समेतले जनतालाई धेरै सपनाहरू देखाएका थिए । तर त्यो सपना अपुरो हुँदै गर्दा पार्टी नै फुटेको छ । पार्टी फूटसँगै जनताको सपना चकनाचुर भएको छ । यो कम्युनिस्ट आन्दोलनका लागि पक्कै पनि राम्रो संकेत हैन । प्रचण्ड सडकमा उभिनुको ठूलो अर्थ छ। घोचपेच आफ्नो ठाउँमा छ, तर यो विचारको प्रश्न हो । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र यसको विचारको प्रश्न हो। 

प्रधानमन्त्री केपी ओलीले जनतालाई धेरै सपना देखाए । र यो साढे दुई वर्षको बीचमा आखिरी जनजीविकाका प्रश्नहरूलाई हल गरे त ? अहँ गरेनन्। पूर्व पश्चिम चुच्चे रेलको यात्रा गर्न नपाउँदै, चुलाचुलामा ग्याँसको  पाइप लाइन जडान हुन नपाउँदै उनले संविधानमाथि आक्रमण गर्न थालेका छन् । खासमा भ्रष्टाचारसँग युद्ध लड्नु पर्ने थियो । गरीबी, बेरोजगारी, भोक, रोग अनि शोकसँग युद्ध लड्नुपर्ने थियो, तर शासक आफ्नै नेता कार्यकर्तासँग घनिभूत युद्ध लडिरहेको छ। 

दुईतिहाइ बहुमतप्राप्त प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीको आन्तरिक झगडा हल गर्न नसकेर जनताहरूको प्रतिनिधित्व हुने संसद्लाई नै असंवैधानिक रूपमा विघटन गरिदिएका छन् । उनको यस्तो कदम पनि लोकतन्त्र र बहुदलीय प्रजातन्त्रप्रति नाइन्साफी हो । जसरी ओलीले अप्रत्याशितरूपमा सांसदको गरिमा भत्काइदिएका छन्, त्यसरी त बाख्राको खोर पनि भत्काउन मिल्दैन । स्वेच्छिक मरणको कुनै अधिकार नभएको देशमा सांसदहरूले आफू जिवित भएको पुष्टि गर्नुपरेको छ। आँगन रहे न नाँच्ने हो । यहाँ  नर्तकीहरू तयारी हालतमा छन् तर आँगनमा कोदोको गेडा सुकाइएको छ ।

आफूलाई  प्रधानमन्त्रीका रूपमा जन्माउने संसद्लाई नै मूर्च्छित अवस्थामा पुर्‍याएर केपी ओलीले लोकतन्त्र र विधिको शासनका भाषण गरिरहेका छन् । केही समय अगाडि ओलीले आफूलाई पदबाट हटाउन खोजे कुर्ची नै भाँचिदिने संकेत गरेका थिए । नभन्दै उनले संसदको कुर्ची भाँचिदिएका छन् । संसद्लाई मूर्च्छित र घाइते अवस्थामा पुर्‍याइदिएका छन् । आफूलाई प्रधानमन्त्री बनाउने संसद्को नै उनले चिरहरण गरेका छन् । यस प्रकारको असंवैधानिक कदमसँगै उनको धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको धर्मराएको विगतको असमावेशी लिगेसी एकपटक राजनीतिकरूपमै पुष्टि भएको छ। 

तर लोकतन्त्रप्रेमी जनतालाई न्यायलयप्रति भरोसा छ । अब संविधानको अन्तिम व्याख्याता सम्मानित न्यायालयले के भन्छ, त्यो भने पर्खेर हेर्नुपर्ने भएको छ । तर पर्खेर हेरेर मात्र पनि हुँदैन । जनताको राजनीतिक आत्मनिर्णयको अधिकार सडकमा हुन्छ । सडकले न्यायालयको विषयवस्तु  फैसला  त गर्दैन, तर राजनीतिक, वैचारिक स्पष्टताको न्यायालय भनेको सडक नै हो । संविधानको रक्षा होस् भनी सडकबाट आवाज उठाउनु आफैँमा संवैधानिक, राजनीतिक दुर्घटनाको उपज हो । सत्ता पक्षको दुईदिनको चमकधमक धेरै टिक्नेवाला छैन । लेखेर राख्नुहोस् कमरेडहरू चमत्कार हुँदैछ ।

(यी लेखकका निजी विचार हुन् - सम्पादक)

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्