रगत–पसिना बगाएर उत्पादन गरेको उखु बिक्रीबापतको २१ लाख रुपैयाँ भुक्तानी नपाएपछि आन्दोलनका लागि काठमाडौं आएका रौतहटका किसान नारायण राय यादव घर फर्किन पाएनन् ।
अन्नपूर्ण सुगर मिलबाट भुक्तानी नपाएपछि काठमाडौं आएका उनको मृत्यु भएको छ ।
आन्दोलनका लागि दैनिक समयमै आउने र सबैभन्दा अग्रपंक्तिमा रहेर माग राख्ने उनको अत्यधिक चिन्ताका कारण निधन भएको उनका नजिकका साथीभाइहरू बताउँछन् ।
उनको काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
आन्दोलनरत उखु किसानहरूसँग सोमवार कृषिमन्त्री पद्मा अर्यालले वार्ता गरेकी थिइन् ।
उक्त वार्तामा सहमति भएर किसानहरूलाई मंगलवार बिदाइ गरी घर फर्काउने कार्यक्रम थियो । तर यादव अब घर नफर्किने भएका छन् ।
उनका साथीहरू पनि भुक्तानी भन्दा साथी गुमाएको पीडा र आँसु लिएर फर्किँदैछन् ।
भुक्तानी नपाई सोमवार भएको भनिएको सहमति उनलाई चित्त बुझेको थियो । साहुको ऋणले थलिएका उनी भुक्तानी लिएर मात्रै घर फर्किने र ऋण तिर्ने अडानमा थिए ।
गंगालाल हृदयरोग केन्द्रले उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको हुनसक्ने शंका गरेको छ ।
उनीसँगै आन्दोलनमा सहभागी किसान गजेन्द्र सिंह अहिले निकै निराश छन् ।
लोकान्तरसँग उनले भने, ‘हिजो सँगै गाडीमा फर्किएका थियौं । आज सम्पर्कमा नआएपछि पटक–पटक फोन गरेँ । अरू कसैले उठाएर निधन भयो भनिदिए । निकै दुःख लाग्यो ।’
काठमाडौंमा स्वर्गीय यादवका कोही आफन्त नरहेको उनले बताए ।
सोही कारण उनी गोठाटारमा एक मन्दिरको धर्मशालामा ५–६ दिनदेखि बस्दै आएका थिए ।
गाउँमा स्वर्गीय यादवका श्रीमती र ४ छोरा छन् ।
‘मिल मालिकले २ लाख त दिएको थियो,' सहकर्मी श्यामबाबु साह भन्छन्, ‘अरू पैसा उठ्ला भन्ने आशामा थिए । पैसा लगेर ऋण तिर्छु भनिरहेका थिए । तर, भुक्तानी नपाउँदै उनले प्राण त्यागे ।’
उनी आन्दोलनका लागि गोठाटारको कृष्णप्रणामी मन्दिरबाट हिँडेरै माइतीघरसम्म आउँथे ।
उनीसँगै आन्दोलनमा सहभागी गजेन्द्रप्रसाद सिंहका अनुसार स्वर्गीय यादव लामो समयदेखि मुटु रोगबाट पीडित थिए ।
उनले पछिल्लो समय डबल डोज औषधि सेवन गर्दै आएका थिए ।
रामजी ज्ञवाली
ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।