सैफ अली खानको प्रमुख भूमिका रहेको ताण्डव वेब सिरीजले हिन्दू समुदायको भावनालाई आहत गरेको भन्दै सिरीज बनाउने अमेजन प्राइमकी भारत शाखा प्रमुख अपर्णा पुरोहितविरुद्ध लखनउमा उजुरी दायर गरिएको छ ।
सिरीजका निर्देशक अली अब्बास जाफर, निर्माता हिमांशु कृष्ण मेहरा, लेखक गौरव सोलंकी र अन्यको नाम पनि उजुरीमा उल्लेख गरिएको छ । उनीहरूविरुद्ध धार्मिक भावना आहत गरेको आरोप छ ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले अमेजन प्राइमसँग स्पष्टीकरण मागेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
भारतीय जनता पार्टीका दुई नेताहरूले ताण्डवका विषयमा आपत्ति व्यक्त गरिसकेका छन् । मनोज कोटकले सूचनामन्त्री प्रकाश जवादकरलाई पत्र लेख्दै सिरीजमाथि प्रतिबन्धको माग गरेका छन् । अर्का नेता राम कदमले मुम्बईको घाटकोपर प्रहरी चौकीमा उजुरी दर्ता गराएका हुन् ।
कदमले ओभर द टप प्ल्याटफर्महरूलाई सेन्सरशिपको दायरामा ल्याउन समेत माग गरेका छन् ।
एजेन्सी