कूटनीति र राष्ट्रियता : विनम्रता पनि कहीँ लम्पसारवाद हुन्छ ?

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि सन् २०१७ को अगस्ट २५ मा नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवासहितको पत्रकार सम्मेलन चलिरहेको थियो । 

बोल्ने क्रममा देउवालाई खोकी लाग्यो । बोली नै अड्किए जस्तो भयो । देउवालाई बोल्न असहज भएपछि पत्रकार सम्मेलनको सभाकक्षको अगाडि रहेकी तत्कालीन भारतीय विदेशमन्त्री सुषमा स्वराजले गएर देउवालाई पानी दिइन् । 


Advertisement

प्रधानमन्त्रीलाई पानी सर्भ गर्नका लागि त्यहाँ अरू नै सहयोगी थिए, सुष्माभन्दा तल्लो तहका कर्मचारी कैयौं थिए । तर सुषमा आफैं अग्रसर भइन् र गएर देउवालाई पानी दिइन् । 

पत्रकार सम्मेलनपछिको चियापानमा कूटनीतिक मामिलामा रिपोर्टिङ गर्ने एक पत्रकारले मसँग भनेका थिए– ‘सुष्माजीको यो कूटनीतिक कला र कौशल हो ।’ भोलिपल्ट भारतका प्रायः अखबारले देउवा मोदी भेटवार्ताको समाचारमा त्यही तस्वीर राखेका थिए । 


Advertisement

त्यसबेला इन्डियन एक्सप्रेस पत्रिकाले लेखेको थियो– ‘विदेशमन्त्री सुषमा स्वराजले खोकी लागेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रेस मीटमा पानी दिँदै’ । देख्दा सामान्य भए पनि कूटनीतिमा यस्ता कुराले धेरै अर्थ राख्दछन् ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालै (माघ १ देखि ३) सम्मको भारत भ्रमणको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई नमस्कार गरेको विषय अहिले चर्चामा छ । मन्त्री ज्ञवालीले राजनाथलाई नमस्कार गरेको तस्वीर राखेर सामाजिक सञ्जालमा उनको उछित्तो काढ्ने काम भइरहेको छ । 

शनिवारको भेटवार्ताको पूरै भिडियो हेर्‍यो भने शुरूमा राजनाथले नै ज्ञवालीलाई नमस्कार गरेका थिए । 

पूर्वीय सभ्यता र संस्कारमा नमस्ते/नमस्कारलाई शिष्टाचारको एउटा प्रकारको रूपमा लिइने पूर्वीय संस्कारका जानकार डा. चिन्तामणि योगी बताउँछन् । 

‘नमस्ते, नमस्कार र प्रणाम नेपाल तथा भारतमा प्रचलनमा रहेका शिष्टाचारका पर्याय हुन् । नेपालमा नमस्ते बढी र भारतमा नमस्कार बढी प्रयोग गरेको पाइन्छ, तर शास्त्रहरूमा नमस्ते नमस्ते, नमोऽस्तुते भनेको पाइन्छ,’ डा योगीले लोकान्तरसँग भने, ‘ठ्याक्कै कुनै नियम नभए पनि कसैलाई श्रद्धापूर्वक नमस्ते र नमस्कार गर्दा शिर, आँखा, हात र खुट्टालाई मिलाएर गरिन्छ । उपरखुट्टी लगाएर त नमस्कार हुँदैन ।’

राजनाथलाई मन्त्री ज्ञवालीले गरेको नमस्कारलाई लिएर भइरहेको स्तरहीन आलोचना र लाञ्छनापछि मैले भारतका लागि केही पूर्व राजदूतहरूसँग पनि कुरा गरें । 

‘नेपाल मामिलाबारे चासो राख्ने भाजपाका एक वरिष्ठ नेता जो जनआन्दोलनमा नेपालको पक्षमा थिए, उनले भनेअनुसार एक वरिष्ठ राजनीतिकर्मीलाई नमस्कार गरेको विषयलाई लिएर यस्तो रोइलो गर्नुपर्ने थिएन,’ ती राजदूतले यति मात्र टिप्पणी गरे । 

मिडियामा आउने यस्तै खाले हल्काफुल्का टिप्पणीले गर्दा राजदूतहरूलाई काम गर्न असहज हुने भारतका लागि पूर्वराजदूतको अनुभव छ । 

मन्त्री ज्ञवालीको फोटोलाई लिएर भइरहेका टिप्पणी नेपालमा सामाजिक सञ्जालको प्रयोग कसरी अरूलाई लखेट्न अनुत्पादक ढंगले प्रयोग भइरहेको छ भन्ने उदाहरण पनि हो । 

कूटनीति नबुझ्ने नेपाली !

प्रदीप ज्ञवाली नेकपा (ओली) समूहको प्रवक्ताको रूपमा भारतमा गएका थिएनन्, उनी नेपाल सरकारको परराष्ट्र मन्त्रीको हैसियतमा भारत गएका थिए । केपी ओलीको सत्ता लम्ब्याउने एजेन्डा बोकेर उनी दिल्ली गएका पनि होइनन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठक, जहाँ सीमा लगायतका विषय एजेन्डा बनेका थिए, त्यो औपचारिक कार्यक्रममा सहभागी हुन उनी दिल्ली गएका थिए ।

दशकौंपछि नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नक्सा प्रकाशित गरेको छ । नेपालले आफ्नो भूमि समेटेर नक्सा प्रकाशित गरेपछिको दुई देशबीचको असामान्य अवस्थालाई सामान्यीकरण गर्ने अहिलेको चुनौती हो । 

सुझबुझ र कूटनीतिक कौशलमार्फत नै नेपालले आफ्नो गुमेको भूमि फिर्ता गर्न सक्छ । यस्तो बेला नेपाल विनम्र र शिष्ट भएरै प्रस्तुत हुने हो ।

नेपालका परराष्ट्रमन्त्रीको रूपमा ज्ञवालीलाई भारतमा स्वागत भयो भने नेपाललाई सम्मान गरेको हो, उनी अपमानित भए भने नेपाललाई नै गरेको अपमान हो । तर केही दिनयता ज्ञवालीविरुद्ध जेहाद छेडिएको छ, केही उडन्ते बुद्धिजीवीहरू समेत यसमा संलग्न देखिएका छन् । उत्ताउलो राष्ट्रवादको कुरा गर्नेहरूलाई प्रश्न छ– के ज्ञवालीले नयाँ दिल्लीमा गएर बूट बजार्नुपर्ने थियो त ? 

राष्ट्रियताका विषयमा भावनामा बग्ने सामाजिक सञ्जालको चरित्र छ । कुनै भारतीय संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सम्बोधन गर्न जाँदा त्यहाँ चुच्चे नक्सा थिएन भन्दैमा उनी सम्बोधन नगरी फर्किनुपर्थ्यो त ? सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणी र बहसले कूटनीतिक मामिलामा हामी अझै पनि परिपक्व नभएको प्रमाणित गर्दछ ।

दोस्रोपटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा गएको बेला सन् २०१६ को सेप्टेम्बर १६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नरेन्द्र मोदीबीचको भेटवार्ताका क्रममा प्रचण्डपत्नी सीता दाहालले हात बाँधेर उभिएको विषय यसैगरी विवादमा ल्याइएको थियो । 

त्यसबेला पनि नेपालमा रोइलो भयो । संयोगले त्यसपटक पनि प्रचण्डको भ्रमणको बेला पंक्तिकार दिल्लीमै थियो । सीता दाहालले कुम जोडेर उभिएको विषय न भारतीय मिडियाका लागि चासोको विषय भयो, न आलोचना भयो । खास कुरो त भारतीय पक्षसँग नेपालले कति आफ्ना कुरा राख्न सक्यो भन्ने पो हो ।

स्वदेशमा रहदा विमति हुनसक्लान् तर विदेशी भूमिका पुगेको व्यक्ति देशको प्रतिनिधि हो, उसलाई खिसिट्युरी गर्दा के हाम्रो प्रतिष्ठा बढ्छ ? 

कूटनीति भनेको चातुर्य पनि हो, कला पनि हो । नेपालका लागि अमेरिकी राजदूतले नेपालीका हरेक चाडपर्वको दिन विभिज्ज जातजातिकै पोसाक लगाएर शुभकामना बाँडिरहेका हुन्छन् । यसले कूटनीतिक दायरा र सम्बन्धलाई न्यानोपन दिन्छ ।

प्रदीप ज्ञवालीले शिष्टतापूर्वक नमस्कार गरेको तस्वीरलाई लिएर भारतसँग त्वं शरणम् गर्‍यो भन्ने आरोप लगाउनेहरूका लागि स्वदेशमै खिचिएको एउटा तस्वीर हेरौं न । २०७५ साल जेठ २ गते बालुवाटारमा खिचिएको यस तस्वीरमा पनि ज्ञवालीले निधारमा लगेर नमस्कार गरेका छन्, शिष्टाचार देखाएका छन, यहाँ न कोही राजनाथ सिंह थिए, न एस जयशंकर । केही पत्रकारका अगाडि पनि उनले हात निधारमा लगेर नमस्कार गरेका थिए । 

मन्त्री ज्ञवालीले भारतमा देखाएको विनम्रता र शिष्टाचारलाई भारतसँग झुकेको भनेर तुलना गर्नु उत्ताउलो राष्ट्रवाद सिवाय केही होइन ।

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्