राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुन्छः डा लोहनी

३७ जना राप्रपामा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् ।

‘देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको  छ । राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुदृढ हुने हो,’ राप्रपाका अध्यक्ष लोहनीले मोरंग जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने ।


Advertisement

भागभण्डाका कारण प्रशासनयन्त्रमा आठपरिया प्रवृत्ति चलीरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे । ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो,’ उनले भने ।

राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले देश अस्थिर बनेको, संवैधानिक संकट खडा भएको बताए । नेता श्याम तिमल्सिनाले राप्रपा विकल्प दिन एक भएको र त्यसै अनुरुप देश र जनताको हितमा विकल्प दिने बताए ।


Advertisement

राप्रपाका नेता सगुन सुन्दर लावतीले राजसंस्था, सनातन हिन्दु राष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने युवाहरुको माग बमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए । नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नु पर्ने बताए ।

विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने ३७ जनालाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्