प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा समय घटाउँदै लगिएको छ ।
बहस गर्ने अधिवक्ताहरूले धेरै समय लिन थालेपछि इजलासले बुधवार १ जनालाई ३० मिनेटको समय निर्धारण गरेको थियो ।
बिहीवार बिहान बहसको शुरूमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २० मिनेटमा बहस सक्न अधिवक्ता ओमप्रकाश अर्याललाई आग्रह गरे । तर आफूलाई ३० मिनेट नै समय चाहिने आग्रह अर्यालले गरे पछि उनले आधा घण्टा समय नै पाउने भएका छन् । बिहीवारको बहस अधिवक्ता अर्यालले शुरू गरेका छन् ।
तर संवैधानिक इजलासले बहसको समय घटाउँदै मुद्दालाई छिटो टुंगोमा पुर्याउन चाहेको देखिएको छ । इजलासमा समय निर्धारण हुनुअघि एकै जना अधिवक्ताले घण्टौं बहस गर्ने अवस्था रहेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि संसद पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन परेको छ ।
लोकान्तर संवाददाता