अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यकाल आरम्भ गर्दा देशमा चरम निराशा र विभाजनको स्थिति छ ।
त्यहाँको लोकतन्त्र नै धरापमा परेको छ । माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्तावमा पुर्पक्ष गर्दैछ ।
अधिकांश अमेरिकीहरू चार वर्षसम्मको नाटकबाट आजित भइसकेका छन् । महामारीले चार लाखभन्दा बढी मानिसलाई मारिसकेको छ । अर्थतन्त्र सुस्त छ र असमान छ । जातीय विभेद चरममा छ । प्रहरीले हिंसा गरिरहेकै छ । अनि पृथ्वी थप तातिरहेको छ ।
धेरै अमेरिकीहरूलाई देश गलत दिशातिर गइरहेको जस्तो लाग्छ ।
तर कार्यकाल सम्हालेको पहिलो दिन बाइडनले आशा गर्ने ठाउँहरू छन् । विभिन्न सर्वेक्षणमा उनको समर्थन सूचकांक बढिरहेको देखिन्छ । लगभग ६० प्रतिशत समर्थन पाउनु भनेको अहिले परिस्थितिमा राम्रै हो ।
बाराक ओबामा सन् २००९ मा ह्वाइट हाउस प्रवेश गर्दा पाएको जस्तो परिस्थिति अहिले छैन । उनी ओबामा जति लोकप्रिय छैनन् । सिनेटमा झिनो बहुमतका साथ उनले कार्यकाल आरम्भ गर्नेछन् । उपराष्ट्रपति कमला ह्यारिसले सिनेटमा टाइब्रेक गर्नेछिन् । ओबामासँग ६० सीटको सुपरमेजोरिटी थियो ।
बाइडनसँग बहुमत पनि झिनो छ अनि काम गर्ने समय पनि थोरै छ । चार वर्षको अवधिमा उनले असम्भव जस्ता लाग्ने काम गर्नुपर्नेछ ।
तर विभाजित मुलुकमा बाइडन र उनको मन्त्रिपरिषद्लाई स्वीकृति दिने बहुमत हुनु पनि आफैंमा ठूलो कुरा हो । बाइडनका सहयोगी तथा साझेदारहरूले जनता ट्रम्प युगबाट अघि बढ्न चाहेको आकलन गरेका छन् ।
यसलाई बाइडन समर्थकहरूले उनलाई काम गर्ने अवसर दिन चाहेको भनी बुझेका छन् । अमेरिकीहरूको दृष्टिकोण बाइडनप्रति ट्रम्पको तुलनामा नरम छ । अनि केही सांसदप्रति पनि उनीहरूको सोच त्यस्तै छ जस्तो लाग्छ ।
ट्रम्पले आफ्नो कार्यकाल विषाक्त वातावरण निर्माण गरेर बिताए । त्यसैले अमेरिकीहरू ह्वाइट हाउसबाट नयाँ आवाज सुन्न आतुर छन् ।
बाइडनले जनतालाई खोप उपलब्ध गराएर अनि भारीभरकम राहत प्याकेज दिएर अमेरिकालाई सामान्य अवस्थामा पुर्याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।
त्यसमा सफल भएमा बाइडनले अर्को चुनाव पनि जित्न सक्छन् ।
एजेन्सी