कोरोनाभाइरस (कोभिड– १९) महामारीका कारण पर्यटकीय नगरी पोखरामा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा विदेशी पर्यटक आवागमनमा भारी गिरावट आएको छ ।
सन् २०१९ तुलनामा २०२० मा पोखरा घुम्ने विदेशी पर्यटकको संख्या ८६ प्रतिशतले घटेको हो ।
नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सन् २०२० मा हवाइ उडानमार्फत् जम्मा २५ हजार ५ सय ८५ विदेश पर्यटक पोखरा भित्रिएका थिए । अघिल्लो वर्ष भने ८२ हजार ३ सय १ जना आएका थिए ।
यस्तै सन् २०२० मा पोखराबाट हवाइ उडान हुँदै १६ हजार २ सय ४७ जना काठमाडौं, चितवन, भैरहवा लगायत क्षेत्रतर्फ बाहिरिएको सुवेदीले जानकारी दिए । अघिल्लो वर्ष यहाँबाट १ लाख ११ हजार १ सय ४१ जना बाहिरिएका थिए ।
सुवेदीका अनुसार कोरोना महामारीमा केही कमी हुँदै गएपछि पछिल्लो ४ महिनायता पोखरामा हवाइ उडानमार्फत् २ सय २५ विदेशी पर्यटक आएका छन् । तर यो संख्या सन्तोषजनक हैन ।
दशैंतिहारका बेलामा आन्तरिक पर्यटकको घुइँचो रहेको पोखरामा विदेशी पर्यटकको संख्यामा कमी हुनुले यहाँको पर्यटन व्यवसाय धान्न नसक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
यसरी हेर्दा अघिल्लो वर्ष तुलनामा सन् २०२० मा हवाइ उडानबाट आउने पर्यटकको संख्यामा ८६ प्रतिशतले गिरावट आएको पाइन्छ ।
उडानमा लामो समयसम्म रोक लगाइँदा हवाइ उडान पनि ७२ प्रतिशतले कमी हुन गयो । सन् २०१९ मा पोखराबाट ३९ हजार ९ सय २० वटा हवाइ उडान भएको थियो । त्यस्तै सन् २०२० मा ११ हजार १ सय १८ वटा मात्र हवाइ उडान भयो ।
पाल सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरेको थियो । शुरूकै महिनाबाट कोरोनाको प्रभाव पर्यो ।
लकडाउन हुनुअघि सन् २०२० जनवरीमा १३ हजार २ सय ५६ विदेशी पर्यटक आइसकेका थिए । अघिल्लो वर्षको सोही अवधिमा १२ हजार ९ सय ५५ विदेशी पर्यटकले पोखरा घुमेका थिए ।
सन् २०१९ फेब्रुअरीमा हजार ७ सय ४८ वटा हवाइ उडान भएकोमा पछिल्लो वर्ष सोही महिनामा २ हजार ३ सय ८१ उडान भयो ।
सन् २०२० अप्रिल, मे, जुन, जुलाई र अगस्टमा पोखरामा न्यून संख्यामा हवाइ उडान भयो । त्यसबेला १ जना पनि विदेशी पर्यटकले यात्रा गरेनन् ।
कोभिड–१९ प्रभावका कारण लामो समय उडान प्रभावित हुँदै आएकोमा सरकारले गत असोजदेखि मात्र आन्तरिक हवाइ उडान खुला गरेको हो ।
तैपनि विदेशी पर्यटकको आवागमन शन्तोषप्रद छैन ।
पोखरालाई आधार बनाएर प्रभु हेलिकोप्टर, बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, तारा एयरले उडान भर्ने गर्दछन् ।
पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, जोमसोम, विराटनगर सिधा हवाइ उडान हुने गर्छ ।
विजय उत्सव
पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।