ट्रम्पका केही परराष्ट्रनीतिहरू सही थिए, बाइडनले देलान् निरन्तरता ?

अमेरिकाका राष्ट्रपति जो बाइडनले देशको अवस्था सुधार गर्नमा नै जोड दिनुपर्ने आवश्यकता छ । अमेरिकीहरूले बाइडनको शपथग्रहण समारोहमा व्यक्त भएको एकता तथा राष्ट्रिय मेलमिलापको विषयमा नै ध्यान एकत्रित गर्दै घरैका समस्या समाधानमा लाग्नु सही ठहर्छ । 

तर विश्वले अमेरिकालाई प्रतीक्षा गरिबस्दैन । डोनल्ड ट्रम्पले भत्काएको विश्व व्यवस्थालाई पुनर्निर्माण गर्ने दायित्व बाइडनको हो । बाइडनले शपथग्रहण समारोहमा भनेका पनि हुन्, ‘हामी आफ्ना साझेदारीहरूलाई पुनः जोड्नेछौं र संसारसँग पुनः सम्पर्क गर्नेछौं ।’


Advertisement

अमेरिकालाई अन्य मुलुकको समर्थन गराउन सहज छैन । यसै साता युरोपीयन काउन्सिल अन फरेन रिलेसन्सको एक सर्वेक्षण परिणाम सार्वजनिक भएको छ जसमा बाइडनको विजयप्रति उत्साह देखिएको छ । तर सँगै भनिएको छ, अबको एक दशकमा चीन अमेरिकाभन्दा बढी शक्तिशाली हुनेछ । 

अमेरिकाले सुधारको बाटोमा जानुपर्ने विषयमा एकछिनका लागि फरक धारणा राखौं : सबैथोक भत्किसकेको छ भन्ने हैन । अमेरिकी शक्ति केही हदसम्म निरन्तरता र केही हदसम्म वेग पनि हो । कहिलेकाहीँ सैन्य जनरलहरू, कूटनीतिकर्मीहरू र गुप्तचर संस्थाका प्रमुखहरूले सही नीति कायम गर्न ट्रम्पलाई चुनौती दिएका पनि हुन् । अनि वास्तविकता के हो भने ट्रम्प प्रशासनले परराष्ट्रनीतिमा चालेका सबै कदम गलत पनि थिएनन् । केही कुरालाई निरन्तरता दिनु सही हुन्छ । 


Advertisement

ट्रम्पका केही सकारात्मक कुरामध्ये अमेरिकाले इराकमा २५ सय अमेरिकी सैनिक राख्नु पनि हो । बग्दादले ती सैनिक बसून् भन्ने चाहेको छ अनि इरान चाहिँ तिनीहरूलाई हटाउन चाहन्छ । तेहरानले समर्थन गरेका शिया लडाकूहरूले अमेरिकी दूतावास र अन्य स्थानमा आक्रमण चर्काएका छन् । डिसेम्बर महिनामा उनीहरूले दूतावासको प्रांगणमा २० वटा रकेट प्रहार गरेका थिए । त्यसभन्दा बढी आक्रमण गरेका भए चाहिँ ट्रम्पले जवाफी कारवाहीको आदेश दिन सक्थे ।

अमेरिकाले इरान र उसका प्रोक्सीहरूलाई सन्तुलनमा राख्न सबै अस्त्र प्रयोग गरिरहेको छ । पर्सियन खाडीमा बी–५२ बमवर्षक विमानले अमेरिकी शक्तिको प्रदर्शन गर्न उडान भर्ने गरेका छन् । यूएसएस निमिट्ज नामक युद्धपोत समुद्रबाट घुमाएर उक्त क्षेत्रमा तैनाथ गरिएको छ । अनि अमेरिकाका शीर्ष अधिकारीहरूले इरानी समकक्षीहरूलाई सीधै चेतावनी दिएका छन् । 

यस अभियानलाई परराष्ट्र मन्त्रालयका एक अधिकारीले सही रूपमा वर्णन गरे– यो एजेन्सीहरूबीचको सहकार्य तथा कूटनीतिको एक नमूना थियो र यसले काम गर्‍यो ।

गाह्रो काम त अब शुरू हुँदैछ । इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई पुनर्बहाली गर्ने र उक्त क्षेत्रमा तेहरानका अस्थिरतापूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने चुनौती छ । ट्रम्पले मूर्खतापूर्वक उक्त सम्झौतालाई भंग गरेका थिए र त्यसको परिणामस्वरूप इरानले थप युरेनियम संवर्धन गर्‍यो । बाइडनले उक्त गल्तीलाई सुधार्नुपर्छ तर निकै ध्यानपूर्वक । 

ट्रम्पले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक घर फिर्ता ल्याउन उत्कट इच्छा व्यक्त गरेको भए पनि उनको प्रशासनले त्यसो हुन दिएन । अमेरिकाले त्यहाँ रहेका २५ सय सैनिकहरू फिर्ता लिन विभिन्न शर्त पालन गर्नुपर्ने भनी जोड दिइरहेको छ । कतारमा तालिबान नेताहरूलाई भेट्दा जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क ए मिल्लीले यसमा जोड दिएका थिए । 

यसमा पनि बाइडनले शर्तको फर्मुलालाई निरन्तरता दिने कि सैनिक फिर्ता गर्ने भन्ने विषयमा निर्णय गर्नुपर्नेछ । तालिबानी हिंसामा कमी नआइकनै उनले अफगानिस्तानबाट सैनिक हटाएमा सन् २०११ को गल्ती दोहोरिनेछ । त्यतिखेर उनी उपराष्ट्रपति रहँदा इराकबाट सैन्य फिर्तीको निर्णय हतारमा लिएका थिए । अफगानिस्तानको सवालमा ट्रम्प प्रशासनको नीतिको निरन्तरतामा नै समझदारी छ । 

ट्रम्पले चीनका विषयमा बनाएको नीतिलाई परित्याग नगर्न पनि बाइडन सचेत हुनुपर्छ । ट्रम्पले व्यापार तथा प्रविधिमा कठोर नीति अवलम्बन गरी चीन–अमेरिका सम्बन्धमा व्यापक फेरबदल गर्ने रिपब्लिकन र डेमोक्रेट दुवै विज्ञको चाहनालाई प्रतिबिम्बित गरेका थिए । 

ट्रम्पले आयातशुल्कका विषयमा झगडा गरेर धेरै समय नष्ट गरे । तर बेइजिङविरुद्ध कठोर नीति अपनाउनुपर्छ भनी उनले सही मूल्यांकन गरेका थिए । 

चिनियाँहरूले बाइडन प्रशासनको परीक्षा लिने योजना बनाइसकेका छन् । नयाँ जलमार्ग सुरक्षा कानून मार्च महिनामा लागू हुन सक्नेछ । समुद्रमा जहाजको आवागमन सुरक्षाका लागि भन्दै चीनले विदेशी जहाजलाई आफ्नो जलक्षेत्रमा प्रवेश गर्न नदिन सक्छ । नयाँ कानूनअन्तर्गतको विस्तृत परिभाषामा यस्तो कार्य गर्न पाइनेछ । 

ट्रम्पका परराष्ट्रमन्त्री माइक पम्पेओले बेइजिङविरुद्ध थप दण्डात्मक उपाय अपनाएर बाइडन प्रशासनमा भार थोपरिदिएका छन् । तीमध्ये केही उपाय सारगर्भित छन्, केही छैनन् । 

एसिया नीतिका संयोजक कर्ट क्याम्पबेल अनुभवी व्यक्ति हुन् र उनको जिम्मेवारी गहन छ । अमेरिकाले व्यापार तथा प्रविधिमा कठोर नीति कायम गर्नुपर्ने तर नयाँ शीतयुद्ध शुरू गर्न नहुने चुनौती छ । शीतयुद्ध भएमा दुवै पक्षलाई हानि पुग्छ ।
 

परराष्ट्रनीतिको सवालमा बाइडनले ट्रम्पका विध्वंसकारी दृष्टिकोणले अस्तव्यस्त बनाएको वास्तविकतालाई सुधार्नुपर्नेछ तर ट्रम्पका सबै नीतिलाई परित्याग गर्नुपर्छ भन्ने छैन । 
 

वाशिङटन पोस्टमा प्रकाशित डेभिड इग्नेसियसको आलेख

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्