अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीकी एक सांसदले राष्ट्रपति जो बाइडनविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएकी छन् ।
जर्जियाबाट सांसद बनेकी मार्जोरी टेलर ग्रीनले बाइडन पद सम्हाल्न अयोग्य रहेको र उनले बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति छँदा शक्तिको दुरुपयोग गरेको लामो सिलसिला रहेको आरोप लगाएकी छन् ।
युक्रेन सरकारलाई बाइडनले धम्की दिएको र छोरो हन्टर बाइडनले विदेशमा गलत व्यवसाय गरेको उदाहरण ग्रीनले दिएकी छन् ।
बिहीवार एक बयान जारी गर्दै ग्रीनले छोरोलाई उन्मुक्ति दिन बाइडनले जस्तोसुकै कदम पनि चाल्ने र विदेशका भ्रष्ट ऊर्जा कम्पनीबाट प्राप्त रकमले आफ्नो परिवारको गोजी भर्ने काम गरेको बताइन् ।
‘ह्वाइट हाउसमा राष्ट्रपति बाइडन रहनु भनेको राष्ट्रिय सुरक्षामाथिको जोखिम हो र उनलाई तत्कालै महाअभियोग लगाउनुपर्छ,’ उनले थपिन् । एक हप्ताअघि उनले बाइडनलाई कार्यकालको पहिलो दिनमा महाअभियोग लगाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् र त्यसलाई पूरा गरिन् ।
उनको यो प्रस्ताव पारित हुने सम्भावना लगभग शून्य छ । संसदमा रिपब्लिकनहरू अल्पमतमा छन् र ग्रीन आफैं पनि रिपब्लिकन पार्टी समग्रको प्रतिनिधित्व गर्दिनन् ।
अनि उनी क्यूएनोन नामक समूहमा आबद्ध षड्यन्त्र सिद्धान्तकार हुन् भनी मिडियाले लगातार उनीमाथि आक्रमण गरेको छ ।
तर उनले बाइडनमाथि महाअभियोग लगाउने प्रस्ताव गरेर महाअभियोग प्रक्रिया राजनीतिक हतियार बनेको सिद्ध गरेकी छन् । अत्यन्तै चरम परिस्थितिमा मात्र राष्ट्रपतिमाथि महाअभियोग लगाउने प्रावधान छ
तर सानातिना कुरामा पनि महाअभियोग लगाइदिने काम अमेरिकी संसद्ले गरिरहेको छ ।
एजेन्सी