बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश सभा पेश भएको छ ।
प्रदेश सभा सचिवालयमा यसअघि नै दर्ता भएको अविश्वास प्रस्ताव शुक्रबारको बैठकमा प्रदेश सभा सदस्य अरूण नेपालले छलफलका लागि पेश गरेका हुन् ।
नेकपा विभाजनपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रक्रियामा अघि बढ्ने बाग्मती पहिलो प्रदेश बनेको छ ।
मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा प्रचण्ड–माधव नेपाल पक्षका ४५ जना सदस्यले हस्ताक्षर गरेका छन् ।
अविश्वासको प्रस्ताव टेबुल भएसँगै सभामुख सानुकुमार श्रेष्ठले यही माघ १९ गते बस्ने बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने घोषणा गरेका छन् ।
बैठक माघ १९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रदेश नम्बर १ मा पनि प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन शुरू भएपनि बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसद्मा टेबुल हुने मिति भने तय हुन सकेको छैन ।
लोकान्तर संवाददाता