भारतको मध्य प्रदेशमा रहेको कटनी जिल्लामा रहेको विद्यालयका एक शिक्षकले महिला तथा बालिकाको सम्मानको उदाहरण प्रस्तुत गरेका छन् ।
यी शिक्षकले विगत २० वर्षभन्दा बढी समयदेखि बालिकाको चरण पूजन गरेर मात्र पढाउने गरेका छन् ।
लोहरवारामा रहेको प्राथमिक विद्यालयमा पढ्ने बालिकाहरूलाई भैैयालाल सोनी नामक शिक्षकले विभेद नगरी जलले पाउ धुन्छन् र पूजन गरेर मात्र पढाउन थाल्छन् । यो क्रम विगत २३ वर्षदेखि जारी छ ।
एक पवित्र सोचका साथ आफूले नमामि जननी अभियान शुरू गरेको सोनी बताउँछन् । नियमित रूपमा प्रार्थनाअघि बालिकाहरूको गोडा गंगाजलले धोएर नवरात्रमा बालिकाको पूजा गरेजस्तै नियमित पूजा उनले गर्ने गरेका छन् ।
मध्य प्रदेशको शिवराज सिंह चौहान सरकारले २५ जनवरीमा सुशासन दिवसको अवसरमा सबै सरकारी कार्यक्रम कन्या पूजनका साथ शुरू गर्ने निश्चय गरेको छ । शिक्षक सोनीले सरकारको यस निर्णयको सराहना गरेका छन् ।
नमामि जननी अभियानका साथसाथै स्वच्छताको सन्देश दिन र छुवाछुत हटाउने प्रयास पनि गरिएको उनले बताए ।
यस कामको प्रेरणा कहाँबाट आयो भनी सोध्दा उनले समाजमा महिलालाई उचित सम्मान नदिएकाले अभियान चलाउने सोच आएको सोनीले बताए ।
मानिसहरूको सोच बदलियोस् भनी कार्यक्रम शुरू गरिएको उनको कथन छ । जिन्दगीभरि बालिकाको सम्मान गर्ने र मानिसमा नैतिकताको वातावरण निर्माण गर्ने निश्चय लिएको उनले बताए ।
एजेन्सी