तिम्री स्वास्नी र म

  • मनु ब्राजाकी 

६ महिनाअघि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो ।


Advertisement

त्यसबेला मैले देखें – एउटी २५–२६ वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुण्ड्याएर मत्थर गतिले हिँड्दै थिई । यो जूटको रङ्गीन झोला निकै गरूङ्गो प्रतीत हुन्थ्यो, किनभने उसको शरीरको अधिकांश भाग त्यतैतिर ढल्किएको थियो ।

युवती निकै आकर्षक थिई । निर्मला मबाट गएपछि म आजकाल यस्तै युवतीहरूतर्फ आकर्षित हुन थालेको छु । स्कूल–कलेजका चञ्चल किशोरीहरूभन्दा २५–२६ वर्षीया यी विवाहित युवतीहरूमा भिन्नै किसिमको मनोहारी आकर्षण हुन्छ । पूर्णरूपेण फक्रेको क्यामेलिया अथवा थुँगु सयपत्रीको फूलजस्तै । मकरन्दपूर्ण उन्माद र पूर्णयौवनको गाम्भीर्यले सिंगारिएको ।


Advertisement

अँ, युवती विचरी बडो संकटमा थिई । उसको अनुहार पसिनाका थोपाहरूले ढाकेको थियो, जसलाई पुछ्न ऊ ह्यान्डब्यागबाट रूमालसम्म झिक्न समर्थ थिइन । गर्मीको मौसम थियो । एकछिन ऊ सँगसँगै हिँडेपछि मैले देखें अब पसिनाका थोपाहरू धारामा परिणत हुन थालेका छन् । उसको अनुहारको मेकअप पखालिन थालेको छ ।

मेकअप उत्ताउलो थिएन । गहुँगोरो अनुहारमा मेरो मनपर्ने हल्का गुलाफी रङ्गसित समन्वित ओठको किञ्चित् गाढा गुलाफी रङ्ग । आँखामा गाजल तर नजानिँदो । यस सौम्य र सुरूचिपूर्ण सिंगारले म झन् मुग्ध भएको थिएँ ।
 
म एक्कासी दयार्द्र हुँदै ऊनेर पुगें र भनें, ‘कृपया, यो जूटको ठूलो झोला मलाई दिनुस् । म पनि त्यतै जाँदै छु ।’
 
तिम्री स्वास्नीले पुलुक्क मतिर हेरी र आफ्नो असहाय अवस्था र भिजेको अनुहार सम्झेर एकछिन नियास्री भई । अनि आफ्नो श्वास–प्रश्वास नियन्त्रित गर्दै यति नै भनी – ‘धन्यवाद !’ र उसैगरी झोलाको भारले ढल्केर हिँडिराखी ।

म पनि उसको आसमानी सारीको सर्‍याक–सुरूक् सुन्दै पछि लागिराखें । एकछिनपछि फेरि मैले मन थाम्न सकिनँ ।

‘सुन्नुस् त, नराम्रो नमान्नुहोला । यस्तो अवस्थामा सहयोग गर्नु सबैको कर्तव्य हो, ल्याउनुस् झोला मलाई दिनुस् । म पनि त्यतै जाँदैछु’ भन्दै मैले उसको हातबाट जूटको ठूलो झोला बलजफ्ती आफ्नो हातमा लिएँ । उसले फेरि पुलुक्क मतिर हेरी र ‘धन्यवाद’ भनी ।

उसको दृष्टिमा कृतज्ञता भावभन्दा कुतूहलभाव प्रस्टिएको थियो । तर मेरो सौम्य, गम्भीर र आत्मीय मुखमुद्रा देखेर आश्वस्त भई । अनि एकछिन अडिएर नाइलनको तारको झोला भुईंमा राख्दै ह्यान्डब्यागबाट पहेंलो लेडिज रूमाल झिकेर अनुहारको पसिना मेकअप नलत्पतिने गरी हल्का तवरले पुछ्न थाली । एक्कासि मेरो मुखमुद्रा बदलियो र उसको सुडौल देहयष्टिलाई लोलुप नजरले हेर्न थालें, जहाँ कामीको खलाँती झैं चलेको श्वासप्रश्वासले उसका कलशद्वय उद्वेलित भइराखेका थिए ।

‘कस्तो घाम, उफ् !’

‘अँ!’ भन्दै मैले पनि मौसमअनुकूल जवाफ दिएँ ।

झोला निकै गरुङ्गो रहेछ । मेरो पनि दाहिने हात तन्केर घुँडा छोला जस्तो गर्‍यो । लाग्यो, झोलामा अन्य चीजबीजहरूभन्दा आलुकै मात्रा बढी छ ।

स्वास्नी मान्छेहरू जे सस्तो छ र जे सहज प्राप्य छ त्यतैतिर झुम्मिन्छन् । खूबै मोलभाउ गर्छन्, महंगोमा पर्छन् – मीठोमीठो बोलीवचनले गर्दा । यत्रा यातायातका साधनहरू छन् तर वरिपरि नै आधार खोज्छन् सहजप्राप्यले गर्दा निर्मला पनि त यस्तै थिई ।

‘तपाईंले मलाई चिन्नुभो र ?’ भन्दै उसले मतिर नियालेर हेरी ।

‘चिनेर मात्र आफ्नो कर्तव्यपालन गरिन्छ र ?’ प्रतिप्रश्न मेरो थियो ।

मेरो अनुहार फेरि सौम्य र भद्र भइसकेको थियो । प्रतिप्रश्नले गर्दा ऊ एकछिन चुप लागी र भनी, ‘निकै सहृदयी हुनुहुँदो रै’छ, धन्यवाद !’

उसको शब्द चयनले गर्दा मलाई ऊ सुशिक्षित छे भन्ने लाग्यो ।

‘सहृदयता अर्जित गुण हुँदैन, स्वभाव हुन्छ ।’

उसले हाँसेर मतिर हेरी र कुनै जवाफ दिइन । मैले उसलाई अघि लगाएँ र आफू उसलाई अन्यथा अनुभव हुन नदिई एक पाइलो पछि परें किनभने मलाई उसको टोल र घरबारे केही थाहा थिएन । एकछिनपछि फेरि उसलाई नारीसुलभ वाचालताले घच्घच्यायो र वार्तालाप, पहिलो पटक भेट हुँदा हुने वार्तालाप, मौसम, महंगी हुँदै राजनीतिसम्म पुग्यो । यद्यपि घरेलु नारीको लागि राजनीति उस्तो आकर्षक विषय होइन तापनि शिक्षित छु भन्ने देखाउन अपरिचित अथवा नवपरिचितसित चर्चा गरिन्छ नै ।

राजनीतिक चर्चामा नारीहरूको विशेष रूचि मूलभूत सैद्धान्तिक विचार–विमर्शमा भन्दा प्रशासनिक चलन–विचलनमा बढी हुन्छ । यहाँ पनि सोही भयो । यसै सन्दर्भमा अन्ततः तिम्री स्वास्नीले तिमी अफिसर भएको र तिम्रो प्रशासनिक भूमिकाबारे चर्चा गरी । मैले समर्थनमा मुन्टो हल्लाउँदै रहें किनभने नारीलाई स्नेह र समर्थन चाहिन्छ किनभने म स्वयं पनि अफिसर थिएँ र प्रशासनिक कटुमधुर अनुभव मलाई पनि छ । निक्कै ठूलो रकम कुम्ल्याएर त्यागपत्र दिएँ, अथवा दिनुपर्‍यो र अब ठेक्कापट्टा गर्दैछु ।

‘हेर्नुस् न, कस्तो ब्याडलक ! ट्याक्सी नै पाइएन आज ।’

गल्ली जस्तो सडकबाट निस्केर हामी फाँटमा आइपुग्यौं । टाढा–टाढासम्म नवनिर्मित घरहरू छरिएका थिए । ऊ एउटा एकतले र सामान्य वास्तुविन्यासयुक्त घरसामु उभिई । घर अपूर्ण थियो । प्लास्टर गरेको थिएन तर कम्पाउन्डवाल भन्ने थियो । ग्रिल–गेटको सट्टा तगारो थियो । उसले मतिर होइन तिम्रो घरतिर हेर्दै भनी, ‘यै हो हाम्रो घर ।’

‘लौ त, आफ्नो झोला लिनुस् ।’

अब त म पनि असिन–पसिन भएर थाकेर चूर भइसक्या थिएँ । अतः झोला उसको हातमा दिएर मैले गोजीबाट रूमाल झिकें र पसिना पुछ्न थालें । झोला दिँदा फेरि उसका मांसल र कोमल औंलाहरूको स्पर्श पाएँ ।

‘धन्यवाद ! धेरै–धेरै धन्यवाद ! एहे तपाईं त ....’

‘क्यै छैन, क्यै छैन । तपाईंको यति सेवा गर्न पाएर मैले आफूलाई सौभाग्यशाली ठानेको छु ।’

‘तपाईंको कुन टोल पर्‍यो ?’

‘त्यो त पछि परिसक्यो ।’

‘ए’ उसो भए मेरै लागि तपाईंले यति कष्ट ...’

‘भैगो केही कष्ट छैन । लौ त अब बिदा दिनोस् ।’

अहिले भने उसको आँखामा कृतज्ञता र कताकता किञ्चित् अपनत्वको भाव देखा पर्‍यो । अक्मकाउँदै र यताउति हेर्दै मधुरो स्वरमा भनी, ‘एकछिन पर्खिनुस् ।’

‘के यो झोला भित्रसम्म पुर्‍याइदिउँ कि ?’ भन्दै उसको हातबाट झोला लिएँ ।

‘अँ!’ अन्यमनस्क भएर उसले भनी ।

तगारो खोलेर हामीभित्र पस्दा मैले जुन कुरा देखें सो देखेर म विस्मयविमुग्ध भएँ । क्यामेलिया ! मेरो प्यारो क्यामेलिया फुलेको रहेछ, पूर्ण यौवनसाथ । ९ महिनाको कठिन प्रयासपश्चात् फुल्ने फूल ।

एक्कासि रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता ‘क्यामेलिया’को सम्झना आयो । दार्जीलिङको पर्वतीय बाला तनुकाको सन्दर्भसहित यस कवितामा बङ्गाली कविगुरूले भनेका पंक्तिहरू मगजमा सगबगाउन थाले ।

तनुका बोलले, ‘दामी दुर्लभ गाछ
ए देशेर माटिते अनेक यतने बाँचे ।’
जिगेस करलेम, ‘नामट की ?’
से बोलले, ‘क्यामेलिया ।’

मलाई क्यामेलियातिर टक लगाएर हेरेको देखेर उसले हर्षित हुँदै भनी, ‘कति राम्रो फूल छ हगि ? ल्याउनुस् झोला दिनुस् ।’

‘अब म बिदा हौं त ?’ झोला दिँदै मैले भनें ।

‘कहाँ हुन्थ्यो, एक कप चियासम्म खाएर जानुस् न । साह्रै थाक्नुभो ।’

जम्मा ४ वटा कोठाको एकतले घरमा उसले मलाई ड्रइङ रुममा बसालेर हस्याफस्याङ गर्दै आफू किचेनतिर लागी । बैठक सादा तर सुरूचिपूर्ण थियो । फ्रेन्च विन्डोमा ग्रिल र पर्दा दुवै थियो तर शिशा हालेको थिएन । निर्माणाधीन घरमा यस्तै हुन्छ । निकैबेरपछि ऊ आई – एउटा हातमा चियाको कप–प्लेट र अर्को हातमा अम्लेटको रिकापी लिएर ।

‘एकछिन कुर्नुपर्‍यो, हगि ?’

‘यत्रो कष्ट किन गर्नुभएको ? अनि तपाईंलाई ख्वै त ?’

‘म आउँछु, तपाईं खाँदै गर्नुस् ।’

अतिथिपरायणताको गृहिणीसुलभ उमङ्गले उल्लसित हुँदै ऊ फेरि किचेनतिर हानिई र आफूलाई पनि चिया ल्याई ।

‘यी यहाँ मेरो श्रीमान् !’ उसले भित्तातिर औंल्याउँदै भनी ।

मैले त्यतै हेरें । अफिसियल पार्टी खाँदाखाँदा डम्म परेको अनुहार, घोप्टे जुँघा, ढाकाको टोपी । 

‘बडो ह्यान्डसम हुनुहुँदो रहेछ !’

ऊ चोरआँखाले मतिर हेर्दै लजाई र गहुँगोरो अनुहार आरक्त भयो । एकछिन अझैको वार्तालापबाट थाहा पाएँ एउटी छोरी छे ६ वर्षकी, स्कूल जान्छे । एउटा श्रीमान् छन्, जो अफिस जान्छन् र साँझ झमक्क नपारी घर फर्किंदैनन् ।

बिदा हुँदा शिष्ट ढङ्गले ठट्टा गरें – ‘बाहिर क्यामेलिया फुलेको छ र भित्र तपाईं । अब बिदा दिनुस् ।’

फेरि चोरआँखाले मतिर हेरेर हाँसी र भनी – ‘नमस्ते ! आउँदै गर्नुहोला है !’

यो नितान्त औपचारिक वाक्य थियो तर यसैलाई मैले सहारा दिनुपर्ने चोरऔंला ठानेर समाएँ ।

अनि त तिम्रो स्वास्नीसँगको भेटघाट क्रममा यहाँ आवतजावत निर्वाध चल्यो ।

भेटघाट कहिले बजारमा, कहिले घरमा गर्दै २ महिना बित्यो । आत्मीयता पल्लवित भयो, पुष्पित भयो । अनि कहिलेदेखि हो कुन्नि ‘तपाईं–तपाईं’को भनाभन ‘तिमी–तिमी’मा परिणत भयो, दुवैलाई थाहा भएन । एकदिन अकस्मात् तिमी अफिसबाट छिट्टै घर आइपुग्यौ । हामी कुनै अश्लील अवस्थामा थिएनौं किनभने बल्ल ‘तिमी–तिमी’को स्तरसम्म आत्मीयता पुगेको थियो । मैले चियाको कप सेन्टर टेबुलमा राखेर उठ्दै तिमीलाई नमस्कार गरें ।

एकछिन बादल लाग्यो । अनि लगत्तै झलमल्ल घाम भयो ।

‘यहाँ को हुनुहुन्छ ?’ पौरूषको एकाधिकारी सन्देहले जिज्ञासा गर्‍यो ।

‘मेरो मीतदाजु हुनुहुन्छ,’ तिम्री स्वास्नीले एकक्षण पनि नबिराएर भनी ।

‘यत्रा दिनपछि जेठानसाहेबको सवारी भएछ । के गर्नुहुन्छ ?’

‘यसो सानोतिनो ठेक्कापट्टा गर्छु । आज बैनीसित पनि भेटौं, हजुरको पनि दर्शन गरौं भनेर आएको ।’

‘मसित क्यै काम थियो कि ? लौ त आज यहीँ खाएर जाने अब ।’

घाम अझै झलमलायमान भयो ।

कति छिटो उसले ढाँटेर मलाई ‘मीतदाजु’ बनाई । यो स्वास्नीमान्छेको त्वरित छलबुद्धिको प्रमाण हो । उसले मलाई सहपाठी, छिमेकी, साथी पनि भन्न सक्थी तर भनिन । नारीको पुरूष–मनोविज्ञानको ज्ञान पुरूषको नारी–मनोविज्ञानको ज्ञानभन्दा श्रेष्ठतर हुन्छ – विशेषगरी व्यावहारिक सन्दर्भमा । आफ्नो स्नेहसूत्र कायम राख्न नारीले यस्तै सानासाना झुट बोलेर पुरूषको एकाधिकारी प्रवृत्ति र अहंलाई श्रद्धासुमन चढाइराख्छे । तर पुरूषको लिंडे बलले यसैलाई स्त्रीयाचरित्र भन्छ ।

यसैगरी यदाकदा तिमीसित, प्रायःजसो तिम्री स्वास्नीसित भेटघाट गर्दै अझ ६ महिना बित्यो । अनि कसरी ड्रइङ रुमको स्नेह र आत्मीयता बेड रुममा गएर टुङ्गियो, सो कुराको ज्ञान न ता मलाई नै भयो न ता तिम्री स्वास्नीलाई नै । नजिक र आफूभित्र घटित हुने घटनाको प्रभाव त थाहा हुन्छ तर समय–कालको ज्ञान हुँदैन । अनि त सातामा १–२ पटक कहिले तिम्री स्वास्नीको आग्रहले र कहिले मेरो आग्रहले आत्मीय बेडरुम कार्यक्रम चल्दै राख्यो । बाहिरको क्यामेलिया ८ महिनापश्चात् हाम्रो हृदयबाटिकामा पूर्णयौवनासाथ फुल्न थाल्यो ।

मबाट स्नेह र सन्तुष्टिको सहारा पाएर उसले अब तिम्रो अवगुणको पनि आलोचना गर्न थालिसकेकी थिई । तिम्रा गुणहरू गौण हुँदै गएका थिए । बेला–बेलामा मैले ल्याएको स्नेहोपहारले मेरो गुणगरिमा बढाएको थियो । तिमीलाई सन्देह नहोस् भनेर एकदिन मैले तिम्रो लागि पनि एउटा निकै दामी रोलेक्स घडी ल्याएको थिएँ ।

‘ज्वाइँसाहेब, यो हजुरको लागि ... मेरो एउटा साथी दिल्ली गएको थियो, उसैले ल्याएको ।’

‘भैगो राख्नुस्, जेठानसाहेब !’

‘मसित छँदै छ नि !’

‘मसित पनि त छ ।’

हामी दुवै हाँस्न थालेका थियौं । यसैबीच तिम्री स्वास्नीले प्याच्च भनी –

‘तपाईं त साह्रै खर्चालु हुनुहुँदो रै’छ, दाइ !’

‘बैनीलाईभन्दा ज्वाइँलाई खुसी पारे पो त बैनीले सुक्ख पाउली ।’

‘ठेक्काको पैसा के छ र ?’ भन्दै तिमी हाँस्यौ ।

अनि हामी तीनैजना हाँसेका थियौं ।

तिम्रो हाँसोमा अफिसरीय खोक्रो अट्टहास थियो, मेरो हाँसोमा व्यापारिक कुटिलता थियो भने तिम्री स्वास्नीको हाँसोमा ईष्र्यामिश्रित उपेक्षा थियो ।
अनि भोलिपल्टै उसको ईष्र्यामिश्रित हाँसोलाई साम्य पार्न मैले एउटा गहकिलै स्नेहोपहार लिएर दिउँसो १ बजेतिर उपस्थित भएको थिएँ । उसले मलाई ड्रइङरुममा नबसाएर सोझै बेडरुममा लगी । लगाएर देखाई । अनि लगत्तै हामी बेडरुम कार्यक्रममा व्यस्त भयौं । त्यस दिन आनन्दातिरेकमा तिम्री स्वास्नीले भनेकी थिई, ‘म त तिम्री हुनुपर्ने हगि ?’

मैले निर्मलालाई छोडेदेखि कुनै आफ्नो मनले खाएकी नारीले मलाई यसो भनोस् भन्ने प्रतीक्षामा थिएँ । सहज भएर ड्रइङ रुममा आएपछि चियाको घुट्को निल्दै मैले भनें, ‘यसरी कति दिन चल्ला ?’

‘जति दिन चल्ला चल्ला,’ सन्तुष्टिको निस्फिक्रीपनले ऊ हाँसी ।

‘के हामी सधैंभरिको लागि एकअर्काको हुन सक्तैनौं ? आऊ जाउँ छोडेर यो दुनियाँ र आफ्नो नयाँ दुनियाँ बसाउँ !’

‘के रे ?’ तिम्री स्वास्नी झस्किई र घोरिन थाली ।

‘के रे से रे होइन अब म तिमीविना एकक्षण पनि बाँच्न सक्तिनँ । के मेरो माया लाग्दैन र ?’

‘लाग्छ’ भनेर उसले मतिर चोरआँखाले हेरी र फेरि घोरिन थाली ।

निकैबेरसम्म तिम्री स्वास्नी र मेरो गलबद्दी भयो । ऊ अन्कनाउँदै रही म फकाउँदै रहें । अन्ततः मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भनें, ‘म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने ?’

‘कस्तो अबुझजस्तो कुरा गर्‍या म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु ? तिमी त उसै भेट भएका थियौ ।’

‘उसै !’ म अक्मकिएँ ।

‘अँ, उसै त हो नि !’ तिम्री स्वास्नी झर्केर शब्द–शब्द अँठ्याएर बोल्दै थिई ।

एक्कासि म झल्याँस्स भएँ । यस आकस्मिक, अप्रत्यासित र अकल्पनीय जवाफले गर्दा म ऊतिर एकछिनसम्म घोरिएर हेरिराखें । हेरिमात्र राखें । तर मगजमा कुनै कुरा फुरेन । ऊ भने मतिर हेर्न नसकेर भित्तातिर हेर्दै थिई, जहाँबाट तिम्रो फोटोले उसलाई हेर्दै थियो ।

क्षुब्ध मनस्थितिमा म त्यहाँबाट हिँड्न जुरूक्क उठें । उसले मेरो मनोभाव बुझेर सम्भ्रम चालले उठेर ढोकामा आई र आफ्नो सुडौल पाखुरा पखेटाझैं फिंजाएर भनी, ‘रिसाएको ? लोग्नेमान्छेहरू कति छिटो रिसाउँछन् । अहिले नजाऊ न, म फेरि चिया ल्याउँछु है ?’

‘जान देऊ फेरि आउँला ।’

‘हेर, शरीर जसलाई सुम्पे पनि मन त तिमीलाई नै सुम्पेकी छु । तापनि तिमी रिसाएर जाँदै छौ पक्का आउँदैराख्ने हो भने मात्र म बाटो दिन्छु । आउँदैराख्छु भन न ल ....... ल ....... ल भन न ।’

उसको अनुहारमा आह्वान तीव्रतासाथ टल्किँदै थियो ।

म सोच्दै थिएँ निर्मलाले पनि यसै भनेकी थिई, ‘त्यो त उसै भेट भएकी’ अनि तिम्री स्वास्नीले पनि यसै भनी, ‘तिमी त उसै भेट भएको ।’

तिम्री स्वास्नी र मेरी स्वास्नी दुवैले दिएको एउटै उत्तरले गर्दा म तुलनात्मक द्विविधामा परें । तिम्री स्वास्नीले शरीर तिमीलाई र मन मलाई सुम्पेको कुरा नितान्त तार्किक लाग्यो ।

वर्षदिन पूर्व निर्मलाले ‘उसै भेटेको’लाई शरीर सुम्पिन थाल्दा म टुप्लुक्क आइपुगेको थिएँ । ‘उसै भेटेको’ त उसै बेपत्ता भइहाल्यो फेला परी निर्मला । कुट्नसम्म कुटें, ओठ काटिएर रगत पनि बग्यो । ऊ हात जोरेर रूँदै माफी माग्दै रही । उसले प्रतिवाद गर्ने ठाउँ नै थिएन । भ्रमको धमिलो पर्दासम्म पनि भएको भए ऊ मसित उग्ररूपले बाझेर आफूलाई पतिब्रता सिद्ध गर्न खोज्ने थिई । तर प्रत्यक्षरूपमा समातिएपछि ऊ निरुत्तर भई । अझै कुट्ने थिएँ तर पल्लो कोठामा डेढ वर्षे छोरो गोपु बिउँझेर रून थालेको हुँदा कुटाई बन्द गर्नुपर्‍यो ।

‘को थियो त्यो ?’

बोलिन ।

‘को हो भन्या ?’

‘मेरो कोही होइन त्यो, उसै भेटिएको थियो, विश्वास गर्नुस् । अब म हजुरको पाउ छोडेर कतै जान्नँ ।’

‘कोही होइन । उसै भेटेको रे ! तैंले जानैपर्छ । उसै भेटिनेजति सबैलाई ल्याएर मेरो घर होटेल र रण्डीखाना बनाउने ?’ मैले जुठा प्लेट र चियाका खाली कपहरुतिर हेर्दै भनें ।

‘बरू मेरो हातखुट्टा भाँचिदिनुस् तर यो घरबाट ननिकाल्नुस्, मेरो हजुर ! म मर्छु । विश्वास गर्नुस् त्यो मेरो ...’

‘मलाई छैन विश्वास तँ रण्डीमाथि । जा निस्किहाल् ... अहिल्यै । नारायणघाट जाने बस भेट्टाउँछेस् । पैसा–सैसा केही बोकिस् भने काट्छु तँलाई । ड्राइभर–कन्डक्टर पनि भेटिएलान् उसै । तँमाथि दया गरेको यत्ति हो । निस्किहाल् भन्या ... नत्र अहिले चुपी झिकेर छाला तार्छु तेरो ।’

अनि ऊ गोपुलाई बोकेर घरबाट निस्किएकी थिई । ६ महिनासम्म प–पन्ध्र दिनमा निर्मलाका अनुनय–विनयपूर्ण चिठ्ठीहरू आउँदै राखे । अनि बन्द भयो । अहिले तिम्री स्वास्नी आफ्ना सुडौल पाखुराका पखेटा फिँजाएर ढोकामा उभिएकी छ । तिमीलाई थाहा छैन, त्यसो हुनाले ऊ अझै मेरो बाटो छेक्न तत्पर छे । अब यी पाखुरा स्नेहको होइन, स्वार्थको भरदिने पाखुरा भएका छन् । स्नेह र स्वार्थको दूरी धेरै त रहेनछ । एउटै दुष्टिकोणको पातलो पर्दाको वरिपरि दुवै बसेका रहेछन् । तिम्री स्वास्नी त तिम्री नै रहिछ, म त उसको रखौटा, नाठो, नटुवामात्र । अतः यी पाखुराहरूले अब मलाई बाँध्न सक्दैनन् ।

‘उसै भेटेको’ यी २ शब्द बीचमा बारम्बार कहिले तिम्रो अनुहार देखापर्थ्यो, कहिले गोपुलाई बोकेकी निर्मला देखा पर्थी ।

‘आउँछु भन न ल ... ल !’

‘ल,’ मुक्त हुन मैले वितृष्णासाथ भने ।

उसले मेरो गालामा म्वाइँ खाई र बाटो छोडिदिई । यो म्वाइँले मेरो गालामात्र होइन, मनसमेत पोल्यो र सोचें, यो मेरो माया होइन । यो त ‘उसै भेटेको’ लालसामात्र हो । केही समयपछि बिर्सिहाल्ने छेस् । अनि फेरि उही दालभात रूच्न थाल्नेछ । बिर्सनसक्ने क्षमता पुरूषमा भन्दा नारीमा बढी हुन्छ । अनि पो त सामान्यतः आत्महत्या गर्नेहरूमा नारीको भन्दा पुरूषको संख्या बढी देखिन्छ ।

बाहिर आएँ । क्यामेलियातिर हेरें । अब त्यहाँ फूल थिएनन्, पातैपात मात्र । रवीन्द्रनाथलाई सम्झें गीतैगीत मात्र । त्यहाँबाट म सरासर बस स्ट्यान्डतिर लागें ।

२ः३० भएको रहेछ ।

‘सिट छ ? नारायणघाट ।’
‘छ दाइ ! कतिवटा ?’

‘यताबाट एउटा, उताबाट दुइटा,’ अन्यमनस्क छु ।

‘उताबाट उतै किन्नुहोला, दाइ !’

‘एऽ ल? ठीक छ । कति बजे पुग्ला ?’
‘एघार बजे रातिसम्म पुगिहाल्छ नि !’

समय छ ।
यसबीच रत्नपार्क, भोटाहिटी, असन, नयाँसडक कताकता डुलें, को–कोसँग भेटें, के–के कुरा गरें, कुन्नि ? यो डुलाइभरि म निर्मलालाई भन्न उपयुक्त शब्द खोज्दै थिएँ । साढे ६ बजे बसमा चढ्दासम्म बल्ल–बल्ल २ वटा वाक्य बनाएँ ।
११ बजे राति बूढी सासूले भन्दा निर्मलाले नै ढोका उघार्ली अनि भनौंला ।

‘निर्मला, म उसै आएँ । भित्र आउन दिन्छ्यौ ?’

बस खोक्छ, खकार्छ, अनि चिच्याउँदै गुड्न थाल्छ ।

म सिटमा ढल्किनासाथ नारायणघाट पुग्छु र निर्मलाको आँसु पुछ्दै गोपुलाई जिस्क्याउन थाल्छु ।

(ब्राजाकीको कथा संग्रह ‘तिम्री स्वास्नी र म’बाट ।

कमेन्ट गर्नुहोस्