चितवन जिल्लामा रहेका ३४८ एचआईभी संक्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।
स्थानीय तहसँगको समन्वयमा उनीहरूको स्वास्थ्य बीमा गरिएको हो ।
एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरूको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् ।
स्थानीय तहले नीति तथा कार्यक्रममा राखेर उनीहरूको बीमा गरेका हुन् । संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
बीमा गरिएका परिवारमा १ भन्दा बढी समेत संक्रमित रहेका सापकोटाले बताए ।
जिल्लामा अहिले १ हजार ९२६ संक्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन् ।
सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये ४ बच्चा रहेका छन् । ८ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउन्डेसनका स्रोतव्यक्ति डा. युवानिधि बसौलाले जानकारी दिए ।
बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ कोरोना संक्रमण, ४ क्यान्सर, ५ क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् ।
रासस