दैलेखको नारायण नगरपालिका– ९ का दिनेश थापा गत मंसिर १३ गते कोहलपुरबाट सुर्खेत हुँदै दैलेख जाँदै थिए ।
आफ्नै नगरपालिकामा पोल्ट्रीफार्म सञ्चालन गर्दै आएका थापा कुखुरालाई आवश्यक पर्ने दाना किन्नका लागि नेपालगञ्ज गएर फर्किएका थिए ।
सुर्खेतमा खाजा खान मोटरसाइकल पार्किङमा राखेर नजिकैको खाजा पसलमा छिरे । तर फर्किँदा राखेको ठाउँमा मोटरसाइकल थिएन ।
कसैले अर्कै ठाउँमा लगेर राखिदिएको छ कि भनेर यताउता खोजे, तर भेटिएन ।
भेटियोस् पनि कसरी ? मोटरसाइकल चोरी भैसकेको रहेछ । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए ।
निकै मन परेको पल्सर २२० मोटरसाइकल दुःख गरेर किनेका थिए ।
उनी निराश भएर सार्वजनिक बस चढी दैलेख फर्किए ।
उनले मोटरसाइकल भेटिने आशा मारिसकेका थिए । तर ३ दिनअघि फोनमा शुभ समाचार सुने ।
‘आशा मारेको थिएँ । अर्को मोटरसाइकल किन्नका लागि पैसा जम्मा गर्दै थिएँ,’ थापाले लोकान्तरसँग भने, ‘३ दिनअगाडि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाबाट तपाईंको मोटरसाइकल हामीले भेट्टाएका छौं, लिन आउनुस् भनेर फोन आयो । मेरो मोटरसाइकल काठमाडौंमा भेटिएको छ भन्दा एकचोटी त पत्यार नै लागेन ।’
त्यसपछि उनी मोटरसाइकल लिन दैलेखबाट काठमाडौं आए ।
***
यता ट्राफिक प्रहरीले माघ ३ गते बेलुका कलंकीमा सवारी साधनहरूको बिलबूक तथा लाइसेन्स चेकजाँच गरिरहेको थियो ।
त्यही क्रममा लु ४५ प ४३२७ (नक्कली नम्बर प्लेट)को २२० सीसी पल्सर मोटरसाइकलमा एक जना आए ।
ट्राफिक प्रहरीले लाइसेन्स र बिलबूक माग्यो, तर ती व्यक्तिले आफू कलंकी नजिकै बस्ने भएकाले बिलबूक र लाइसेन्स लिएर आउँछु भनेर मोटरसाइकल त्यहीँ छाडेर गए । तर, कहाँ आउनु ?
२ दिनसम्म कोही नआएपछि प्रहरीलाई शंका लाग्यो ।
त्यसपछि प्रहरीले उक्त मोटरसाइकलको विवरण खोजी गर्यो । खोजीका क्रममा पत्ता लाग्यो उक्त मोटरसाइकलको वास्तविक नम्बर भे १० प १०३९ रहेछ । उक्त मोटरसाइकल हराएको भनी सुर्खेतमा उजुरी पनि परेको रहेछ ।
त्यसपछि हो प्रहरीले दिनेशलाई फोन गरेको ।
चोर त उम्कियो, तर मोटरसाइकल काठमाडौं ल्याउन नपाउँदै प्रहरीको हात लाग्यो ।
***
महाशाखामा पुस महिनामा मात्रै ६० वटा मोटरसाइकल हराएको उजुरी परेको थियो, त्यसमध्ये २९ वटा मोटरसाइकल फेला परेको छ ।
फेला परेकामध्ये २४ वटा मोटरसाइकल सोमवार वास्तविक धनीलाई बोलाएर जिम्मा लगाइएको छ ।
मोटरसाइकल भरपर्दो पार्किङमा नराख्ने तथा पर्याप्त सुरक्षा सावधानी नअपनाउने गर्दा चोरी हुने गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
‘तपाईंहरूले लाखौं खर्चेर किनेको सवारी साधनमा सानो लक राख्दा चोरी हुनबाट जोगिन सक्छ,’ एसएसपी भट्टराईले भने ।
महाशाखाले पीडित सहायता इकाइबाट सादा पोशाकमा खटाएको विशेष अप्रेशन टोलीले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकलहरू बरामद गरेको हो ।
पुस महिनामा ५ जना चोरलाई पक्राउ गरेर कानूनको दायरामा ल्याइएको महाशाखाले जनाएको छ ।
गगन अर्याल
लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।