प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक आन्दोलनको धाकधक्कु नदेखाउन नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन् ।
‘साकाहारी आन्दोलनले हुँदैन युवाहरू, बाघजस्तो झम्ट, बाघ जस्तो झम्टिने कसलाई ? नेपाली जनतालाई ? हिंसा खोजेको छैन रे ? के खोज्या ? तर म भन्न चाहन्छु, एउटा जमाना हुन्छ कुनै पनि चिजको,’ सोमवार दाङमा आयोजित नेकपाको सभामा ओलीले प्रचण्डलाई भने ।
प्रचण्डलाई धाकधक्कु नदेखाउन आग्रह गर्दै ओलीले एउटा किस्सा सुनाए–
एउटा तिल्के गोरु थियो, त्यो गोरुले अर्को गोरु देख्दै झम्टिहाल्ने, सिंगौरी खेल्ने, भुइँ खोर्सने ... । त्यसको फाँ फूँ दखेर अरू डराउने । एकदिन अलि नटेर्ने खालको बहर गोरू परेछ, घड्याप्प जुधेको बुढो तिल्के गोरुको सिंग भाँचियो । तिल्केलाई रिस त बेस्सरी उठेको थियो सिंग भाँचिएकोमा, तर जुध्न सकेन ।
यी तिल्केहरू पनि त्यस्तै हुन्, यिनले फाँ फूँ गर्दैगर्छन्, फुक्लिएको सिंग लिएर हिँड्दै गर्छन् । यिनका सिंग फुक्लिसके, धाक नलगाए हुन्छ । अशान्ति मच्चाउने यिनीहरूसँग क्षमता पनि छैन, दम पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, नेपाली जनता सचेत भइसकेका छन् । धाकधक्कु नलगाए हुन्छ, तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याटभ्याट नगरे हुन्छ, कोही टेर्नेवाला छैन ।
ओलीले प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको दाबी गरे ।
‘हामीले बिल्कुल संविधानसम्मत ढंगले, संविधानबमोजिम प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशका लागि जनतामा जाने भनेका छौं, उहाँहरू आत्तिरहनुभएको छ,’ ओलीले भने ।
लोकान्तर संवाददाता