कृषकका खेतमै धारा

झापाको कूल खेतीयोग्य जमीनमध्ये ५३ प्रतिशत भू–भागमा सिँचाइ सुविधा छ ।

बाँकी भू–भागमा सिँचाइ गर्न अझै पनि आकासेपानीकै भर पर्नुपर्ने वा वैकल्पिक विधि (मोटर/पम्पसेटको प्रयोग गर्दै पानी निकालेर प्रयोग) बाट सिँचाइ गर्नुपर्ने बाध्यतामा छन् झापावासी ।


Advertisement

आकासेपानीको भर पर्दै बर्खायाममा जसोतसो खेती गरे पनि हिउँदको समयमा खेती गर्न अझै पनि हम्मेहम्मे पर्छ दक्षिणी झापाका कतिपय कृषकलाई । सिँचाइको अभावका कारण नचाहेर पनि कतिपय कृषकले हिउँदमा खेत बाँझै राख्दै आएका छन् । 

ग्रामीण क्षेत्रमा अहिले पनि विद्युत् सेवाको सहजै उपलब्धता नहुनुले पनि कृषकलाई समस्या थपेको हो । सिँचाइका लागि मोटर राख्न विद्युत् नहुँदा पम्मसेटको प्रयोग गर्नुपर्ने बाध्यतामा हुन्छन् उनीहरु । पम्पसेटका लागि आवश्यक पर्ने डिजेलको भाउ वर्षेनि महँगिदै गएपछि आम्दानीभन्दा खर्च बढी हुने भएकाले कृषकले अहिले हिउँदे खेती गर्न छाडेका छन् । 


Advertisement

यसैबीच जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय झापाले बाह्रदशी गाउँपालिकाका कृषकलाई तरकारी खेतीमा प्रोत्साहन गर्दै आत्मनिर्भर बन्न प्रेरित गरेको छ । गाउँपालिका–१ स्थित खयरबारीमा झण्डै २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ग्रामीण सिँचाइ योजना सञ्चालनमा ल्याउन लागेको हो । 

रु एक करोड २० लाखको लागतमा नयाँ प्रविधिबाट सोलार सिँचाइ योजना सञ्चालनमा ल्याउन लागिएको कार्यालयका प्रमुख कृष्णप्रसाद राजवंशीले बताए । उनले भने, 'यो योजना सोलार प्रविधिबाट सञ्चालन हुन्छ । यसमा खानेपानीको ट्याङ्की जस्तै ओभरहेड ट्याङ्की निर्माण गर्दै कृषकका खेतखेतमा सोझै पाइपको माध्यमबाट पानी पुर्‍याइन्छ ।'

यो योजना सञ्चालनमा आएपछि परम्परागत सिँचाइ प्रणालीमा जस्तो कुलो खनिरहनु पर्दैन प्रमुख राजवंशीले भने, 'अब घरमा खानेपानीको धारा जडान गरेजस्तै कृषकको खेतखेतमा धारा जडान गरिन्छ । यसबाट हिउँदको समयमा कृषकलाई तरकारी खेती गर्न सहज हुन्छ ।'

गाउँपालिकामा नै पहिलोपटक नयाँ प्रविधिको सिँचाइ योजना सञ्चालन आउने भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । भागुडुब्बा सोलार सिँचाइ उपभोक्ता समिति गठन गरेर काम अघि बढाइएको बाह्रदशी गाउँपालिका–१ का वडाध्यक्ष शम्भुसिँह राजवंशीले बताए । 'अहिले मोटर बोरिङ गाड्ने काम भइरहेको छ', अध्यक्ष राजवंशीले भने, 'सोलारको माध्यमबाट ६/८ इन्चको पाइपबाट पानी निकालेर ओभरहेड ट्याङ्कीमा जम्मा गरिन्छ । सोही पानी ५/४ इञ्चको पाइपबाट कृषकका खेतमा सोझै पाइप लगाएर पुर्‍याइन्छ ।' 

खेतमा नै धारा राखेपछि कृषकले अब आफूलाई पानी चाहिएको समयमा सदुपयोग गर्न सक्ने राजवंशी बताउनुहुन्छ । बोरिङ गाडी सकेपछि कृषकका खेतखेतमा धारा जडानको काम शुरु हुने उनको भनाइ छ । चालीस हजार लिटर पानी अटाउन सक्ने ओभरहेड ट्याङ्की निर्माण गर्दै कृषकलाई पानी वितरणको तयारी हुँदैछ वडाध्यक्ष राजवंशीले भने, 'सिँचाइका लागि खेतखेतमै धारा जडान हुने भएपछि यस क्षेत्रका कृषक अहिले धेरै उत्साहित देखिएका छन् ।' 

विशेषगरी हिउँदको समयमा बाँझिने जमीनमा अब कृषकले लटरम्मै तरकारी फलाउने विश्वास गरिएको कार्यालयका प्रमुख राजवंशीले बताए । त्यसो त यसखाले सिँचाइ योजना तराईमा भन्दा पहाडी क्षेत्रमा बढी प्रयोगमा आएको छ । झापाका लागि पनि यो प्रविधि नयाँ र नौलो भने होइन । दमक नगरपालिकामा यसअघि नै यसखाले योजना सञ्चालनमा आएको छ । 

बुद्धशान्ति गाउँपालिकाको बुधबारे क्षेत्रमा पनि ओभरहेड पानी ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको डिभिजन प्रमुख राजवंशीको भनाइ छ । केही समयपछि त्यस क्षेत्रमा सोलार सिँचाइ योजनाअन्तर्गत पानी वितराण गरिने भनिएको छ । दमक क्षेत्रमा यस प्रविधिबाट पानी वितरण गर्दा प्रभावकारी देखिएपछि बुद्धशान्ति र बाह्रदशी गाउँपालिकामा सोलार सिँचाइ योजनाको काम अघि बढाएको कार्यालयको भनाइ छ ।

झापामा विशेषगरी मझौला सिँचाइ आयोजना सञ्चालनमा छन् । आर्थिक वर्ष २०७७/७८ का लागि रु २५ करोडको योजना जिल्लामा सञ्चालनमा छन् । प्रदेश सरकारमार्फत सञ्चालित केही आयोजनाको काम यसै वर्ष सम्पन्न हुने भए पनि केही योजना बहुवर्षीय रहेको कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट समेत झापामा केही बहुवर्षीय ठूला सिँचाइका योजना सञ्चालनमा रहेको उनको भनाइ छ । 

झापामा सोलार सिँचाइका योजनाबाहेक मेचीनगर–१५ मा पालिया पूर्व सिँचाइ आयोजना, मेचीनगर–८ मा नै निन्दा राजपैनी सिँचाइ आयोजना, बुद्धशान्तिको बुधबारेमा हडिया फूलबास सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना, हल्दिबारी–३ हर्चनामा हर्चना कृषक सिँचाइ आयोजना सञ्चालनमा छन् । 

त्यस्तै झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकाको तोपगाछीमा भुतलुङ सिँचाइ आयोजना, बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनालगायत सञ्चालनमा छन् । जिल्लामा सिँचाइका लागि साना ठूला ७० वटाभन्दा बढी योजना दर्तामा रहेको र केही आयोजनाले पानीसमेत वितरण गरिरहेको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

झापामा सञ्चालनमा रहेका योजनाको काम सम्पन्न गर्दै पानी वितरण शुरु गरेपछि झापाको ८० प्रतिशतभन्दा बढी भू–भागमा सिँचाइ पुग्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय झापाले जनाएको छ ।

जिल्लाको कूल खेतीयोग्य जमीन ९९ हजार हेक्टर भए पनि एक हजारभन्दा बढी हेक्टर क्षेत्रफल उत्पादन नै नहुने गरी बाझिएको छ । बाँकी रहेको ९८ हजार हेक्टर क्षेत्रफलमध्ये पनि ९० हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ ।

झण्डै तीन हजार हेक्टर क्षेत्रफल प्लटिङमा परिणत भएको छ । अझ एक बिघा जमीन प्लटिङ गर्दा आसपासका १५ देखि २० बिघा जमीनलाई प्रत्यक्ष असर गर्ने गरेको बताइएको छ । 

विशेषगरी शहरी क्षेत्र र बजार आसपासका क्षेत्रमा प्लटिङ गर्ने परिपाटी बढेका कारण खेतीयोग्य जमीन घट्दै गएको हो । अझ युवा पुस्ता कृषि कर्मप्रति आकर्षित नहुनुले पनि खेतबारी बाझिने समस्या छ नै ।

त्योभन्दा ठूलो समस्याका रुपमा सिँचाइ भएकाले कृषकलाई कृषि पेशामा नै टिकाइराख्न र आयआर्जनको दरिलो स्रोत बनाउन कार्यालयले नयाँ प्रविधिबाट कृषकको आवश्यकता पूरा गर्न पहल शुरू गरेको हो ।

बाह्रदशी गाउँपालिकाको खयरबारीमा पनि सोलार सिँचाइ आयोजनाको काम सम्पन्न भएपछि त्यस क्षेत्रका कृषकलाई तरकारी खेतीमा सहज हुने अपेक्षा गरिएको छ । आयोजनाको काम आर्थिक वर्ष २०७८/७९ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सुरेन्द्र भण्डारी​,रासस
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्