अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध दोस्रोपटक लागेको महाअभियोगलाई टुंगोमा पुग्न नदिनका लागि ४५ रिपब्लिकन सिनेटरहरूले सुनुवाइ शुरू हुनुअघि नै त्यसविरुद्ध मतदान गरेका छन् ।
तर ५५ जना सिनेटरले सुनुवाइ अघि बढाउन मत दिएका छन् । सुनुवाइ त शुरू भएको छ तर डेमोक्रेटहरूले महाअभियोग पारित गराउनका लागि ६७ मत ल्याउन निकै मुश्किल देखिन्छ ।
गत जनवरी ६ मा संसद् भवनमा भीडलाई आक्रमण गर्न उक्साएको आरोपमा ट्रम्पलाई तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो । सिनेटरहरूले मंगलवार उनीविरुद्धको महाअभियोगको सुनुवाइ थाले ।
केन्टकीको प्रतिनिधित्व गर्ने सिनेटर र्यान्ड पलले सुनुवाइको वैधतालाई चुनौती दिए ।
ट्रम्प राष्ट्रपति नरहेकाले उनीमाथि महाअभियोग चलाउँदा संविधानको उल्लंघन हुने पलको तर्क छ ।
सुनुवाइका लागि मत दिने पाँचजना रिपब्लिकनहरू ट्रम्पका पहिलेदेखिका आलोचक हुन् । माइनकी सुसन कोलिन्स, अलास्काकी लिसा मुर्कोव्स्की, युटाहका मिट रोम्नी, नेब्रास्काका बेन सास्से र पेन्सिल्भेनियाका प्याट टूमीले ट्रम्पविरुद्ध मत दिएका हुन् ।
एजेन्सी