राजधानी काठमाडौंमा अवस्थित कपन चर्चित नाम हो । केही वर्षयता कपन क्षेत्र घना बस्ती र जनसंख्याले भरिएको छ । त्यसैले होला कपनमा आजकाल व्यापार व्यवसायको चहलपहल तीव्र देखिन्छ ।
त्यस क्षेत्रमा देखिने विभिन्न व्यापार व्यवसायको चहलपहलबारे त तपाईं जानकार नै हुनुहुन्छ होला । तर त्यही कपन क्षेत्रमा अहिले एउटा गज्जबको व्यापार फस्टाइरहेको शायद तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ ।
विगत केही महिनादेखि कपनको सरस्वतीनगरमा फस्टाइरहेको त्यो व्यापार हो, चियाको । लकडाउनकै बीचमा यो चिया पसल फस्टाउन शुरू गरेको हो । लकडाउन हुन केही अघि मात्र यो सञ्चालनमा आएको थियो ।
चिया सुन्दा सामान्य लाग्न सक्छ । तर कपनमा पाइने चिया सामान्य छैन । स्वाद र चिया राखेर दिइने कपका कारण कपनको चिया पसलप्रति आजकल विशेष आकर्षण बढेको हो ।
शहरका विभिन्न कुना कन्दरामा रहेका अरू पसलले जस्तो कपनको चिया पसले ग्लासमा राखेर चिया दिँदैन ।
यो पसलले चियालाई मट्कामा राखेर दिन्छ । मट्का माटोबाट बनेको हेर्दै आकर्षक कप हो । यो कप भक्तपुरबाट ल्याइन्छ ।
यो पसल बिहान ७ः३० देखि बेलुका ८ः०० सम्म जागा रहन्छ । दिनैभरि त्यहाँ चियाका पारखी खासगरि युवाहरूको भिड लाग्छ ।
चिया पसलभित्र कोही हातमा गिटार लिएर चियाको चुस्की लगाउँदै गीत गाउँछन्, कोही साथीलाई कुरेर बसिरहेको भेटिन्छन् ।
चिया पसलमा भेटिएका केही युवाले चिया पिउँदापिउँदा कहिलेकाहिँ त एकहजार रुपैयाँको बिल उठ्ने गरेको प्रसंग सुनाए ।
स्वाद धेरै मनपर्ने भएकाले आफूहरू सो पसलमा चिया पिउन आउने गरेको ग्राहकहरूको भनाइ छ ।
यो चिया पसल न्यून लगानीमा सञ्चालनमा आएको रहेछ । थोरै लगानीमा शुरू गरेको चिया पसल छोटो समयमै लोकप्रिय बनेकोमा सञ्चालक र त्यहाँ कामगर्ने स्टाफहरू खुशी देखिन्थे ।
यो चिया पसलमा दैनिक तीन सयको हाराहारीमा ग्राहक आउने गरेको कर्मचारीले बताए ।
चियाका लागि दैनिक चालिस लिटर दूध खरिद गरिँदो रहेछ । यसले गर्दा किसानको पनि व्यापार बढ्ने गरेको सञ्चालकले हामीसँगको कुराकानीमा बताए ।
यो चिया पसलबाट दैनिक १० हजार रुपैयाँ बराबरको व्यापार हुने गरेको सञ्चालकको भनाइ छ ।
चियाको मूल्य २५ रुपैयाँबाट शुरू भएर ५५ रुपैयाँसम्म कायम गरिएको छ ।
ग्राहकको रोजाइअनुसार चिया पकाउने र दिने गरिन्छ ।
शुरूमा पसलले दुईवटा कोठा मात्र भाडामा लिएर सेवा शुरू गरेको थियो । तर ग्राहकको भीड बढेपछि अहिले चारवटा कोठा भाडामा लिइएको छ । तर पनि भीड सम्हाल्न सञ्चालकलाई हम्मेहम्मे परेको देख्न सकिन्छ ।
मेहनत गर्न सके नेपालमै धेरै अवसर छ भन्ने यो सानो व्यवसायले पुष्टि गरेको सञ्चालकले लोकान्तरसँगको कुराकानीमा बताए ।
हेर्नुहोस्, भिडियो रिपोर्ट :
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।