नेकपा नेतृ रामकुमारी झाँक्रीलाई कानूनको गलत दफा प्रयोग गरेर पक्राउ गरिएको टिप्पणी कानूनविद् र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले गरेका छन् ।
बिहीवार अपराह्न झाँक्रीलाई गिरफ्तार गर्नुअघि प्रहरीले राज्यविरुद्धका कसूरअन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको भन्दै पूर्जी थमाएको थियो । त्यसलगत्तै उनलाई पक्राउ गरी अपराध महाशाखा लगिएको छ ।
पत्रकार महासंघका पूर्व अध्यक्ष एवं अभिव्यक्ति स्वतन्त्रताका अभियान्ता तारानाथ दाहालले फौजदारी कसूरको दफा ५८ को गलत प्रयोग शुरू भएको लोकान्तरलाई बताए ।
उनले यो दफा पहिलोपटक प्रयोग गरिएको समेत जानकारी दिए ।
'झाँक्रीलाई पक्राउ गर्न जसरी दफा ५८ को प्रयोग गरिएको छ, त्यो सरासर गलत छ,' दाहालले भने, 'उक्त दफामा राष्ट्रपति वा संसदलाई काम गर्नबाट रोक लगाउन वा वञ्चित गर्न, कुनै खास तरिकाबाट काम गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन नमिल्ने उल्लेख छ ।'
दाहालले झाँक्रीले कुनै किसिमबाट संसद् वा राष्ट्रपतिलाई काम गर्न रोकेको या आफ्नो हिसाबले काम गराउन दबाब दिएको नदेखिएको बताए ।
'जुन काम गरेकै छैन, त्यसमा कसरी दफा उपदफा लगाउन पाइन्छ ?' दाहालले प्रश्न गरे, 'बरू यो दफा प्रधानमन्त्रीको हकमा लागू हुन्छ । उनले संसद्लाई आफ्नो हिसाबले काम गर्न लगाए । संसद्ले काम गरेन भनेर विघटन गरे ।'
दाहालले झाँक्रीको गिरफ्तारीलाई राज्यको 'श्वेतआतंक' भनी टिप्पणी गरे ।
'यो राज्यको श्वेत आतंक हो,' उनले भने, 'कानूनको दफालाई राज्यले दुरुपयोग गरेको छ । सार्वजनिक संस्था र संस्थाको नेतृत्व गर्ने व्यक्तिमाथि टिप्पणी र आलोचना हुन सक्छ । त्यो अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो हो ।'
दाहालले जस्तै संविधानविद् भीमार्जुन आचार्यले पनि गलत दफा प्रयोग गरेर झाँक्रीलाई पक्राउ गरिएको जिकिर गरे ।
'जसरी दफा ५८ को प्रयोग गरिएको छ, त्यसमा राष्ट्रपति वा संसद्लाई काम गर्न नदिने या आफ्नो तरिकाबाट काम गर्न बाध्य बनाउनेलाई ७ वर्षसम्म कैद गर्न सक्ने व्यवस्था गरिएको हो । तर झाँक्रीको हकमा त्यो अभियोग मिल्दैन,' आचार्यले भने ।
आचार्यले व्यक्तिगत तहमा कसैमाथि टिप्पणी गरेको भए गालीबेइज्जतीको मुद्दा लाग्न सक्ने बताए । 'गालीबेइज्जतीको कानून नै अलग छ । झाँक्रीले गरेको टिप्पणीले कसैको मानमर्दन भएको भए गालीबेइज्जतीको मुद्दा लगाउन सकिन्थ्यो । यहाँ राज्यविरुद्धको कसूर भनिएको छ ।'
झाँक्रीको गिरफ्तारीलाई आचार्यले 'राज्य आतंक' भनेर टिप्पणी गरेका छन् ।
के छ दफा ५८ मा?
मुलुकी अपराधसंहिताको राज्यविरुद्धका कसूरअन्तर्गत दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ ।
'कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमले बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन,' दफा ५८ को उपदफा (१) मा भनिएको छ ।
उपदफा (२) मा कारवाहीसम्बन्धी व्यवस्था छ ।
'उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ,' उपदफा २ मा भनिएको छ ।
सरकारी पक्षका कानूनविज्ञ भन्छन् –'थाहा छैन'
संविधानसभाका अध्यक्ष रहिसकेका ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङले झाँक्रीलाई पक्राउ गर्न प्रयोग गरिएको कानूनको दफाका बारेमा आफू अनविज्ञ रहेको टिप्पणी गरे ।
नेम्वाङ यसअघिका दुवै संविधान सभाका अध्यक्ष थिए । वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङले लोकान्तरलाई भने, 'म संविधान सभाको अध्यक्ष हुँदैमा सबै कुरा मलाई थाहा हुन्छ र ?'
त्यस्तै प्रधानमन्त्रीका कानूनी सल्लाहकार बाबुराम दाहालले पनि झाँक्रीलाई गरिएको पक्राउका बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
दाहालले लोकान्तरसँग भने, 'यसबारेमा मलाई नसोध्नुस् । मलाई केही थाहा छैन ।'
प्रधानमन्त्रीको ठाडो आदेशमा रामकुमारीलाई पक्राउ गरियो : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
लोकतन्त्रको पक्षमा प्रखर विचार राख्नेलाई पक्राउ गर्ने नियत देखिएको उनले दाबी गरे ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार मगर संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रपतिविरुद्ध गलत बोल्यो भन्ने बहाना बनाए प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।
‘प्रहरीले हिजोदेखि नै पक्रिन बल गरेको थियो, तथाकथित राष्ट्रपतिविरुद्ध गलत बोल्यो भनेको नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्रनै पर्यो, जसरी भए पनि पक्रन भनेको थियो,’ प्रचण्डले भने, ‘हामीले रोक्न बल गर्यौं, अहिले भर्खर खबर आयो, उनीहरूले कमरेड रामकुमारी झाँक्रीलाई जबरजस्ती पक्राउ गरेर लगे ।’
प्रचण्डले झाँक्रीको पक्राउ कम्युनिस्ट पार्टीका निम्ति पनि चुनौती भएको बताए ।
‘उहाँ त छिट्टै छुटी हाल्नुहोला तर उनीहरूको नियत त देखियो नि ! कहाँ प्रहार गर्न खोजेका छन् ? लोकतन्त्रका पक्षमा प्रखर विचार राख्नेका विरुद्ध तालाचाबी लगाउन षड्यन्त्र भएको छ । यसविरुद्ध हामीले निर्णय गर्छौं,’ प्रचण्डले भने ।
के बोलेकी थिइन् झाँक्रीले ?
केही दिनअघि गोरखामा आयोजित एक सभामा सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई पक्राउ गरिएको हो ।
‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुख सुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’
आफूलाई पक्राउका लागि प्रहरीले निगरानी गरेको समाचार प्रकाशित भएपछि बुधवार काठमाडौंमा आयोजित सभामा पनि झाँक्रीले सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग (महिला/पुरुष) नहुने भन्दै विरोधमा बोल्न पाइने बताएकी थिइन् ।
झाँक्रीले बुधवारको सभामा भनेकी थिइन्, ‘कार्यकारी प्रधानमन्त्रीको असिस्टेन जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षी बनेको पात्रका विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रका विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । पदमा कुनै लिंग हुँदैन सार्वजनिक पद हो ।’
कसरी गरियो गिरफ्तार?
झाँक्रीलाई पक्राउ गर्ने तयारी मंगलवारबाट नै शुरू भएको थियो ।
बुधवार राजधानीमा आयोजित विरोध सभामा झाँक्री वक्ताको रूपमा उपस्थित थिइन् । प्रहरी स्रोतका अनुसार बुधवारको विरोध सभापछि प्रहरीले झाँक्रीमाथि निगरानी बढाएको थियो ।
बिहीवार बिहानदेखि शंखमूलस्थित झाँक्रीको निवास वरिपरि सादा पोशाकका सुरक्षाकर्मीहरू परिचालन गरिए । झाँक्रीले लोकान्तरसँग भनेकी थिइन्, 'पक्राउ पूर्जी लिएर आएदेखि कानूनको सम्मान गर्दै गिरफ्तारी दिन्छु । तर यत्तिकै आइज भनेको भरमा कहीं जान्न ।'
त्यसपछि झाँक्रीलाई पक्राउ गर्ने तयारी रहेको बुझेपछि नेकपा निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताहरू झाँक्री निवासमा नाराबाजी गर्दै पुगे । प्रहरीले पनि आफ्नो उपस्थिति बढायो ।
त्यसपछि झाँक्रीलाई पक्राउ पूर्जी दिइयो । पूर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिइन् । गिरफ्तारीको विरोधमा उनका समर्थकहरूले नाराबाजी गरेका थिए ।
झाँक्रीको प्रतिक्रिया - मैले बनाएको सरकारले नै मलाई गिरफ्तार गर्यो
गिरफ्तारी दिने बेलामा झाँक्रीले आफू संसदीय दलको सदस्य भएको र सरकार बनाएको पार्टीको सरकारले नै आफूलाई गिरफ्तार गरेको टिप्पणी गरिन् ।
प्रहरीले पक्राउ पूर्जी थमाएपछि घरबाटै गिरफ्तारी दिनुअघि समर्थकहरूलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘जुन पार्टीमा म आवद्ध थिएँ, जुन पार्टी संसदीय दलको म सदस्य थिएँ, त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमले गर्दा संविधानमाथि बलात आक्रमण भएको छ ।’
कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेको भए पनि फेरि लड्नुपर्ने अवस्था आएको झाँक्रीले बताइन् । ‘७ दशक लामो क्रान्तिको इतिहासमा धेरै कुरा प्राप्त गर्यौं भन्ने लागेको थियो । चुनावमा कम्युनिस्ट पार्टीले स्पष्ट बहुमत पनि ल्याएको थियो ।’
प्रतिगमनको विरुद्ध सडकमा संघर्षरत रहँदै गर्दा न्यायप्रेमी जनसमुदायलाई संगठित गर्ने अभियानमा व्यक्त गरेका विचारका आधारमा केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले राज्य विरुद्धको कसूरको पक्राउ पूर्जी जारी गरेको उनले बताइन् ।
‘कानूनको परिपालन गर्ने नागरिक भएका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु,’ उनले भनिन्, ‘राज्यको आदेश तामेल गर्ने सन्दर्भमा आएका प्रहरीहरूलाई धन्यवाद दिन चाहन्छु ।’
ईश्वर अर्याल
पत्रकार अर्याल लोकान्तरका लागि राजनीति र समसामयिक घटनाक्रमका विषयमा रिपोर्टिङ गर्छन् ।