मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपाली समाजमा सकारात्मकता, सदाचार र नैतिक आचरण स्खलित हुँदै गएको छ । व्यक्ति, परिवार, समाज र संगठन सबै तहमा नैतिक व्यवहारको महत्त्व बढेर गएको छ ।
जब नैतिकता र सदाचार ह्रास हुन्छ, राज्य प्रणाली र मानव सभ्यता नै धरापमा पर्दछ । प्रश्न उठ्न सक्छ – नैतिक आचरण र सदाचारको निर्माण राज्य संरचना र नीतिले मात्र गर्नसक्छ ? त्यसो होइन नीति, संरचना र दण्डविधान अन्तिम संयन्त्र मात्र हुन् ।
सामाजिक संगठन, सामाजिक अन्तर्क्रिया र व्यवहारले नै नैतिकता र सदाचार संस्थागत गर्दै लाने हो । जीवनलाई मर्यादित, जिम्मेवार, कर्तव्यबोधी र अनुशासित बनाउने पृष्ठ आधारमा सामाजिक संस्थाहरू रहन्छन् । अहिले नेपाली समाजले त्यही मागिरहेको छ ।
प्रश्न उठ्नसक्छ – सामाजिक संस्था केलाई भन्ने ? यस्ता औपचारिक अनौपचारिक संरचना जसले व्यक्तिहरूको व्यवहार र सम्बन्धलाई व्यवस्थित गर्ने औपचारिक अनौपचारिक काम गर्दछन्, तिनै सामाजिक संस्था हुन् ।
सामाजिक संस्थामा व्यक्तिहरू समेटिएका हुन्छन्, उनीहरूको चाहना मुखरित हुन्छ, केही मानकहरू स्थापना भएका हुन्छन्, त्यहाँ केही सामाजिक आवश्यकता पनि पूरा गरिन्छ । सामाजिक संस्थाका स्वरूपमा परिवार, सरकार, शैक्षिक निकाय, राजनैतिक दल, आर्थिक संस्था र धार्मिक अनुष्ठानहरू पर्दछन् ।
व्यक्तिले व्यवहार गर्ने पहिलो र सबैभन्दा शक्तिशाली संस्था परिवार हो । आमाबुवा, बालबच्चा लगायतका सदस्य रहेको समुदायको प्रारम्भिक इकाई नै परिवार हो । यो सबैभन्दा मौलिक र आधारभूत सामाजिक संगठन हो । परिवारमा सदस्यहरू निर्धारित भूमिका र जिम्मेवारीमा रहेर एकअर्कामा माया, प्रेम, सद्भाव र सुखदुःख साटासाटका साथ एकअर्काको आवश्यकता पूरा गर्दछन् ।
परिवारले व्यक्तिको जैविक, भौतिक, सांस्कृतिक र मनोवैज्ञानिक आवश्यकता पूरा गर्दछ । मूल्य, मान्यता, मर्यादा, मापदण्ड स्थापना, परिमार्जन र नियन्त्रण, हस्तान्तरणजस्ता कामहरू पनि परिवार तहमा गरिन्छ ।
परिवार यसको प्रकृति अनुसार ठूलो सानो, पितृसत्तात्मक वा मातृसत्तात्मक, वैवाहिक वा अवैवाहिक हुनसक्छन् । तर यसका आधारभूत काम भने उही हुन्छ । परिवारका प्राथमिक र सहायक कामबाट नै व्यक्तिको व्यवहार, आचरण र प्रवृत्ति निर्धारण हुन्छ । भनिन्छ गर्भदेखि नै आमाको व्यवहारबाट व्यक्तिको स्वभाव र क्षमता निर्धारण हुँदै आउँछ । बच्चा जन्मेपछि आमाको काख र पारिवारिक परिवेशबाट उसले जति सिक्छ, त्यति जीवनमा कहिल्यै सिक्दैन ।
परिवारबाट नै माया, प्रेम, आदर, कर्तव्य, जिम्मेवारी जस्ता कुराहरू सिकिने भएकाले परिवार नै शिक्षा, सदाचार र नैतिकताको पहिलो सबैभन्दा सशक्त पाठशाला हो । त्यसैले परिवार र परिवेश जस्तो छ, व्यक्तिको आनीबानी र जीवनवृत्ति करीब त्यस्तै हुन्छ । परिवारले सिकाएकोे कुरा नै बालकले वयस्क भएपछि स्वाभाविक रूपमा अपनाउने गर्दछ । परिवारको सिकाइ, अनुभूति र सुखदुःखले व्यक्तिको व्यवहार निर्दिष्ट हुन्छ ।
परिवारमा पुस्ता–पुस्ताबाट हस्तान्तरण हुँदै आएका विचार र व्यवहार नै परिवारका मूल्यमान्यताका रूपमा रहन्छन् । यसैबाट व्यक्तिको चरित्र निर्धारण हुन्छ । त्यसैले कुनै व्यक्ति असल वा खराब बनाउन परिवारले धेरै ठूलो भूमिका खेलेको हुन्छ । परिवारको पृष्ठभूमि, सोचवृत्ति, पेशा व्यवसाय, रहनसहनजस्ता कुराले व्यक्तिले आफू कस्तो हुने, के गर्ने भन्ने चित्र कोर्दछ । त्यसैबाट व्यक्तिको भविष्य, दृष्टिकोण र सोचवृत्ति निर्धारण हुन्छ । परिवारका व्यवहार, परम्परा र संस्कृतिले व्यक्तिलाई अनुशासित बनाउँछ । माया, आदर, आस्था, सहयोग जस्ता मूल्यहरू परिवारले सिकाएको हो । परिवारको मूल्यले व्यक्तिलाई स्वावलम्बी बन्न (वा नबन्न), निर्भिक हुन (वा नहुन), सिर्जना गर्न (वा नगर्न), हसीमजाक गर्न (वा गम्भीर बन्न), सदाचारी बन्न (वा नबन्न) सिकाउँछ ।
परिवारबाट सिकेको विश्वास र आस्थाबाट सामाजिक जिम्मेवारी बहन गर्न सीप र क्षमता विकास हुन्छ । परिवारको आदर्श नै परिपक्व भएपछि जीवनशैलीको मार्गदर्शन बन्छ । जीवनको महत्त्वपूर्ण सिकाइ, अभिमुखीकरण आमाबुवा, भाइबहिनी, दाजुदिदीबाट प्राप्त हुने भएकाले नैतिक आचारण मात्र होइन, जीवनवृत्तिकै महत्त्वपूर्ण निर्धारक परिवार हो । त्यसैले परिवार सधैं आदर्श, नैतिक र सदाचारी बन्नुपर्छ, त्यसको नेतृत्व आमाबुवाबाट हुनुपर्छ ।
आमाबुवा बालबालिकाको सबैभन्दा नजिकको ‘रोल मोडेल’ हो । ‘जस्तो परिवार उस्तै अनुशासन र जस्ता आमाबुवा उस्तै बालबच्चा’ भन्ने भनाइ नेपाली समाजमा छ । मेहनती आमाबुवाका सन्तान श्रमका पारखी हुन्छन्, विना मेहनत सम्पन्नता आर्जन गरेका सन्तानहरूमा त्यसै अनुरूप छाप पर्छ र परिश्रमको पारखीभन्दा अरु नै कुरामा भौतारिन्छ ।
परिवारपछि व्यक्तिले सिक्ने भनेको समाजबाट हो । समाज वा समुदाय सामूहिक आवश्यकता पूरा गर्न मानिसबाट स्वयंसेवी रूपमा निर्माण भएको परिवारपछि सबैभन्दा शक्तिशाली संगठन हो । समुदाय व्यवहार, भूमिका, सम्बन्ध, अनुभूति र सहभाव आदानप्रदान गर्ने मानवीय संरचना हो । समुदायका साझा भावना, इच्छा, मूल्य, मान्यता, कानून र रीतिथिति हुन्छ । समुदायमा रहेर यसका सदस्यले साझा चाहना, मूल्य–परम्परा निर्माण, संरक्षण र परिमार्जन गर्छन् । व्यक्तिगत रूपमा समाधान निकाल्न नसक्ने समस्याको समाधान निकाल्ने थलोको रूपमा समाज संगठित हुन्छ । यो गतिशील रहन्छ । यसले मानिसको व्यवहार, आचरण, चाख र जीवनशैलीलाई प्रभाव पार्दछ र व्यक्तिले आफ्ना आवश्यकता पूरा गर्ने, दृष्टिकोण निर्माण गर्ने मञ्चका रूपमा समाजलाई उपयोग गर्दछ । त्यसैले यो अन्तर्क्रियाको मञ्च हो, जसमार्फत व्यक्ति विस्तृत, सुसंस्कृत र आग्रहरहित बन्ने अवसर पाउँछ ।
सामाजिक आचरण र मूल्य प्रणाली विकास गर्ने सन्दर्भमा समाजले सामाजिक सद्भाव कायम गर्ने, भातृत्व विकास, सहयोग, सहकार्य र संयमता कायम गर्दछ । सामाजिक आचरण र व्यवहारलाई नियन्त्रण गरी असल जीवनको सामूहिक मार्ग देखाउने काम पनि समुदायले गर्दछ । त्यसैले परिवारपछि समुदाय नैतिक आचरण संस्थागत गर्ने महत्त्वपूर्ण संस्था हो । सामाजिक संस्कार असल भएपछि नागरिक जीवनका लागि चाहिने ज्ञान, सीप र स्वभाव पनि स्वाभाविक रूपमा तदनूकूल बन्ने गर्दछ ।
तेस्रो शक्तिशाली संस्था शिक्षालय हुन् । शैक्षिक संस्थाहरू केवल शिक्षा प्रदायक निकाय मात्र होइनन्, नागरिक जीवनलाई असल र मर्यादित बनाउन व्यावहारिक सीप सिकाउने जीवन्त कार्यशाला हुन् । नैतिक आचरण विकास गर्ने औपचारिक प्रयोगशाला हुन् । जसरी परिवार र समुदाय अनौपचारिक माध्यमबाट सामाजिक आचारण सिकाउँछन्, शिक्षालयसँग त्योभन्दा बढी औपचारिक, व्यवस्थित र संहितावद्ध हुन्छ । किनकी त्यहाँ औपचारिक वातावरण, पाठ्यक्रम र शिक्षा प्रदायक शिक्षक हुन्छन् ।
विद्यालयजस्ता शैक्षिक अनुष्ठानमा विभिन्न परिवेश, धर्म, पृष्ठभूमिका मानिसहरू सँगसँगै रहने भएकाले समुदाको सुक्ष्म ऐना पनि हो, जसले सामूहिक भावना, सहयोग, विचार आदानप्रदान र व्यक्तित्व विकासको अवसर दिन्छ, जसलाई आजभोलि समावेशिता भन्ने गरिएको छ । विद्यालय जस्ता शैक्षिक अनुष्ठानले चेतना र दृष्टिकोण विकास, सामाजिक सद्भाव, शान्ति र सहभाव, राष्ट्र प्रेम, चरित्र निर्माण, आदर्श व्यवहार, सामाजिक गतिशीलता र क्षमता विकासमार्फत नैतिक मूल्याचरण निर्माण र सम्बद्र्धन गर्न भूमिका खेल्दछन् ।
ज्ञान, सीप र क्षमता निर्माण गर्दै मानिसको स्वभाव आदर्श बनाउन शैक्षिक संस्थाहरू महत्त्वपूर्ण छ भने शिक्षा प्रदायक शिक्षक–शिक्षिका यसका आदर्श पात्र हुन् । आमाबुवापछि बच्चाले सबैभन्दा विश्वास गर्ने, सबैभन्दा प्रभाव पार्नसक्ने व्यक्ति शिक्षक–शिक्षिका हुन् । त्यसैले प्राचीन समयदेखि गुरुवर्गलाई समाजले उच्च मर्यादा दिँदै आएको छ ।
विद्यालय आदर, समझदारी, संयम, प्रशंसा, जिम्मेवारी, उत्तरदायित्व, प्रोत्साहन र नेतृत्व निर्माण गर्ने स्थल पनि हुन्, शिक्षा आर्जनका क्रममा व्यक्तिभित्र बिस्तारै यी गुणहरू नमेटिने गरी संस्थागत हुन्छन् । असल शिक्षक सदाचारको द्योतक हो । शिक्षक ज्ञान, सीप र स्वभावको जीवन्त प्रस्तुती गर्ने शिक्षकबाट नै समाजले असल कुराको जग बसाउने हो । अक्षर पढाउने, अक्षर पनि नपढाउने, असल व्यवहार गर्न नसक्ने शिक्षक समाजलाई अँध्यारो मार्गमा डोर्याउँछ, विद्यार्थीको भविष्य अन्धकार पार्छ र राज्य प्रणालीलाई विकृत पार्छ । त्यसैले समाजका उम्दा प्रतिभाहरू शिक्षक बन्नुपर्छ ।
राजनीति समाजलाई असल दिशानिर्देश गर्ने मगज हो । राजनीतिक दलहरू असल संस्कार, संस्कृति, राष्ट्रप्रेम, विकास र सकारात्मक सोच ल्याउने अभियान हुन् भने नेताहरू यसका लागि निर्देशक मगज । निर्देशक मगज सधैं रोल मोडेल रहनुपर्छ र दलभित्रको राजनीतिक स्रोत परिचालन समाजलाई असल कुरामा डोर्याउने संस्कार, संस्कृति र संयम निर्माणका लागि हुनुपर्दछ ।
दलभित्रका विचार विभागहरू कार्यकर्तालाई सदाचारी र नैतिक बनाउन सतत रहनुपर्छ ता कि यसले समाज, संस्था र सरकार समग्रलाई सत्कार्यमा पुर्याउन सकोस् । लोकतन्त्र भनेको असल संस्कृतिको निर्माण प्रक्रिया हो, राज्य नैतिक संस्था हो र राजनैतिक दलहरू यसका अभियान्ता ।
समाजमा रहने आर्थिक संस्थाहरु चरित्र निर्माणका अरु संस्थाहरू हुन् । सहकारी, धर्मपर्म, उत्पादन व्यवसाय, उद्योग कारखाना लगायतका उत्पादक संरचनाले मानिसलाई आवश्यक आर्थिक उपयोगिता सिर्जना गरी मानवीय आवश्यकता पूरा गर्दछन् । यस्ता आर्थिक संरचनाले सेवा वस्तु उत्पादन तथा वितरणका मान्यता स्थापना गर्दछन्, अन्य सामाजिक संस्थासँग अन्तर्क्रिया गर्दछन् र आर्थिक ढाँचा र प्रविधि निर्धारण, विकास र आविष्कार गर्दछन्, जसले आर्थिक आचरणलाई व्यवस्थित गर्दै लैजान्छ ।
समाजमा विभिन्न औपचारिक/अनौपचारिक संस्था, राजनैतिक संगठन, अनुसन्धानकर्ता, राष्ट्रिय/अन्तराष्ट्रिय मञ्च, पेशागत सञ्जाल र विचारकले पनि सर्वसाधारणको व्यवहारलाई नैतिक आदर्श र मान्यताअनुरूप बनाउन योगदान पुर्याउँछन् । मूलतः यस्ता संस्थाले नैतिक आचरण निर्माणका लागि सामाजिक संस्था र व्यवहारलाई नियन्त्रित गर्छन्, एकबाट अर्को पुस्तामा मूल्य मान्यतालाई हस्तान्तरण गर्छन्, सामाजिक सहभाव प्रदर्शन र सहकार्य प्रवद्र्धन गर्छन् । सामाजिक पहिचान संस्थागत गर्दछन् ।
विचार र दृष्टिकोण निर्माण, परिमार्जन र परिष्करण गर्दछन् । बशुधैव कुटुम्वकमको विश्व भातृत्व निर्माण गर्न सहयोग पुर्याउँछन् । यदाकदा सामाजिक विग्रहजस्ता अनपेक्षित आचरणलाई पनि प्रोत्साहन दिन्छन् । यसर्थ समाजलाई आदर्श, सदाचारी र नैतिक बनाउन घरपरिवार, सामुदायिक संस्था, विद्यालय, धार्मिक अनुष्ठान जस्ता संस्था असल आचरणका केन्द्र बन्नुपर्छ र यसका नेतृत्वकर्ताहरू सधैं आदर्श बन्नुपर्छ । परिवारमुली, सामाजिक अगुवा, शिक्षक, नेता र संगठनका व्यवस्थापकहरू आदर्श नबनेसम्म सुशासन र सदाचार संस्कृति निर्माणको काम वास्तविक होइन, औपचारिक मात्र बन्ने गर्दछ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...