महंगीले आकाश छुन लागिसक्यो । महंगी यो हदसम्म बढिसक्यो कि सामान्य मान्छेलाई बिहान बेलुका हातमुख जोर्नै मुस्किल छ ।
होटलमा गएर खाना खाने कुरा त जो कोहीका लागि सम्भव नै छैन । सामान्य ठाउँमा गएर सादा खाना खाँदा पनि डेढदेखि २ सयसम्म तिर्नुपर्छ ।
त्यो भन्दा बढी पैसा लिने ठाउँहरू पनि प्रशस्तै छन्, तर सस्तोमा खाने ठाउँ भने भेट्टाउन मुस्किल ।
यस्तै समस्या झेल्नेहरूका लागि राजधानीको मुटुमा अवस्थित अनामनगरको ‘हाम्रो खाना घर’ निकै उपयोगी गन्तव्य हुनसक्छ, जहाँ जम्मा ६५ रुपैयाँमा स्वादिष्ट र सफा खाना खान पाइन्छ ।
यो खाना घर हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहन्छ । यहाँ सस्तोमा खाना खानकै लागि सिंहदरबारका सरकारी जागिरेदेखि कलाकार, विद्यार्थी, मजदुर र साना व्यापारीसम्म अनामनगर पुग्ने गर्छन् । खानामा दाल, भात, तरकारी र अचार पाइन्छ भने अतिरिक्त पैसा तिरेर दही र मोही समेत खान पाइन्छ ।
सस्तोमा खाना खुवाएपनि आफूहरूले गुणस्तरमा कुनै कम्परमाइज नगर्ने हाम्रो टीम नेपालद्वारा सञ्चालित यस खाना घरका व्यवस्थापक दीपेन्द्र शर्मा बताउँछन् ।
दिनमा हजार जनासम्मलाई खाना खुवाउन १७ जना खटिने गरेका छन् । दैनिक ४० देखि ५० हजारसम्मको व्यापार हुने गरेको उनले बताए ।
यस खाना घरमा डोनेसन बक्स पनि राखिएको छ । सहयोगी मन हुनेहरूले डोनेसन बक्समा आफूले चाहेको जति रकम राख्न सक्छन् । उक्त रकम निःशुल्क खाना खुवाउने अभियानमा खर्च हुने उनले बताए ।
बजार मूल्यभन्दा निकै सस्तोमा गुणस्तरीय खाना खुवाउँदा पनि सजिलै नाफा कमाउन सकिन्छ भन्ने उदाहरण ‘हाम्रो खाना घर’ हो । यस्ता उदाहरणीय कामबाट धेरैले शिक्षा पाउन सक्छन् ।
हेर्नुहोस्, भिडियो :
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।