मंगलवार शेयर बजारमा पहिरो गएको छ । कारोबारको शुरूवाती समयदेखि नै घटिरहेको नेप्से परिसूचक मंगलवार कारोबारको अन्तिम समयमा पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलवार शेयर बजार २१.१६ अंकले घट्दै २५८६.५१ विन्दुमा झरेको छ । यस दिन नेप्से परिसूचक ०.८१ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकसँगै मंगलवार सेन्सेटिभ परिसूचक पनि घटेको छ । यस दिन ०.५१ प्रतिशत अर्थात २.४१ अंकले घट्दै बजार ४६७.९४ विन्दुमा झरेको छ ।
मंगलवार कारोबार समयमा कूल २ सय ५ कम्पनीले कारोबार गरेका थिए । यी कम्पनीहरूको १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँमा खरिदबिक्री भएको छ ।
शेयर बजारमा पहिरो जाँदा समूहका सूचकहरू राताम्मे छन् । नेप्सेका अनुसार, कुल १२ उपसमूहमध्ये व्यापार तर्फको मात्रै सूचकमा सकारात्मक वृद्धि भएको छ । व्यापारतर्फ मंगलवार २६.७३ अंक बढेको छ ।
यसबाहेक अन्य सबै समूहका सूचकहरू ऋणात्मक छन् । जसमा सबैभन्दा धेरै अन्य समूहतर्फ २.३३ प्रतिशत अर्थात ५१.११ अंकको गिरावट आएको छ ।
यस्तै निर्माण तथा उत्पादन समूहको १.६८ प्रतिशत, होटलतर्फ १.५४, मुचुअल फन्डतर्फ १.१९, विकास बैंकतर्फ १.१२ प्रतिशत गिरावट आएको छ । यस्तै बैंकिङमा ०.४१, माइक्रोफाइनान्समा ०.१४, फाइनान्समा ०.५९ प्रतिशतको गिरावट छ ।
निफ्राको शेयर मूल्यमा नकारात्मक सर्किट
नेप्सेमा कारोबार शुरू गरेको दिनदेखि निरन्तर बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर मूल्यमा यस दिन नकारात्मक सर्किट लागेको छ । यसदिन शेयर मूल्य ६६ रुपैयाँले घट्दै ५९४ रुपैयाँ कायम भएको छ । बैंकका लगानीकर्ताहरूले यस दिन १० प्रतिशतको नोक्सानी व्यहोरेका छन् ।
कारोबारका आधारमा पनि निफ्रा आज सबैभन्दा अगाडि छ । मंगलवार निफ्राले ७३ करोड ९४ लाख ५२ हजार ५ सय १८ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यसपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर ४३ करोड ३९ लाख १ हजार ७७ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज यस आयोजनाको शेयर मूल्य ५ सय ७१ मा झरेको छ ।
नेप्सेका अनुसार सबैभन्दा बढी शेयर कारोबार गर्नेमध्येमा नबिल बैंक मंगलवार तेस्रो नम्बरमा रहेको छ । बैंकले ३७ करोड ३५ लाख ५८ हजार ९ सय ६७ रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।
लोकान्तर संवाददाता