शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।
विगत १ वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
निजी स्रोतमा कार्यरत विद्यालयका ४ शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको १० कक्षामा अध्ययनरत अन्सु यादवले जानकारी दिए ।
कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् । विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् ।
तालाबन्दीका कारण विगत ३ दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।
विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्च समेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवले बताए ।
विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे ।
लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताए । १ देखि १० कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
रासस