जिम्मेवार प्रधानमन्त्रीले भावी परिदृश्य प्रस्ट नभई राजीनामा गर्नुहुन्न– प्रदीप ज्ञवाली

फाइल फोटो

परराष्ट्र मन्त्री एवं नेकपा (ओली समूह)का प्रवक्ता प्रदीप ज्ञवालीले नयाँ सरकार बन्ने सुनिश्चितता नभई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगर्ने बताएका छन् । 

प्रधानमन्त्रीले राजीनामा गरेपछि सात–सात महिनासम्म नयाँ सरकार बन्न नसकेको र १७ पटकसम्म प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अनिर्णित रहेको तीतो अनुभवका कारण प्रधानमन्त्रीले राजीनामा नदिएको उनले बताए ।


Advertisement

बिहीवार लोकान्तर डट्कमसँगको विशेष कुराकानीमा मन्त्री ज्ञवालीले राजीनामापछि बन्ने सरकारको चित्र प्रस्ट भएपछि मात्र ओलीले प्रधानमन्त्रीबाट राजीनामा गर्ने बताए ।

‘नयाँ सरकार बन्ने अवस्था बन्दा र संसद्को इच्छा प्रकट हुँदा प्रधानमन्त्री अन्यथा ढंगले पदमा बस्ने भन्ने हुँदैन, सरकार बनाउने संसद्ले हो संसद् नबस्दै पूर्वानुमान नगरौं, तर जिम्मेवार कार्यकारी प्रधानमन्त्रीले त्यसपछिको परिदृश्यको पूर्वानुमान गरेर मात्र कदम चाल्नु पर्ने हुन्छ,’ ज्ञवालीले भने ।


Advertisement

उनले थपे, ‘हामीकहाँ विगतको तीतो अनुभव पनि छ– प्रधानमन्त्रीले राजीनामा दिएपछि सात–सात महिनासम्म सरकार नबनेको र १७ पटक निर्वाचन भएर पनि प्रक्रिया अनिर्णित रहेको अनुभव छ । हामीले मुलुकलाई त्यस्तै बनाउन खोजेको त होइन ? ती प्रश्नको पहिलै जवाफ आउन जरुरी हुन्छ,’ मन्त्री ज्ञवालीले भने । 

२०६६ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १७ औं पटकसम्म संसद्मा प्रधानमन्त्रीको चुनाव लडेका थिए ।

(मन्त्री ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता लोकान्तर डट्कममा केहीबेरमा प्रकाशित हुनेछ ।)

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्