कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाउँदा नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको एक रिसोर्टमा थिए । १२ गतेका लागि तय भएको विरोधसभालाई सम्बोधन गर्न पुगेका उनीहरूले एकछिन उत्सव मनाए र त्यो सभालाई विजयसभामा परिणत गर्ने घोषणा गरे ।
अध्यक्ष दाहालले यो घोषणा गर्दा प्रफुल्लित कार्यकर्ताले जोडले ताली बजाएर समर्थन गरे । खुसियालीमा लड्डु पनि ल्याइएको थियो । दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, जुन दृश्यले नेकपाभित्रैका धेरै नेता–कार्यकर्ताको आँखा बिझायो । त्यो दृश्य ठ्याक्कै त्यस्तै थियो– जस्तो २०७४ फागुन २ गते प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई तत्कालीन एमाओवादीले समर्थन गर्ने सहमतिपछि ‘भ्यालेन्टाइन्स डे’ समेत परेको भन्दै ओली र दाहालले आपसमा फूल साटासाट गरेर प्रेम प्रदर्शन गरेका थिए ।
पार्टी नेतृत्वका बारम्बारका यस्ता हर्कत धेरै नेता–कार्यकर्ताजस्तै दाहाल–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलाई पनि खल्लो लागेको छ । ‘हामीले आफ्नै बलले मुद्दा जितेको पनि होइन, सर्वोच्चले आफ्नो बलले निर्णय सुनायो, हामीले उठाएको आन्दोलन र अदालतले गरेको फैसलाका बीचमा मेल खाएको मात्रै हो, त्यो खुसियालीमा लड्डु खाने संस्कृति राम्रो होइन भन्ने मेरो बुझाइ हो,’ न्यौपानेले कान्तिपुरसँग भने, ‘संस्थागत हिसाबले पार्टी चलाउने, तलका कमिटीको कुरा सुन्ने, निर्णय गर्दा छलफल गर्ने, पारदर्शिता अपनाउनेजस्ता सन्दर्भ बाँकी छन्, जुन सच्चिनेभन्दा नसच्चिने सम्भावना बाँकी नै छ ।’
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपा निरन्तर सडकमै थियो । काठमाडौंमा मात्रै तीनपटक ठूल्ठूला शक्ति प्रदर्शन गरेको उक्त समूहले देखाउने ‘शक्ति’ दिनदिनैको आधारभूत आवश्यकतासमेत पूरा गर्न हम्मे पर्ने कार्यकर्ता थिए । उनै कार्यकर्ताबाट उल्टै चन्दासमेत लिएर दुई महिनासम्म आन्दोलनको मेस चलाएको नेकपाको नेतृत्व त्यही सिलसिलामा चितवन गएको थियो । सर्वोच्चले अपेक्षाकृत समयभन्दा
केही अगाडि नै फैसला गरिदिएपछि दाहाल–नेपाल समूहमा उल्लास बढ्नु अस्वाभाविक होइन तर आफूहरूलाई साथ दिन आइसकेका र आउने तरखरमा रहेका कार्यकर्तालाई सम्बोधन गरेर काठमाडौं फर्किएको भए पनि उनीहरूको केही बिग्रिँदैनथ्यो । त्यसमाथि फैसला आउनेबित्तिकै दाहाल–नेपालले पहिलो फोन–संवाद कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेकै थिए । तर सडकबाटै उठेका मुद्दा र जनताको भरोसालाई चटक्कै बिर्सिएर अध्यक्षद्वय आफैंले तय गरेको सभालाई सम्बोधन नगरी काठमाडौं ओर्लिए र कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे ।
नेकपाका अध्यक्षद्वयको यो गतिविधिले ‘हामीले केपी ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्नका लागि मात्रै यो आन्दोलन गरिरहेका छैनौं, आन्दोलन त केपीवादका विरुद्धमा हो’ भनेर बारम्बार गरेको उद्घोषको सरासर उपेक्षा गर्यो । नेकपा अनुशासन आयोगका अध्यक्षसमेत रहेका नेता अमृतकुमार बोहरा सामन्ती प्रवृत्ति आफूहरूतिरको नेकपामा पनि भएको र त्यसलाई सच्याएरै जानुपर्ने आवश्यकता रहेको स्वीकार गर्छन् । ‘ओली प्रवृत्तिसँग लड्ने भनेको त व्यक्तिसँग मात्रै होइन नि, नेताहरूको आचरण साधारण र सामान्य बनाउनुपर्छ भन्ने हाम्रो सधैंभरिको कुरा हो,’ बोहराले भने, ‘तर कहिलेदेखिको शैली रातारात परिवर्तन हुँदो रहेनछ, सच्चिएर अघि बढ्न जरुरी छ ।’
पुस ५ अघि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि र पद्धति नमानेको भन्दै सबैभन्दा धेरै कुरा उठाए । पार्टी कमिटीले निर्णय गरेपछि मात्रै कार्यान्वयन र छलफलका लागि अघि बढ्नुपर्छ भन्ने उनको कुरामा बहुमत स्थायी कमिटी सदस्यहरू सहमत पनि थिए । तर नयाँ सरकारको समीकरण बनाउने चक्करमा यिनीहरूले पार्टीका सांसद र केन्द्रीय कमिटी सदस्यहरूलाई समेत जानकारी नदिईकन दौडधुप चलाइहाले ।
पहिले नेताका दैलो चहार्ने र त्यसपछि बल्ल पार्टी बैठकमा ब्रिफिङ गर्ने चलनलाई नेकपाको विधानले पार्टी विधि र पद्धतिका रूपमा ग्रहण गर्दैन । स्थायी कमिटी सदस्य जनार्दन शर्मा नेकपाका नेताहरूले अहिले ओलीलाई गाली गर्नभन्दा पनि आफैंभित्र रहेको ओली प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताउँछन् । ‘केपी ओलीलाई गाली गर्नुको अर्थ छैन, हामीभित्रको केपी प्रवृत्तिभित्र लड्ने कि नलड्ने भन्ने कुरा मुख्य हो,’ शर्माले भने, ‘हामी व्यक्ति आफैं, नेतृत्व र संस्थालाई नै विधि पद्धतिमा चलाउन के गरिरहेका छौं भनेर गम्भीर समीक्षा गरिनुपर्छ ।’
दोस्रोपटक प्रधानमन्त्री बनेयताको तीन वर्षमा व्यक्तिवाद, सामूहिक प्रणालीमाथिको प्रहार, वैचारिक छलफल नरुचाउने शैली प्रधानमन्त्री ओलीमा बढेर गयो । उनका यिनै आनीबानीलाई संश्लेषण गरेर त्यसलाई ओली प्रवृत्ति भन्न थालियो । यसको विरोध सुरुमा नेपाल र उनी पक्षीय नेताहरूबाट भयो भने पछि त्यसमा दाहाल पनि थपिए । आफूहरूको हातमा निर्णायक जिम्मेवारी आउँदा उनीहरू पनि त्यही शैलीबाट उम्किन नसकेको दृष्टान्त वाम राजनीतिमा जति पनि छ । ओलीले संसद् विघटन गरेको पाँच दिनपछि पुस १० गते माइतीघरको चिसो भुइँमा बसेर ‘हामी यहाँ छौं’ भनेका दाहाल–नेपालसहितका शीर्ष नेता फागुन १२ मा खुसियाली मनाउन रत्नपार्कमा पार्टीका नेता–कार्यकर्ताले गरेको कार्यक्रममा भने गएनन् । उनीहरूले अब भोट हालेका जनता र आन्दोलनमा साथ दिएका कार्यकर्ताभन्दा सांसद तानातान गर्ने र सरकारमा जाने कुरालाई प्राथमिकतामा राखे । विघटनकै विरोध गर्ने क्रममा उनीहरूले ‘आफ्ना कमी–कमजोरीबारे आत्मसमीक्षा गरेर श्वेतपत्र जारी गर्छौं’ भनेका थिए, त्यो कामलाई पनि उनीहरूले पाखा लगाइदिए ।
नेकपा केन्द्रीय सदस्य अञ्जना विशंखेले आफूसम्बद्ध नेकपाका अध्यक्ष दाहाल र नेपालमा सामन्तवादी चरित्र कतिपय अवस्थामा ओलीमा भन्दा धेरै देखिने अनुभूति गरेकी छन् । ‘हामीले माओवादी हुँदा प्रचण्डजीमा पनि यो प्रवृत्ति छ है भन्दै आएका हौं, नाराको विषयमा हामी उहाँलाई विश्वास गर्न सक्छौं,’ विशंखेले भनिन्, ‘तर संस्थागतभन्दा व्यक्तिवादी निर्णय गर्ने शैली प्रचण्डमा धेरै छ जस्तो देखिन्छ । यसै कारण समाजवादउन्मुख संविधान बनाउने कुरामा जनअधिकारको मामिला यो हो है भन्नेमा हामी अझै चुकेका छौं कि जस्तो लाग्छ ।’
२०७६ वैशाख १० गते कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा भएको कार्यक्रममा दुई अध्यक्षका लागि सोफा र अरूका लागि कुर्सीको प्रबन्ध गरिएको देखेपछि नेकपाका तत्कालीन वरिष्ठ नेता नेपाल कार्यक्रम नै छोडेर बाहिरिएका थिए । पोहोर माघको केन्द्रीय कमिटी बैठकमा मञ्चमा अध्यक्षहरूको फोटो देखेपछि नेताहरूले भरपुर विरोध गरेका थिए । नेकपा नफुट्दै बालुवाटारमा बसेको एउटा स्थायी कमिटी बैठकमा नेताहरूकै विरोधका कारण नेतृत्व मञ्चको सोफाबाट भुइँको कुर्सीमा झरेको थियो । सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने साम्यवादी चिन्तन बोकेका कम्युनिस्ट नेताहरू पछिल्लो समय हाईफाई गर्ने देखावटी जीवनशैलीमा रमाइरहेका छन् । यसको नेतृत्व ओलीले गरेका कारण नेताहरूले यो शैलीलाई ओली प्रवृत्तिका रूपमा व्याख्या गर्दै आएका थिए । केन्द्रीय सदस्य दिलु पन्त कहिलेकाहीं नेताहरूमा उन्माद बढेझैं देखिने बताउँछिन् । ‘नेताहरूमा उन्माद बढेको जस्तो पनि देखिन्छ, हामीले हामी कुन धरातलमा, कसको बलमा राजनीति गरिरहेका छौं भनेर बिर्सिनु हुँदैन,’ पन्तले भनिन्, ‘अराजक प्रवृत्ति र बेथितितिर नेतृत्व जान खोज्दै छ भने त्यसलाई रोक्नुपर्छ । त्योभन्दा फरक ढंगले चल्नुपर्छ, जनताको स्तरजस्तै नेताहरूको स्तर हुनुपर्छ कि पर्दैन भनेर आफैंले आफैंलाई सोध्न जरुरी छ ।’
दाहाल–नेपाल नेतृत्वको नेकपामा कतिपय निर्णय पद्धतिबमोजिम भएन भनेर दोस्रो तहका नेताहरूले कुरा उठाउँदै आएका पनि छन् । गत माघ १० गतेको विरोधसभामा केन्द्रीय संघर्ष समितिले तय गरेको कार्यक्रमअनुसार नेतृत्व चलेन भनेर समितिका संयोजक नारायणकाजी श्रेष्ठ मञ्चमै जंगिएका थिए । केही दिनअघि जिल्ला नेतृत्वको टुंगो लगाउँदा अध्यक्ष नेपालले प्रदेश कमिटीसँग सल्लाह नै नगरी केपी ओली नेतृत्वका केन्द्रीय सदस्य दत्तबहादुर रोकायालाई डोल्पा जिल्ला कमिटीको अध्यक्षमा सिफारिस गरेको भनेर भाँडभैलो भयो । जिल्ला कमिटीमा अध्यक्षद्वयको तजबिजमा मात्रै अध्यक्ष र सचिव छानिएको, कतिपय ठाउँमा सचिवभन्दा अध्यक्ष जुनियर भएको भन्दै भित्रभित्रै असन्तुष्ट हुनेहरूको संख्या बढिरहेको छ । यसले ओलीले आफ्ना मान्छेलाई मात्रै एकलौटी रूपमा ठाउँ दिएको भनेर विरोध गर्ने दाहाल–नेपालमाथि अहिले उनीहरूकै खेमाका नेताहरूले प्रश्न गरिरहेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरे आजको नेपालको वाम आन्दोलनमा ओली प्रवृत्ति बाधक रहेको र त्यो प्रवृत्तिलाई परास्त नगरेसम्म अघि बढ्नै नसकिने तर्क गर्छन् । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...