उत्तर कोरियामा रहेका रुसी कूटनीतिकर्मीहरूले रेल ट्रली कुदाउँदै देश छोड्नुपरेको छ ।
कूटनीतिकर्मीका परिवारले हातले धकेल्दै चलाउनुपर्ने ट्रली लगभग एक किलोमिटरसम्म ट्य्राकमा आफैंले तान्नुपरेको थियो ।
कोरोनाभाइरसका कारण उत्तर कोरियामा कठोर कदम चालिएकाले आठजना रुसी कूटनीतिकर्मीले अपमानजनक रूपमा प्योङयाङ छोड्नुपरेको थियो ।
उनीहरू पहिला ट्रेनमा अनि बसमा यात्रा गरी सीमा नजिक पुगे । त्यसपछि उनीहरूले आफैं धक्का दिँदै ट्रलीलाई सीमामा पुर्याए ।
उत्तरले कोरोना संक्रमण रोक्नका लागि सबै यात्रीको आवागमनमा नियन्त्रण गरिरहेको छ ।
हुन त उत्तरले देशमा कोरोनाको कुनै पनि केस नरहेको बताउँदै आएको छ तर विश्लेषकहरू यो दाबीलाई स्वीकार गर्दैनन् ।
पोहोर सालदेखि नै ट्रेन चढेर देश छोड्न वा देशमा आउन मनाही गरिएको छ । अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको छ ।
उत्तर कोरियामा यात्रा प्रतिबन्धका कारण रुसी कूटनीतिकर्मीहरूले बाध्यतावश असामान्य कदम उठाउनुपरेको थियो ।
रुसको परराष्ट्र मन्त्रालयले जारी गरेको तस्वीरमा कूटनीतिकर्मीहरू सुटकेस बोकेको ट्रली आफैं धकेल्दै हिँडिरहेको देखिन्छ । त्यस समूहमा तीन वर्षकी बालिका पनि थिइन् ।
रुसको सीमामा उनीहरूलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । त्यसपछि उनीहरू बस चढेर भ्लादिभोस्तोक विमानस्थल गए ।
एजेन्सी