ज्येष्ठ नागरिक र दीर्घबिरामीलाई कोरोना खोप कति सुरक्षित ? कति प्रभावकारी ?

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई कोभिशिल्ड खोप लगाउने भौतिक तयारी गरिरहेको छ । विश्वका सयभन्दा धेरै देशले खोप देख्न नपाएको स्थितिमा हामीले समयमै खोप पाउनु ठूलो कुरा हो ।  

महामारीमा खोपको प्रतिक्षा कति पट्यारलाग्दो हुन्छ भन्ने तथ्य युरोपमा देख्न सकिन्छ । नेपाल सरकारको क्रियाशीलता र भारत सरकारको सद्भावको कारण हामीले सोचेभन्दा पहिले खोप पाएका छौं । अक्सफोर्ड युनिभर्सिटीमा अनुसन्धान भएको, ब्रिटिश–स्वीडिस कम्पनी एस्ट्रेजेनेकाले विकास गरेको तथा विश्वकै ठूलो सिरम इन्स्टिच्युट इन्डियाबाट उत्पादन भएको गुणस्तरीय खोप हामीले प्राप्त गर्नु सानो प्राप्ति हैन । अन्यथा हामीले भारत, चीन र रुसको खोप कुर्नुको विकल्प थिएन ।


Advertisement

जसरी कोरोना महामारीको समयमा भ्रम र हल्ला छरिएको थियो, त्यसैगरी खोपबारे पनि भ्रम र हल्लाले हाम्रो समाजमा जरा गाडेको छ । सम्बन्धित निकायले जनचेतना जागरणको अभियान चलाएर जनताको विश्वास जित्ने काम गर्नुपर्थ्यो तर त्यो देखिएको छैन । राजनैतिक खिचातानीले गर्दा खोपको जनजागरण प्राथमिकतामा परेको छैन, महामारीजस्तै

अन्य देशको ट्रेन्ड हेर्दा ज्येष्ठ नागरिक तथा दीर्घबिरामी खोपको पहिलो प्राथमिकतामा परेका छन् । हामीकहाँ खोपको कम्पास धेरै घुमेपछि मात्र ज्येष्ठ नागरिक तथा दीर्घरोगीको पालो आएको छ । यसको मनोवैज्ञानिक पक्ष भने सकारात्मक छ । शुरूमै ज्येष्ठ नागरिकलाई खोप दिँदा १ जनाको पनि कुनै कारणले मृत्यु भएको भए खोपको स्वीकार्यता निकै कम हुन्थ्यो । त्यस्तै स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, कूटनैतिक नियोगका परिवार, बन्दी, वृद्धाश्रम आदिमा खोप लगाएपछि खोप कार्यक्रमको आत्मबल बढेको छ भने खोपको स्वीकार्यता अन्य देशको तुलनामा राम्रो देखिएको छ ।


Advertisement

हालसम्म करीब ४ लाख व्यक्तिले खोप लगाउँदा १ जनाको पनि मृत्यु नहुनु र एनाफाइलेक्सिस जस्तो गम्भीर अवस्था खासै नआएकोले यो खोप सुरक्षित छ भनेर भन्न सकिन्छ । नेपालमा कोरोना संक्रमणको न्युनतम मृत्युदर ०.६% थियो । कोरोना महामारीमा ४ लाख व्यक्ति संक्रमित भएमा ०.६ प्रतिशत मृत्युदरको हिसाबले मृतकको संख्या २४०० हुने थियो भने ४ लाख जनालाई खोप लगाउँदा खोपको कारण हुने मृत्यु शुन्य छ । यसबाट पनि महामारीको घातकता र खोपको सुरक्षित अवस्था आकलन गर्न सकिन्छ ।

दीर्घरोग भएका ज्येष्ठ नागरिकको संवेदनशीलता 

नर्वेका वृद्धाश्रममा प्रत्येक हप्ता ४०० जनाको मृत्यु हुन्छ । त्यहाँ खोप लगाएकामध्ये २३ जनाको मृत्यु भएपछि ठूलो हल्लिखल्ली भयो । पोस्टमार्टम गरेर हेर्दा खोपको कारण मृत्यु नभएको र नियमित मृत्यु भएको भनेपछि यो हल्लामा बिराम लागेको छ । त्यसो त भारत, इजरायल, ब्राजिल, पेरु लगायतका देशमा पनि छिटफुट मृत्यु भएको छ  । त्यो अवश्यम्भावी मृत्यु र खोप संयोग मात्र रहेको तत्तद सरकारले बताएका छन् ।

नेपालको अवस्था अन्य देशको भन्दा फरक छ । अहिले कोरोना महामारी न्यून विन्दुमा छ । जनजीवन पूर्ववत चलिरहेको छ । आममानिसमा माहामारी सकियो भन्ने भाव विकास भएको छ । यसले पनि खोपको हतार घटाएको छ । युरोपियन देशहरू, अमेरिका, क्यानडा, जापान आदि देशमा जस्तै महामारीको दोस्रो लहर नेपालमा फैलियो भने त्यो बेला बचाउने ठूलो हतियार खोप नै हो । दीर्घबिरामी तथा ज्येष्ठ नागरिक जोखिम वर्गमा पर्ने भएकाले यो समूहलाई बचाउन खोपको स्वीकार्यता बढाउनु जरुरी छ ।

ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई खोप दिँदा उनीहरूलाई के–के रोग लागेका थिए ? कुन–कुन औषधि सेवन गरिरहेका छन् ? हालको स्वास्थ्य अवस्था कस्तो छ ? खोपको जोखिमको अनुपातमा रोगको जोखिम कस्तो छ ? कारणवश खोप केन्द्रबाट बाहिरिएपछि प्रति–असर भए के गर्ने ? लगायत धेरै विषयमा विज्ञ चिकित्सकको राय आवश्यक छ । सरकारले खोप कार्यक्रम अवधिको लागि चिकित्सक नभएको ठाउँमा अस्थायी रूपमा नियुक्ति दिनु वान्छनीय हुन्छ ।

कुन–कुन अवस्थामा ज्येष्ठ नागरिकले खोप नलगाउने वा विशेष सतर्कता अपनाउने ?

हामीकहाँ आएको खोप अन्य खोपको तुलनामा सुरक्षित रहेको तथ्यांकले देखाउँछ । ज्येष्ठ नागरिकका यी अवस्थामा खोप लगाउनु हुँदैन वा विशेष सतर्कता अपनाउनु जरुरी छ ।

– कुनै खोप, औषधि, खाना आदिको एलर्जी भएका व्यक्ति ।

–    क्षारे रोगलगायत स्नायु प्रणालीका (न्युरोलोजिकल डिस्अर्डर) रोग भएका व्यक्ति ।

–    स्टेरोइड वर्गका हाइ डोज औषधि सेवन गरेका व्यक्ति ।

–    हृदयाघात भएर वा मुटुको समस्या भएर रगत पातलो बनाउने मल्टिपल औषधि सेवन गरेका व्यक्ति ।

– सिकल सेल एनेमिया, प्लेटलेट्सको कमी, रक्तश्राव भइरहने वा रगत जम्ने प्रक्रियामा खराबी भएका व्यक्ति ।

– एकपटक गम्भीर कोभिड १९ लागेर ‘लंग कोभिड’को अवस्थाका व्यक्ति ।

– ३ महिनायता अप्रेसन गरेका व्यक्ति ।

– सिकिस्त बिरामी ।

– ८० वर्षभन्दा माथिका अशक्त दीर्घरोगी ।

–    गम्भीर मानसिक रोग लागेका व्यक्ति ।

– २ महिना यता हेपाटाइटिस बी लगायतका खोप लगाएका व्यक्ति ।

– हाल रुघाखोकी, ज्वरो, सास फेर्न गाह्रो भएका व्यक्ति ।

– कोरोना निको भएको २८ दिन नपुगेका व्यक्ति ।

– क्यान्सरको उपचार गराइरहेका बिरामी ।

– मिर्गाैला तथा बोन म्यारो प्रत्यारोपण गरेका व्यक्ति ।

– गम्भीर दम भएका व्यक्ति ।

– डाउन सिन्ड्रोम भएका व्यक्ति ।

– हार्ट फेलर भएका व्यक्ति ।

– मस्तिष्कको रोग भएका व्यक्ति ।

– थाल्सेमिया भएका व्यक्ति (रगतको खराबी) ।

– लुपस, बाथ भएका व्यक्ति आदि ।

खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । त्यसपछि घरमा जान सकिन्छ । केही प्रति–असर देखिएमा आराम गर्ने, झोलिलो खाने, ज्वरो आए वा शरीर दुःखे पारासिटामोल खाने तथा केही गाह्रो भए नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्ने गर्नुपर्दछ ।

खोपको प्रति–असर 

खोप लगाएपछि कतिपय व्यक्तिलाई मनोवैज्ञानिक असर पर्न सक्छ । चिन्ता लाग्ने, डर लाग्ने, सुइँ देखेर बेहोस हुने, सास नपुग्ने आदि हुनसक्छ । यसको लागि मानसिक तयारी तथा मनोपरामर्शको आवश्यकता छ । अक्सफोर्ड/एस्ट्रेजेनेकाले गरेको अध्ययन अनुसार यो खोप लगाएपछि सुइँ लगाएको ठाउँमा छुँदा दुख्ने (६३.७%), दुखाइ अनुभव हुने (५४.२%), टाउको दुख्ने (५२.६%), थकाइ लाग्ने (५३.१%), मांशपेशी दुख्ने (४४%), शरीर गल्ने (४४.२%), ज्वरो आउने (३३.६%), जाडो हुने (३१.९%), जोर्नी दुख्ने (२६.४%), वाकवाकी लाग्ने (२१.९%) लगायत देखिन्छन् । यी लक्षण सामान्यतया ३ दिनमा ठीक हुन्छन् ।

केही व्यक्तिलाई निद्रा नलाग्ने, निकै जाडो हुने, वान्ता हुने, रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, मुख, ओठ तथा घाँटी सुन्निने, पेट दुख्ने लगायत लक्षण देखिन्छन् । यो अवस्थामा उपचारको आवश्यकता  हुन्छ ।

खोपको प्रभावकारिता

प्रभावकारिताको हिसाबले फाइजरको खोप सबैभन्दा प्रभावकारी (९५%) देखिएको छ भने सुरक्षाको हिसाबले हामीले लगाएको/लगाउने कोभिशिल्ड (अक्सफोर्ड/एस्ट्रेजेनेका) सबैभन्दा सुरक्षित देखिएको छ  । कोभिसिल्डको औसत प्रभावकारिता ७० प्रतिशत छ भने खोप लगाएपछि गम्भीर हुने वा मृत्यु हुने सम्भावना एकदम नगन्य छ । खोपको प्रभावकारिता कम भएका खोपले पनि मृत्यु र गम्भीर हुने अवस्था न्यून गर्छन् । यो खोपले अफ्रिकाको नयाँ प्रजातिलाई १०% मात्र काम गर्छ भन्ने एउटा सानो अध्ययनले देखाएको छ । १० प्रतिशत प्रभावकारी भए पनि यसले गर्ने सुरक्षा त्यति कम हुँदैन । 

फ्रान्स, जर्मनी, स्विडेन, अस्ट्रिया लगायतका देशले यो खोप ६५ वर्षमाथिका व्यक्तिलाई नदिने भनेका छन् भने पोल्याण्डले ६० वर्ष र इटलीले ५५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई एस्ट्रेजेनेकाको खोप नदिने भनेका छन् । यो खोपले क्लिनिकल ट्रायलको अवधिमा तथा अहिले खोप लगाएको अनुभवमा १८ वर्षभन्दा माथिका व्यक्तिमा प्रभावकारी देखिएको छ । सस्तो मूल्यको यो खोपलाई निरुत्साहित गर्नको लागि खोप उत्पादक कम्पनीबीच प्रतिस्पर्धा भएको कुराले पनि अध्ययनलाई प्रभावित गर्न सक्छन् ।

खोप कति सुरक्षित ?

फाइजरको खोपमा पोलिथिलिन ग्लाइकोल (पीईजी) नामक तत्व मिसिएको हुन्छ । पीईजीको केही औषधि, खाना, घरायसी सामान वा कस्मेटिकसँग एलर्जी हुनसक्छ । कतिपय अवस्थामा गम्भीर एनाफाइलेक्सिस हुनसक्छ । हामीले लगाउने खोपमा एस्ट्रेजेनेका खोपमा पीईजी छैन । यस अर्थमा पनि यो खोप सुरक्षित मानिन्छ । फाइजर तथा मोडेर्नाका खोप एमआरएन खोप हुन् । यी खोप बिल्कुल नयाँ प्रविधिबाट बनाएको र आरएनए खोप भएकोले कतिपय आलोचकले डीएनएमा फरक गर्ने बताएका छन् । कोभिशिल्ड खोप परम्परागत तथा स्थापित विधिबाट निर्माण गरिएको हुँदा यो खालको शंका गर्ने ठाउँ छैन ।

खोप लगायो भने मृत्यु हुन्छ, बेहोस भइन्छ वा त्यस्तै अन्य भ्रम फैलाएका व्यक्तिले अहिले आएर खोप सुरक्षित देखेपछि दीर्घकालीन असर हुन्छ भनेका छन् । यो सर्वथा गलत हो । खोपको काम दीर्घकालीन सुरक्षा दिनु हो न कि दीर्घकालीन असर । विश्वमा सयौं रोगका खोप छन् । हामीले बच्चालाई दिने वा स्वयं आफैंले लगाउने खोप र यो खोपमा असरको हिसाबले केही फरक छैन । खोप केन्द्रमा आफ्नो रोग, अवस्था र उपचारको जानकारी दिएर खोप लगाउने परम्परा यो खोपमा पनि लागू हुन्छ । 

यो खोप उच्च रक्तचाप, मधुमेह, थाइराइड लगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ । विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ । पहिलो खोप लगाएपछि जति ढिलो दोस्रो खोप लगायो, त्यति नै बढी प्रभावकारी भएको अनुसन्धानले पुष्टि गरेका छन् । पहिलो मात्रा लगाएको १२ हप्तामा दोस्रो मात्रा खोप लगाउनु उपयुक्त हुन्छ । ४ हप्ताको अन्तरालमा दुवै मात्रा लगाउँदा खोपको प्रभावकारिता ५४.९ प्रतिशत हुने तथा १२ हप्ताको अन्तरालमा दुवै मात्रा लगाउँदा खोपको प्रभावकारिता ८२.४% हुने अध्ययनहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको खोप नियामक संस्था सेजले पनि ८–१२ हप्तामा दोस्रो खोप लगाउन सिफारिस गरेको छ । नेपाल सरकारले पनि खोपको दोस्रो मात्रा ८–१२ हप्तामा लगाउने निर्णय गरेको छ ।

कोभिशिल्ड बाहेक नेपालमा अन्य कम्पनीको खोप आएको छैन । आपतकालीन प्रयोगको अनुमति पाएको तथा नेपाललाई ५ लाख डोज सहयोग गर्ने भनेको चीनको भेरो सेल (सिनोफार्म) खोपको प्रभावकारिता यूएईमा ८६% देखिएको छ भने अन्य देशमा ७०–९० प्रतिशत देखिएको छ । यो खोपको प्रति–असर न्यून रहेको अध्ययनले बताएका छन् । यो खोप महंगो भएकाले नेपालले किनेर खोप दिन असम्भवप्राय छ ।

खोप अहिले लगाउने कि पर्खेर हेर्ने ?

कुनै पनि खोप रोग लागेर उपचारको लागि प्रयोग गर्ने हैन । सम्भावित रोगबाट बच्नको लागि खोप लगाइन्छ । हामीले लगाएका विभिन्न रोगका खोपका कारण हामी ती रोगबाट बचेका छौं । अहिले खोप नलगाउँदा कारणवश महामारीको दोस्रो लहर आयो भने वा समाजमा सुशुप्त अवस्थामा रहेको कोरोना भाइरसको संक्रमण सर्‍यो भने जोखिम हुनसक्छ । त्यस्तै कतिपय देशले भिसा दिँदा खोपको अनिवार्यता गरेका छन् । अहिले खोप उपलब्ध भएको बेला नलगाउने हो भने भविष्यमा  खोपको रेल हामीलाई छोडेर हिँड्न सक्छ । भविष्यमा यो गुणस्तरको खोप नआउन सक्छ । यो खोप निःशुल्क नहुन सक्छ ।

विविध एलर्जी भएका, गम्भीर रोग लागेका, खोप धान्ने शक्ति नभएका, एक पटक कोभिड भएर निकै गलेका तथा माथि उल्लेखित अवस्था (खोप लगाउन नमिल्ने) भएका ज्येष्ठ नागरिक तथा दीर्घबिरामीले पर्ख र हेरको रणनीति अपनाउनु बुद्धिमानी हुन्छ । हरेक अवस्थामा हामीले बुझ्नुपर्छ कि खोप सुरक्षाको लागि लगाउने हो जोखिमको लागि होइन । नेपालमा खोप बाध्यकारी छैन ।

खोप लगाउनुपूर्व खोपबारे विस्तृत बुझेर आफैंले निर्णय गर्नुपर्छ । खोप लगाएपछि प्राप्त एन्टिबडीले आफैंलाई सुरक्षा दिने हो भने लगाउन नमिल्ने समूहले लगाएमा क्षति आफैंले भोग्नुपर्ने हो । तसर्थ आफ्नो अवस्था र खोपबारे यथेष्ट बुझेर तथा आफू कन्भिन्स भएर खोप लगाउनु पर्दछ ।

एकातर्फ खोप लगाएर बचाउनुपर्ने जोखिम अवस्थामा ज्येष्ठ नागरिक तथा दीर्घरोगी पर्छन भने अर्कोतर्फ यो समूहलाई खोप लगाउँदा विशेष सावधानी, संवेदनशीलता तथा सतर्कता अपनाउनुपर्छ । कोभिड खोप नयाँ भएकोले यसबारे शंका, अविश्वास पैदा हुनु स्वाभाविक हो । यी शंका तथा अविश्वासलाई विज्ञहरूको समूहमार्फत निराकरण गर्नु सरकारको जिम्मेवारी हो ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्