आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमवार आफ्ना समर्थकहरूलाई संसद् तयार रहेमा राजनीतिक संकट अन्त्य गर्नका लागि मध्यावधि निर्वाचनका लागि तयार रहेको बताएका छन् ।
विपक्षीहरूले गत नोभेम्बर महिनादेखि उनको राजीनामा मागिरहेका छन् । उनले अजरबैजानसँग नागोर्नो–काराबाख लडाइँ हारेकोमा विपक्षीहरूले राजीनामा मागेका हुन् ।
अघिल्लो साता प्रधानमन्त्री र वरिष्ठ सैन्य अधिकारीहरूबीचको झगडा सार्वजनिक भएको थियो ।
राजधानी येरेभानको मध्यभागमा रहेको रिपब्लिक स्क्वेयरमा पाशिन्यानका कम्तीमा २० हजार समर्थकहरू सोमवार भेला भएका थिए ।
‘निर्वाचनमा जाऔं र जनताले कसको राजीनामा मागेका छन् हेरौं,’ पाशिन्यानले भने ।
उनले राष्ट्रपतिको शक्ति विस्तार गर्नका लागि अक्टोबर महिनामा संविधानका विषयमा जनमतसंग्रहका लागि आह्वान गर्ने बताए । तर यसको व्याख्या उनले गरेनन् ।
आफूले अजरबैजानसँगको युद्धमा र सेनासँग हालै विवादमा गल्ती गरेको स्वीकारे ।
पाशिन्यानले सेनाप्रमुखलाई बर्खास्त गर्दै कूको षड्यन्त्र रचेको आरोप लगाए तर राष्ट्रपतिले उक्त बर्खास्तगी रोके ।
विपक्षी दलका हजारौं विरोधकर्ताहरू सोमवार भेला भएका थिए र प्रधानमन्त्रीको राजीनामा मागे ।
गत नोभेम्बर महिनादेखि प्रदर्शनकारीहरू पाशिन्यानविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यसबेलामा उनले अजरबैजानसँग ६ हप्ता चलेको द्वन्द्व अन्त्यका लागि युद्धविराममा हस्ताक्षर गरेका थिए । उक्त लडाइँमा ४७ सयजनाको मृत्यु भएको थियो र आर्मेनियाले आफ्नो विशाल भूभाग अजरबैजानलाई सुम्पेको थियो ।
पाशिन्यान पुनः प्रधानमन्त्री पदका लागि लड्ने हो भने आफूहरूले निर्वाचन बहिष्कार गर्ने विपक्षीहरूले घोषणा गरेका छन् ।
एजेन्सी