प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवास गृह लगायत उद्घाटन गर्न मंगलवार झापा आइपुगेका छन् ।
भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरे ।
प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्नेछन् । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन् ।
प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । अस्पताल ६०० करोड रुपैयाँको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन् ।
बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । यस हप्ता प्रधानमन्त्री ओलीको दोस्रो झापा भ्रमणमा आएका छन् ।
फागुन १६ गते उनी दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आएका थिए ।
रासस