विश्व स्वास्थ्य संगठनका एक वरिष्ठ अधिकारीले कोरोना महामारी सन् २०२१ सम्ममा अन्त्य हुने अपेक्षा गर्नु हतारो र अवास्तविक हुने बताएका छन् ।
संगठनको इमर्जेन्सिज प्रोग्रामका निर्देशक डा माइकल रायनले संसारको एक मात्र ध्यान कोभिड संक्रमण सकेसम्म कम होस् भन्नेमा केन्द्रित हुनुपर्ने बताए ।
तर खोपहरू आउन थालेकाले अस्पतालमा भर्ना हुने तथा मृत्यु हुनेको संख्यामा नाटकीय कमी आएको उनले बताए ।
‘हामी चनाखो भयौं भने महामारीका कारण अस्पतालमा राख्ने र मृत्यु हुने कुरालाई सन् २०२१ को अन्त्यसम्ममा निमिट्यान्न पार्न सक्छौं,’ रायनले सञ्चारकर्मीहरूलाई मंगलवार बताए ।
अनुमतिप्राप्त खोपहरूले भाइरसको भयावह विस्तारलाई रोक्न मद्दत गरेको आँकडा फेला परेको उनले बताए ।
तर रायनले यसमा आत्ममुग्धता राख्न नहुने किनकि महामारी अझै पनि विकसित भइरहेको उनको भनाइ छ ।
एजेन्सी