नेपाली संगीतकारबारे कार्थकका खस्रामीठा कुरा

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

पिटर जे. कार्थकको पुस्तक ‘नेपाली म्युजिकमेकर्स’को नेपाली अनुवाद ‘नेपाली संगीतस्रष्टाः दार्जीलिङ र काठमाडौंको संगीत संसार’ले नेपाली भाषाका संगीतकर्मीहरूको यथार्थपरक चित्रण गरेको छ । 

पुस्तकका कुल २८ वटा अध्यायले नेपालमा २०५० को दशकसम्मको ऊर्वर सांगीतिक क्रियाकलापको चित्र पाठकहरूका लागि कोरेको पाइन्छ ।
 
दार्जीलिङका नेपालीभाषी संगीतकर्मीहरूमध्ये केही त्यतै बस्न रुचाएका थिए अनि केही चाहिँ नेपाल आएर संगीत साधनामा लागेका थिए । कार्थक आफैं पनि दार्जीलिङमा संगम क्लब तथा द हिलियन्समा रही बेस गिटारिस्टका रूपमा काम गरेका थिए । पछि उनी नेपाल आएर रेडियो नेपालमा गिटारिस्ट बने तर संगीतलाई चटक्कै छोडेर पत्रकारितातर्फ आकर्षित भए । 


Advertisement

आफैं समेत संलग्न रहेकाले कार्थक दार्जीलिङ र नेपालको संगीतकर्मका विषयमा धारणा राख्न सक्ने आधिकारिक व्यक्ति हुन् । विशेषगरी कुनै संगीतस्रष्टाको मृत्युपछि अंग्रेजी भाषामा अबिच्युरी लेखेर पत्रिकाहरूमा छपाएका कार्थकलाई पुस्तकाकार दिन वसन्त थापाले हुटहुटी लगाउनुभएको थियो र त्यसै संकलनलाई नेपालीमा अनुवाद गर्न पनि पहल लिनुभएको थियो । 

फलस्वरूप, नेपाली वाङ्मयका लागि निधिका रूपमा यो पुस्तक आएको छ । सुगम संगीतको स्वर्णकालमा सक्रिय पात्र तथा तिनको जीवनसंघर्ष र सांगीतिक परिस्थितिका विषयमा पाठकहरूले विशद वर्णन यस पुस्तकमा भेट्छन् । 


Advertisement

पुस्तकका लगभग सबै अध्यायमा अम्बर गुरुङ छाएका छन् । दार्जीलिङमा सक्रिय संगीतकर्मीहरूका गुरु अम्बर आफैं पनि उत्कृष्ट संगीत निर्माणमा खटिएका थिए अनि अन्य प्रतिभाशाली व्यक्तिहरूलाई पनि प्रेरणा दिने गरेका थिए । उनले कहाँ कोसँग संगीत सिके भन्ने कुरा कार्थक तथा अन्यले पत्ता लगाउन नसके पनि उनको अगाध ज्ञानबाट उक्त समयका सबै संगीतकर्मीहरूले फाइदा उठाएका थिए । अम्बरका विषयमा प्रशस्त अध्यायहरू छुट्ट्याइएको छ र प्रशंसामा अनेकौं शब्दहरू खर्चिइएको छ ।

कार्थकको नजरमा अम्बर गुरुङका सबभन्दा प्रतिभाशाली शिष्य गोपाल योञ्जन थिए । उनी बाँसुरी, भ्वायलिन, सारंगी र हार्मोनियम बजाउँथे अनि उनको स्वर पनि उम्दा थियो । अम्बरका अन्य शिष्यहरू अरुणा लामा, जितेन्द्र बर्देवा, शरण प्रधान, रञ्जित गजमेर लगायत पनि प्रवीण थिए । उनीहरूसँगको सांगीतिक सहकार्य अनि संगम क्लब र हिमालय कला मन्दिरबीचको सांगीतिक प्रतिस्पर्धा तथा लोक मनोरञ्जन शाखामा अम्बर गुरुङको योगदानलाई कार्थकले रोचक किसिमले प्रस्तुत गरेका छन् । 

पुस्तकमा अम्बर गुरुङको ‘नौ लाख तारा उदाए’ गीतका लागि छुट्टै अध्याय छ । हुन पनि त्यस सुन्दर गीतलाई अनावश्यक रूपमा विवादित बनाएर अम्बर तथा गीतकार अगमसिंह गिरीलाई प्रताडित गरिएको थियो । प्रवासी नेपालीहरूको पीडालाई मीठोसँग प्रस्तुत गर्ने उक्त गीतका कारण सरकारको कोपमा परी अम्बर गुरुङले सरकारी जागिर त्याग्नुपरेको थियो भने डूअर्समा त्यसै गीतका कारण उनीमाथि झण्डै भौतिक आक्रमण समेत भएको थियो । 

राजनीतिक रंगमा रंगाइएर गीतलाई विवादास्पद बनाइएको  भए पनि यस गीतले नेपाली संगीतमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । कार्थककै शब्दमा भन्नुपर्दा गीतले ‘पहाडे नेपाली संगीतमा प्रचलित मायाप्रीति, दुःख, विरह, अहायपन, ख्यालठट्टा, नखरा र द्विअर्थी रोमान्सको विषयभन्दा फरक विषयमा पनि गीत लेख्न सकिन्छ भन्ने देखायो’ । त्यसलाई थप राम्रो बनाउन सकिन्थ्यो कि भनी कार्थकले गमेका छन् ।

उक्त गीतको भूराजनीतिक आयाम तथा राजा महेन्द्रले भारतविरुद्ध खेलेको चिनियाँ कार्डका बारेमा कार्थकले गरेको वर्णन निकै गहिरो छ ।

संगीतकार तथा सर्जकहरू आफ्नै पाराका हुन्छन् । कार्थकले संगत गरेका संगीतस्रष्टाका ‘इडियोसिन्क्रेसी’को पनि रमाइलो वर्णन गरेका छन् । अम्बर गुरुङको कडा स्वभाव, गोपाल योञ्जनको हाँस्यविनोदमा रुचि, तारादेवीको घुलमिल नहुने बानी, नारायणगोपालको मदिराप्रेम लगायतलाई कार्थकले जस्तो देखेको हो त्यस्तै रूपमा प्रस्तुत गरेका छन् । 

पिटर जे कार्थकलाई काठमाडौंसँग सधैं गुनासो रह्यो । काठमाडौंले प्रवासबाट आएका व्यक्तिलाई सधैं हेय नजरले हेरेको अनि दुःख दिएको भनी उनले धेरै ठाउँमा तीतो पोखेका छन् । त्यसो त काठमाडौंले यहीँका कलाकारको पनि सम्मान गर्न जानेको थिएन । उदाहरणका लागि, बहुदल आएपछि तारादेवीलाई चाँदनी शाहको गीत गाएको बहानामा रेडियो नेपालको जागिरबाट अपमानजनक रूपमा निकालिएको प्रसंग पनि कार्थकले दिएका छन् । अनि अम्बर गुरुङको प्रतिभा पनि चिन्न नसकेको भनी उनले आक्रोश पोखेका छन् । 

कार्थकको विशेषता खरो मूल्यांकनमा झल्किन्छ । नजिकका संगीतकर्मीको पनि लोलोपोतो नगर्ने र कमीकमजोरीलाई सूक्ष्म रूपमा केलाउने उनको विशेषता देखिन्छ । तर केही संगीतकारको हकमा उनी बढी कठोर देखिएका छन् । जस्तो, दिलमाया खातीलाई उनी पटक्कै मन पराउँदा रहेनछन् । उनले लेखेका छन्, ‘दिलमायाले त घमण्ड गर्नु बेकार थियो, किनभने ‘सेक्स बम’ जस्ती भए पनि उनी प्रायः जसो बेसुरा गाउँथिन् । यसो हुँदाहुँदै पनि काठमाडौंको नाम चलेको नेपालय र अरू केही नक्कली सांस्कृतिक मेहफिलले दिलमायालाई यस्तो बेलामा ठाउँ दिए जति बेला उनी जस्तै प्रौढ उमेरका कलाकारले शान्तिपूर्वक आफ्ना शरद्काल बिताउनु उचित हुन्छ ।’ यस्तो लेखाइ अलि ‘जजमेन्टल’ र ‘मीन’ लाग्छ ।

अहिलेको पुस्ताले बिर्सिसकेका प्रतिभाशाली संगीतकर्मीहरू लुई ब्यांक्स, नातिकाजी, दिव्य खालिङ, फत्तेमान, बच्चु कैलाश, शिवशंकर, कर्म योञ्जन, पुष्प नेपाली लगायतको सम्झना गरेर कार्थकले नेपाली संगीतको संस्थागत स्मरणलाई मजबूत बनाउने काम गरेका छन् । त्यस दृष्टिकोणबाट हेर्दा पुस्तकको उपादेयता अपरिहार्य छ । 

पुस्तकलाई नेपालीमा अनुवाद गर्दा विभिन्न अनुवादकहरूबाट काम लिइएको छ (पंक्तिकार आफैं पनि यसमा संलग्न रहेको छ) । विभिन्न अनुवादकका बेग्लाबेग्लै शैलीलाई एकरूपता दिनका लागि सम्पादक वसन्त थापाले कठोर मेहनत गरेको देखिन्छ । 

तर कतैकतै भने शाब्दिक अनुवाद हुँदा अमिल्दो भान पनि भएको छ । तारादेवीको अध्यायमा ‘स्पाइनलेस’लाई ‘मेरुदण्डविहीन’ भनी शाब्दिक अनुवाद गर्नुभन्दा ‘हुती नभएको’ भन्नु उपयुक्त ठहर्थ्यो होला । 

अनि कतिपय ठाउँमा हिज्जेमा भएका गल्ती छुटेका छन् । जस्तो, वाद्यवादकलाई ठाउँठाउँमा वाद्यबाधक भनी लेखिएको छ जसको अनर्थ लाग्छ । 

यी सानातिना कमजोरीलाई बिर्सने हो भने पुस्तक उत्कृष्ट छ । एक निश्चित कालखण्डको संगीतका साथसाथै समाजको पनि यथार्थ चित्र प्रस्तुत गर्न सफल यस पुस्तकले संगीतप्रेमीका साथै सामान्य पाठकको पनि मन जित्न सफलता पाएको छ । 

पुस्तक ‘नेपाली संगीतस्रष्टाः दार्जीलिङ र काठमाडौंको संगीत संसार’
लेखकः पिटर जे कार्थक
अनुवाद सम्पादन र संयोजनः वसन्त थापा
प्रकाशकः हिमाल किताब
प्रकाशन वर्षः प्रथम संस्करण, सन् २०२०
पृष्ठसंख्याः १७४
मूल्यः रु. ४५०/–

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्