वैकल्पिक सरकार बनाऔं भन्ने कांग्रेसको प्रस्तावमा जसपाको जवाफ– 'केही दिन समय दिनुस्'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)समक्ष औपचारिक प्रस्ताव गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार बसेको तीन दलको बैठकमा कांग्रेसले पहिलोपटक औपचारिक रूपमा वैकल्पिक सरकार गठनका लागि प्रस्ताव गरेको हो ।


Advertisement

यसअघिका भेटघाट र छलफलमा समसामयिक राजनीतिक अवस्था र सम्भावित सहकार्यका विषयमा छलफल भएपनि कांग्रेसले 'वैकल्पिक सरकार बनाऔं' भनेर औपचारिक प्रस्ताव गरेको थिएन ।

कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले सहमति जनाए पनि जसपाले भने पार्टीमा सत्ता समीकरणका विषयमा पर्याप्त छलफल नभएको भन्दै केही दिनको समय मागेको छ ।

'कांग्रेसले वैकल्पिक सरकार बनाउन प्रस्ताव गर्‍यो, जसपाका शीर्ष नेताहरूले पार्टीमा छलफलका लागि केही समय दिनुस् भन्नुभयो,' जसपा नेता विश्वदीप पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

कांग्रेसको जोड आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने रहेको पाण्डेले जानकारी दिए । यसअघि कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीकै नेतृत्वमा वैकल्पिक सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।

जसपाले समय मागेपछि आजको बैठक अर्कोदिन फेरि छलफल गर्ने गरी टुंगिएको छ ।

सत्ता समीकरणमा किङमेकर बनेको जसपा वर्तमान सरकारलाई निरन्तरता दिने कि कांग्रेस-माओवादी सहितको नयाँ गठबन्धन बनाउने भन्नेमा अनिर्णित छ ।

अर्कातर्फ जसपाका केही नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निरन्तर छलफल गर्दै आएका छन् । वार्ता टोली नै गठन गरेर सरकार र जसपाबीच कुराकानी भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्