३ साता विद्यालय बन्द गर्न सीसीएमसी बैठकको प्रस्ताव

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले नयाँ प्रजातिको कोरोना बढेको भन्दै विद्यालय कम्तीमा ३ साता बन्द गर्न प्रस्ताव गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको खण्डमा विद्यालय पुनः बन्द हुनेछ ।
शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकले संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो ।
यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्रमा  जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीलाई कडाइका साथ अनुगमन गर्न निर्देशन पनि बैठकले दिएको छ ।
बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सबै पक्षमा अपील समेत गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए ।  यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको उनको भनाइ छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्