आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

फाइल फोटो

सरकारले आज सोमवार र भोलि मंगलवार ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले  भिटामिन ‘ए’ ६ महिनादेखि ५ वर्षमुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिए ।


Advertisement

कार्यक्रमअन्तर्गत देशभरका ५२ हजार केन्द्रबाट ५ वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । 

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ । उनले सोमवार खुवाउन बाँकी भएका बालबालिकालाई भोलि मंगलवार खुवाइने जानकारी दिए ।

उनका अनुसार भिटामिन ‘ए’ ६ महिनादेखि १ वर्ष उमेर समूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र १ वर्षदेखि ५ वर्ष मुनिकालाई १ क्याप्सुल (२ लाख युनिट) तथा जुकाको औषधि १ वर्षदेखि २ वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र २ वर्षदेखि ५ वर्ष मुनिकालाई १ ट्यावलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ । 

भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उनले जानकारी दिए । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ । 

सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा २ पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

कमेन्ट गर्नुहोस्