मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने ३ जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमवार नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय  नमराज अधिकारी र २२ वर्षीय रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका–३ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय रामचन्द्र थापा रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।


Advertisement

तारकेश्वर नगरपालिका १० नम्बर वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा वास्तविक नम्बर प्लेटका साथै स्वरुप समेत परिवर्तन गरी बा८८प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिँडेको अवस्थामा उनीहरूलाई सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिए ।

मोटरसाइकलको वास्तविक नम्बर बा९५प ३३३५ नम्बरको २२० सीसीको कालो रातो रंगको पल्सर मोटरसाइकल रहेको खुल्न आएको छ । 

पक्राउ भएका मोटरसाइकल चैत्र २७ गते तारकेश्वर नगरपालिका–६ पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भएका राजु तामाङले हुलिया निवेदन महाशाखामा दिएका थिए । 

पक्राउ गरिएको व्यक्तिसहित मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं निगरानी राखी विशेष कारवाही अभियान महाशाखाले चलाएको छ ।

चालू आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरी सवारीधनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तमार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्