विराटनगरमा लक्ष्यभन्दा २३ करोड बढी राजस्व संकलन

प्रतिकात्मक तस्वीर

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ६ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले ५ अर्ब ९९ करोड ५ लाख १६ हजार राजस्व संकलन गर्ने लक्ष्यमा २२ करोड ९० लाख ९९ हजार रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।


Advertisement

गत आवको यसै अवधिमा संकलित राजस्वभन्दा चालू आर्थिक वर्षमा १ अर्ब ३३ करोड १० लाख ९ हजार बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको छ । 

कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व संकलनमा प्रगति भएको र बिस्तारै अन्तःशुल्क वृद्धि हुने संकेत देखिएको बताए । उनले अन्तःशुल्क चालू आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक संकेत रहेको बताए ।

कार्यालयले सो अवधिमा आयकरतर्फ २ अर्ब ४३ करोड ६ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ १ अर्ब ९१ करोड २७ लाख ३६ हजार संकलन गरेको छ ।

संकलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।

कमेन्ट गर्नुहोस्