माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
डाक्टर बन्ने सपना उनमा सानैदेखि थियो तर घरको आर्थिक अवस्था कमजोर । सम्पत्तिका नाममा घर र पहाडमा थोरै खेतबारी मात्र । ठूलो परिवार ।
एमबीबीएस गरेर गरीब दीनदुःखीको सेवा गर्दै पहाडी क्षेत्रको स्वास्थ्य क्षेत्रलाई उकास्ने चाहनाले उनलाई घच्घच्याइरहन्थ्यो, सपना कसरी साकार पार्न भनेर तर उनको डाक्टर बन्ने मोह गज्जबकै थियो ।
गुल्मीको दुर्गम ग्रामीण क्षेत्र साविक अमरपुर गाविस चौरासी (हाल इस्मा गाउँपालिका–६) का रुद्र भण्डारी मध्यम स्तरको परिवारमा जन्मिएकाले डाक्टर बन्छु भन्ने पूर्ण विश्वासमा थिएनन् तर इच्छाशक्ति, आँट, साहस र लगनशीलताले रुद्रले डाक्टर बन्ने सपना पूरा गरिछाडे ।
मध्यम किसान परिवारमा २०४९ सालमा जन्मिएका भण्डारीले विद्यालय तहको पढाइ गाउँकै मालिका माविबाट पूरा गरे । पढाइमा तेज थिए उनी । कक्षामा सधैं प्रथम । गाउँमा घाँस दाउरा गर्दै उनले स्कूल पढे । २०६४ सालको एसएलसी परीक्षामा त्यो क्षेत्रमा पहिलो पटक सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणी (८१ प्रतिशत) ल्याएर उत्तीर्ण गरे उनले । जुन अंक उनको सपना पूरा गर्ने पहिलो खुड्किलो बन्यो ।
एसएलसीपछि पाल्पा पढ्न परिवारले सुझाव दिए । विज्ञान संकाय लिएर पाल्पाको जनता मोडर्न मावि तानसेनमा भर्ना भए उनी । २ वर्ष त्यहीँ बसेर पढे ।
‘प्लस टु’ सकेपछि उनी एमबीबीएसको तयारीका लागि काठमाडौं गए । छात्रवृत्तिका लागि कडा प्रतिस्पर्धा हुने एमबीबीएसको तयारी कक्षा मेहनत गरेर पढे । प्रवेश परीक्षा दिए । उत्तीर्ण भए । छात्रवृत्तिमा नाम निकाले ।
छात्रवृत्तिमा नाम निस्केपछि रुद्रको डाक्टर बन्ने आधार बन्यो । त्यो नै रुद्रको सबैभन्दा खुशीको क्षण भएको अहिले सम्झिन्छन् । सबैका लागि समुन्नत र इज्जतको पेशा हो डाक्टर, उनी त्यही डाक्टर बन्न गइरहेका थिए ।
त्यसपछि उनले विक्रम संवत् २०७० सालमा नेपाल सरकार, शिक्षा मन्त्रालयको सहयोगमा काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस पढाइ शुरू गरे । ५ वर्षपछि २०७५ सालमा उनी ‘पास आउट’ भए ।
‘विद्यालयमा पढ्दा सधैं प्रथम हुन्थे,’ भण्डारी भन्छन्, ‘फस्ट हुँदै गएपछि टाठो विद्यार्थी डाक्टर बन्नुपर्छ भन्ने । त्यहीँ छाप मेरो दिमागमा पनि बसिरह्यो । अनि उच्च शिक्षासँग डाक्टर बन्छु/बन्नुपर्छ भन्ने लक्ष्य लिएर मेहनतले उच्च शिक्षामा सधैं छात्रवृत्तिमा पढेर डाक्टर बने । यो समयको प्रतिक्षा मैले सानै उमेरदेखि गरेको थिएँ । अहिले पूरा भयो ।’
विगतलाई फर्केर हेर्दा कहिलेकाहीँ अचम्म पनि लाग्ने गरेको डा. भण्डारीको अनुभव छ । पढाइ पूरा गरेपछि उनी २ वर्षे करार सेवा (अधिकृत आठौं तह) मा विगत १८ महिनादेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सेवारत छन् ।
मेडिसिन डिपार्टमेन्ट सेवा शुरू गरेको केही महिनामै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नेपालमा पनि फैलियो । पूर्ण सरकारी छात्रवृत्तिमा अध्ययन गरेपछि सरकारी नियम अनुसार नै २ वर्ष स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर करारमा काम गर्नुपर्छ । रुद्रले मेडिकल अधिकृत बनेर लुम्बिनी प्रादेशिक अस्पतालमा २०७६ कात्तिक २ गतेबाट २ वर्षे करार सेवा गर्न थालेका हुन् । सेवाको प्रारम्भसँगै उनले आकस्मिक कक्ष (इमर्जेन्सी) हुँदै सघन उपचार कक्ष (आईसीयू) को जिम्मेवारी सम्हाले । अहिले पनि उनी प्रादेशिक अस्पतालमै कार्यरत छन् ।
आईसीयूमा जिम्मेवारी भए पनि कोरोनाका कारण रुद्रको ड्युटी सिफ्ट गर्नुपर्ने भयो । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल निर्माण भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालबाटै त्यहाँ चिकित्सक, नर्स, प्यारामेडिक्स, कार्यालय सहयोगी शुरूआतमा सिफ्ट ड्युटी जानुपर्ने भयो ।
चैत १० गते सरकारले लकडाउन घोषणा गर्यो । त्यसपछि झनै संक्रमित बढ्दै गए । वैशाख पहिलो हप्तासम्म राउन्डमा कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालमा ड्युटी गरेका रुद्रको जेठ अन्तिम हप्ताबाट कोभिड अस्पतालमै ड्युटी पर्यो ।
आत्मबल बढाउँदै उनी सेवामा खटिए । त्यो पनि लगातार ११ दिनसम्म । अहिले फेरि कोरोनाको दोस्रो लहर आएको छ ।
आईसीयू एक त संवदेनशील, त्यसमाथि संक्रमित भएका कारण सजगता अझ बढी अपनाउनुपर्ने थियो । ‘जब पीपीई सेट लगाएर उभिन्थें, एउटा छुट्टै हिम्मत बढेर आउँथ्यो,’ रुद्र भन्छन् ।
आईसीयूका बिरामीलाई अक्सिजन सप्लाई, श्वासप्रश्वासमा समस्या हुँदा मुखबाट पाइप लगाइदिनेदेखि आइसोलेसनमा भएकाहरूलाई उत्प्रेरणा दिने काम रुद्रले त्यो ११ दिनको बीचमा गरे । अस्पताल प्रशासनले खाने–बस्ने व्यवस्था बुटवलको एक होटलमा गरेको थियो । खाने र बस्ने त्यहाँ, ड्युटी धागो कारखानामा । लैजाने–ल्याउने व्यवस्था अस्पताल प्रशासनले मिलाएको थियो ।
‘हामीले जति पढेका थियौं, त्यसभन्दा यो कोभिड एउटा फरक संक्रमण थियो । सबैभन्दा बढी ओखती आत्मबल बढाउने नै भन्ने हो । त्यसैले पनि हामीले आइसोलेसनमा त्यही अनुसार आत्मबल बढाउने काम गर्यौं,’ उनले भने ।
११ दिनपछि पीसीआर जाँचका लागि स्वाब दिइयो तर परीक्षणको रिपोर्ट आउँदासँगै काम गर्ने ४ जना साथीमध्ये १ जनाको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि रुद्र केही डराएपनि सेवामा खटिए । अहिले दोस्रो महामारी शुरू हुँदा पनि उनी संक्रमितको सेवामै खटिएका छन् ।
कोरोनाको दोस्रो कहर अहिले फेरि शुरू भएको छ । अब सरकारले ‘थ्री टी’ विधिबाट कोरोनाको उपचार गर्नुपर्ने सुझाव डा. रूद्रको छ । ‘अब सरकारले पहिलेको भन्दा फरक तरिकाबाट कोभिडको नियन्त्रण र रोकथाममा जानुपर्छ,’ उनी भन्छन्, ‘अब थ्री टी अर्थात् ट्रेसिङ, टेस्ट र ट्रिटमेन्ट विधि अपनाउनुपर्छ । नत्र अवस्था जटिल पनि हुन सक्छ । अबको ट्रिटमेन्ट आईसीयू लेभलका हुन्, किनभने अहिले संक्रमितहरू लक्षण सहितका छन् । त्यसैले पनि आईसीयू र भेन्टिलेटर थप वृद्धि गर्दै लैजानुपर्छ ।’
पछिल्लो समय दम, श्वासप्रश्वासमा समस्या भएकाहरूमा संक्रमितहरू भएकाले त्यस्ता बिरामीका लागि आईसीयू, भेन्टिलेटर आवश्यक पर्ने उनी बताउँछन् । अहिले जटिल संक्रमण नभएकाहरू घरमै बस्ने गरेका छन् । सेवासँगै रुद्र एमडीको तयारीमा पनि जुटेका छन् । एमडी उनले रेडियोलोजिस्ट र मेडिसिनमध्ये एउटामा गर्ने सोच बनाएका छन् ।
डाक्टर बनेर सेवामा आउँदा उनले नेपालको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको पाए । ‘कोरोना महामारी आउँदा नेपालको स्वास्थ्य क्षेत्रको वास्तविकता देखियो । नेपालको स्वास्थ्य संरचना निकै कमजोर भयो । सरकार स्वास्थ्य संरचना बलियो बनाउन लाग्नुपर्छ,’ रुद्रले भने ।
सरकारी स्वास्थ्य संरचनाले चिकित्सकको मनोवल कमजोर गराउने उनले बताए । ‘नेपालमा चिकित्सकको पेशाको सुरक्षा कमजोर देखियो । जसले गर्दा १ नम्बर जनशक्ति विदेश जान्छ । अझै अध्ययन गर्न युरोप छिरेकाहरू नेपाल फर्किंदैनन्,’ उनले भने । देशमै स्वास्थ्य क्षेत्र सुधार गरौं भन्ने चिकित्सकहरू पनि देशको सिस्टम देखेर निराश हुने अवस्था देखिने रुद्रको डेढ वर्षको सेवाले महसूस गराएको छ ।
‘अस्पतालमै उपचार गर्दागर्दै चिकित्सकमाथि आक्रमण हुन्छ । चिकित्सकको ध्यान सधैं बिरामीलाई निको बनाउनेमा हुन्छ,’ उनले भने, ‘बिरामी निको भएर घर फर्किंदा सबैभन्दा बढी खुशी डाक्टर हुन्छन् ।’ रुद्रले बुटवलमा सेवा शुरू गरेपछि गाउँमा विभिन्न स्वास्थ्य शिविरहरू पनि चलाएर गाउँका बिरामीलाई पनि सेवा दिए ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...