पति गुमाउँदाको पीडा पन्छाएर कोरोना संक्रमितको सेवामा सुनिता

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कोरोना भाइरस संक्रमणको महामारीको दोस्रो लहर शुरू भएसँगै यतिबेला नेपालको सबैभन्दा बढी कोरोना प्रभावित शहर बाँकेको नेपालगञ्ज हो । नयाँ वर्ष २०७८ लागेसँगै संक्रमण बढेको नेपालगञ्जमा २ हप्तामै कोरोना महामारी नियन्त्रण बाहिर पुगिसकेको छ ।

बाँकेमा कोरोना महामारी देख्दा भारतको जस्तै अवस्था नेपालमा पनि आउने त होइन भन्ने सबैतिर त्रास बढेको छ । त्यही कोरोनाको ‘हटस्पट’मा जनशक्ति र स्रोधसाधनको अभावबीच स्वास्थ्यकर्मी, नर्स र चिकित्सक महामारीबाट बिरामीलाई बचाउन दिनरात जुटेका छन् ।


Advertisement

तिनैमध्ये अग्रमोर्चामा खटिएकी ‘फ्रन्टलाइनर’ हुन् स्टार्फ नर्स सुनिता सहाकारी । संक्रमितलाई बचाउन आफ्नो दुःखलाई ‘साइड’मा राखेर सुनिता सेवामा खटिएकी हुन् । सुनिताको पीडा सुन्दा कसको मन रुँदैन होला ? तर उनै सुनिता आफ्नो मनलाई कठोर पत्थरजस्तो बनाएर महामारीमा जनतालाई बचाउन सेवामा खटिएकी छन् । 

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–३ रकुकी २५ वर्षीया सुनितालाई कोरोनाभन्दा ठूलो बज्रपात परेको छ । सुनिताले लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरमा ब्लड क्यान्सर (रक्त क्यान्सर) बाट गत माघमा पति गुमाउन पुगिन् । सुनिताको विवाह भएको ८ वर्ष मात्र भएको थियो ।

काठमाडौंको पाटन अस्पतालमा उपचारको क्रममा पतिको मृत्युपछि उतै दाहसंस्कार गरेर कोरोनाको ‘इपिसेन्टर’ नेपालगञ्जको भेरी अस्पतालमा साहस जुटाउँदै सेवामा खटिएकी छन् उनी । 

आफ्नो पीडाको आलो घाउलाई भुलेर सुनिता संक्रमितको सेवामा खटिएकी छन् । उनले ६ वर्षको छोरालाई दिदीकी छोरीसँग राखेकी छन् । उनी १३ घण्टासम्म पीपीई लगाएर कोरोनाको ‘हटस्पट’मा  संक्रमितको सेवामा खटिएकी छन् । सुनिताले छोरासँग नभेटेको पनि धेरै भइसकेको छ । उनी भन्छिन्, ‘१ हप्ता भयो । मलाई पनि कोभिड देखिएको छ । बिरामी छट्पटाएको देख्दा ‘रेस्ट’ गर्न मनले मान्दैन । बाँच्ने आशा सबैको हुने रहेछ । कोभिड भए पनि म आराम नगरी सेवामै छु ।’

‘मैले आफ्नो काखैमा नसर्ने रोगबाट श्रीमान गुमाए । अहिले मेरो श्रीमानकै उमेरका युवाहरू सर्ने रोग (कोभिड) महामारीबाट धमाधम मरिरहेको दैनिक रूपमा देखिरहेकी छु,’ सुनिताले भनिन् । बिरामीका कुरुवा रुँदा सुनिताको मन थामिँदैन । झल्यास्स आफू स्वास्थ्यकर्मी भएको सम्झन्छिन् अनि मनमा गाँठो पार्छिन् । किनकि उनीहरूकै अगाडि आँसु देखाए बिरामी झन् कमजोर हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ ।  

बिरामीलाई औषधि दिन्छिन्, सकिएका अक्सिजन सिलिन्डर ल्याएर बिरामीलाई फेरिदिन्छिन् । रातदिन सेवामै खटिन्छिन् । प्रत्येक बिरामीलाई शय्यामै पुगेर सम्झाउँछिन् । आँखै अगाडि मृत्यु हुँदा छेउमै रहेका अरु बिरामी डराउँछन् । सुनिताले सम्झाउँछिन्, नडराउनुहोस् भन्छिन् । ‘मृत्यु हुनेहरू कोरोनासँग हारेर गए पनि तपाईंहरूले जित्नुहुन्छ’ भनेर बिरामीको आत्मबल बढाउँदै/सम्झाउँदै सेवामा खटिन्छिन् उनी । 

सुनितासहित भेरी अस्पतालका ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा उपचारमा खटिँदा–खटिँदै कोभिड–१९ देखिएको छ । केही संक्रमित स्वास्थ्यकर्मीले ‘बेड रेस्ट’ गरे पनि सुनिताले १ दिन पनि आराम गरेकी छैनन् । सुनितालाई ६ महिनाअघि पनि कोरोना पोजेटिभ देखिएको थियो ।

‘मैले कोभिड भ्याक्सिन लगाएको छु,’ सुनिता भन्छिन्, ‘सामान्य खोकी, घाँटीको दुखाइ छ । आत्मविश्वासले नै सधैं सत्कर्ममा लाग्ने प्रेरणा दिने रहेछ । त्यहीँ प्रेरणाका साथ श्रीमानको मृत्युको पीडा भुलेर पनि महामारीमा उपचारमा खटिएको छु ।’ 

बाँकेमा अहिले अवस्था एकदमै गाह्रो भएको छ । दोस्रो लहरले ठूलो दुर्दशा निम्ताएको छ । उनकै आँखै अगाडि २० भन्दा बढी संक्रमितले ज्यान गुमाए । गत बिहीवार उनको ‘नाइट ड्युटी’ थियो । त्यो रात त उनले उपचार गर्दागर्दै ५ जना बिरामीको मृत्यु भयो । त्यो देख्दा उनको मनको एउटा कुनामा त्रास पैदा भयो । तर बचाउने कोसिस गरिरहेकै हो, के गर्ने यस्तै हो संसारको रित भनेर अन्य बिरामीको उपचारमा खटिइरहिन् । 

सरकारले मानिसहरूलाई अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन भनेको छ तर सुनितालाई बिहानै उठेर हस्पिटल जाने हतार हुन्छ । उनले बिरामीलाई ‘खाना खानुपर्छ खानाले नै कोभिड सकिन्छ’ भनेर सुझाउँछिन् । संक्रमण तीब्र भएसँगै स्वास्थ्यकर्मीमा पनि कोभिड पोजेटिभ हुने क्रम बढेको छ । बाँकेमा मात्रै अहिले २ हजार ५०० सक्रिय संक्रमित छन् । 

‘१३ घण्टासम्म पीपीई लगाएकाले सबै कपडा डेरामा गएर फुकाल्दा निथु्रक्क भिजेका हुन्छन् । प्यासले घाँटी सुकेको हुन्छ,’ उनी भन्छिन्, ‘महामारीलाई सबै मिलेर जित्ने हो, आफ्ना पीडा गौण राखेर देशको पीडा निको पार्न लागेकी छु ।’ 

यस्तो अवस्थामा पनि नर्सिङ पेशालाई ‘रेस्पेक्ट’ नगर्दा उनको मन दुखेको छ । राज्य तहबाट स्वास्थ्यकर्मीको मनोबल बढाउन योजना र बजेट पनि आवश्यक रहेको उनको भनाइ छ । उनीसहित अन्य स्वास्थ्यकर्मीले महामारीमा खटिँदा पनि धेरै महिनादेखि जोखिमभत्ता पाउन सकेका छैनन् । त्यो छिट्टै दिलाए स्वास्थ्यकर्मीको सेवाप्रति जाँगर बढ्ने आशा उनले गरेकी छन् ।

सुनिता भेरी नर्सिङ कलेजबाट २०७१ सालमा ‘पास आउट’ हुन् । उनी अहिले नेपालगञ्जको कोरियन टोलमा डेरा लिएर बस्छिन् । 

कोरोनाबाट जोगिन सबैभन्दा पहिलो आफैं जिम्मेवार बन्नुपर्ने सुनिताको सुझाव छ । भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, भीडभाड नगर्ने र नियमित हातधुने हो भने कोरोनामा जोगिन सकिने उनी बताउँछिन् । ‘हरेक नेपालीले अरु सबै बिर्सिएर आफैंलाई बचाउने प्रणका साथ खानपिन, आनीबानी र व्यवहारमा परिवर्तन गर्नुपर्छ,’ उनले भनिन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्