लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गर्न विपक्षी गठबन्धनको माग

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४ दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्त गैरकानूनी रहेको दाबी गरेको छ ।

गठबन्धनले पोखरेलको पद खारेज गर्न माग गरेको छ । अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै नियुक्ति पाएका शंकर पोखरेललाई मुख्यमन्त्रीका रूपमा अस्वीकार र प्रदेशभर बहिष्कार गर्ने निर्णय गरेको छ । 


Advertisement

पोखरेल विरुद्धको गठबन्धनले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको र स्वेच्छाचारी कदम चालेको भन्दै प्रदेश प्रमुख धर्मानाथ प्रसाद यादवलाई बर्खास्त गर्न समेत माग गरेको छ । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई कुनै पनि मानेमा स्वीकार गर्न नसकिने बताए । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशभर अल्पमतका मुख्यमन्त्रीलाई बहिष्कार गरिने बताउँदै अविश्वासको प्रस्तावको निष्कर्षका लागि विशेष अधिवेशनको माग समेत गरे । 

बहुमतसहित भौतिक रूपमा उपस्थित सांसदले मुख्यमन्त्रीको नियुक्ति खारेज, शपथ ग्रहण स्थगित तथा केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग राख्दै प्रदेश प्रमुखसमक्ष निवेदन दर्ता गराएका थिए । तर बल प्रयोग गरेर प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्रीकै कार्यालय पुगेर शपथ खुवाएकोप्रति गठबन्धनले आपत्ति समेत प्रकट गरेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्