![आर्यघाटको भावुक दृश्य : कोरोनाबाट मृत्यु भएकाको शव जलाउन पाइएन चिता [तस्बिरहरु]](https://lktcdn2.prixacdn.net/media/Pashupati_Death_04_rlE5yhdJy8.jpg)
मृत्यु पक्कै पनि दुःखद हो । मान्छेको जन्मपछि मृत्यु हुनु स्वाभाविक कुरा भएपनि जतिबेला मृत्युपछि गरिने संस्कार सहज हुन सक्दैन, त्यसले पीडामा परेका मृतकका आफन्तलाई थप कति पीडा होला ? भनिन्छ नि, अचानोको पीडा अचानोलाई नै हुन्छ । सोमबार यस्तै दृश्य देखियो–पशुपतिको आर्यघाटमा ।
आफन्तको मृत्युपछि सहज अन्तिम संस्कार गर्नु परिवारको चाहना हुन्छ । तर बिडम्बडा कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको शवको दाहसंस्कार पनि सहज रुपमा हुन सकेन । पशुपति मन्दिर आसपासको साविकको चिता खाली नहुनु तथा संक्रमतिलाई जथाभावी जलाउन पनि नमिल्ने हुँदा सोमबार केही संक्रमितलाई साविकको चिता भन्दा केही तल (तिलगंगा साइड) मा जलाइँदै थियो । शवदाह गृहमा समेत समस्या आउँदा शवलाई त्यसरी जलाउनु परेको थियो । यसरी बिजोग गरी मृतकको शव जलाइँदै गर्दा आफन्त भावुक देखिन्थे त वरीपरीबाट देख्ने जोकोही नाजवाफ देखिन्थे ।

निरन्तर कोभिडका शव जलाउँदा मेसिन बिग्रेकाले मर्मत गर्नुपर्ने र संक्रमित शवहरु पनि आउन थालेपछि छिटो काम गर्नुपर्ने भएकाले शवदाह गृहको नजिकै बागमती किनारामा शव जलाउन थालेको पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले लोकान्तरलाई बताए ।

‘मेसिन पनि मर्मत गर्नु पर्ने छ । लाश पनि धेरै भए । वैकल्पिक शव व्यवस्थापनको लागि बाग्मती किनारमा जलाएका हौं,’ निर्देशक खतिवडाले लोकान्तरसँग भने ।
आज बागमती किनारमा कोरोना संक्रमण भएर मृत्यु भएका १० जनाको शव जलाएको खतिवडाले बताए ।

