कोरोना खोप खरिदमा ३५ करोड कमिसनको खेलबारे मन्त्रीबाटै खुलासा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करीब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ ।

खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्ट विनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।


Advertisement

‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले एक अन्तर्वार्तामा भनेका छन्, ‘यो २७ दिन यति निर्णायक भयो, यही बीचमा भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो । त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन ।’ खोप खरिद रोकिएलगत्तै मन्त्रीले सीमित सञ्चारकर्मीसँग एजेन्टको स्वार्थ पूरा गर्न नसकिएको बताएका थिए ।

‘नेपाली जनतामाथि अन्याय गर्ने यस्ता बिचौलिया पनि देखियो, जसले गर्दा खोप ल्याउन सहज भएन,’ सञ्चारकर्मीसँग त्रिपाठीले भनेका थिए । कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ ।

सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ ।

फागुन ४ गतेको मन्त्रिपरिषद् बैठकले १ डोजको ४ अमेरिकी डलरका दरले २० लाख खोप खरिद गर्न ८० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार फागुन ९ गते १० लाख डोज खोप आयो । अझै १० लाख डोज आउन बाँकी छ । १० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप खरिदको प्रस्ताव सिरमलाई पठाएको थियो ।

२० लाख डोज किन्दा स्थानीय एजेन्टलाई कमिसन नदिने सिरमसँग सम्झौता नै भएको थियो । ५० लाख डोज खरिदमा भने एजेन्ट बाधक भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

२० लाख खोप ४ लाख प्रतिडोजमा खरिद गर्ने सम्झौता भएकामा ५० लाख खोप खरिद गर्न कमिसनसहित प्रतिडोज ६.०५ डलरमा सिरमबाट प्रस्ताव आएको मन्त्रालयले जनाएको छ । खोप खरिदको छलफल चल्दा फागुन तेस्रो साता १ डलरको ११५ नेपाली रुपैयाँ थियो । यसअनुसार १ डोज खोपको ६९५ रुपैयाँ ७५ पैसा पर्थ्यो । ५० लाख डोज खोप खरिद गर्दा ३ अर्ब ४७ करोड ८७ लाख ५० हजार रुपैयाँ पर्थ्यो । १० प्रतिशत कमिसन घटाउने हो भने ३४ करोड ७८ लाख ७५ हजार रुपैयाँ कम पैसामा खोप खरिद गर्न सकिन्थ्यो ।

एजेन्टकै दबाबमा खोप उत्पादन गर्ने कम्पनीले एजेन्टको कमिसन समेत जोडेर मूल्य प्रस्ताव गरेको स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । १० प्रतिशत कमिसन दिनु नपर्ने हो भने एक डोजको ५ दशमलव ४४ डलर पर्थ्यो । स्वास्थ्य मन्त्रालयले कमिसन दिएरै खोप खरिद गर्न चाहे पनि ८० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने बाध्यता थियो । 

कुनै सामान खरिद गर्दा सरकारले अग्रिम २० प्रतिशत रकम मात्रै भुक्तानी गर्न पाउने कानूनी व्यवस्था छ । ‘हामीले २० प्रतिशत रकम दिएपछि एजेन्ट ६० प्रतिशत लगानी गर्न समेत नसक्ने हैसियतका रहेछन्,’ प्रवक्ता गौतमले भने, ‘आफू लगानी समेत गर्न नसक्ने, कमिसन मात्रै लिनेलाई हामीले विश्वास गर्न सकेनौं । त्यसैले खोप खरिद अघि बढ्न सकेन ।’

कमिसनको विषय उठेपछि मन्त्री त्रिपाठी, सचिव लक्ष्मण अर्यालसहित केही कर्मचारीहरू खोप खरिदका लागि सिरम कम्पनीबाहेक अर्को विकल्पमा जान नहुने अडानमा थिए ।

सरकारले अग्रिम भुक्तानी गरिसकेको १० लाख डोज सिरमले उपलब्ध नगराउँदा खोप लगाउने दिन पटक–पटक सारिरहेको छ । पहिलो डोज लगाएको १२ साताभित्र दोस्रो खोप लगाइसक्नुपर्ने हुन्छ । फागुन २३ गतेपछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य सेवा विभागका अनुसार १८ लाख २३ हजार ६६३ जनाले पहिलो डोज कोभिसिल्ड खोप लगाइसकेका छन् । यसमध्ये फागुन १० गतेसम्म पहिलो खोप लगाएका ३ लाख ७० हजार ३२६ जनाले मात्रै दोस्रो डोज लगाएका छन् । १४ लाख ५३ हजार ३३७ जना कोभिसिल्ड खोपको पर्खाइमा छन् । उनीहरूले फागुन २३ गतेपछि खोप लगाएका हुन् ।

‘जेठ अन्तिम सातासम्म सबैलाई खोप लगाइसक्नुपर्ने हुन्छ,’ गौतमले भने, ‘सिरमले त्यतिबेलासम्म खोप दिनेमा हामी आशावादी छौं ।’

स्वास्थ्य सेवा विभागले ३ दिनअघि पनि सिरमलाई पहिलो खोप लगाएकाले दोस्रोपटक लगाउने दिन नजिकै आइसकेकाले तत्काल उपलब्ध गराइदिन पत्राचार गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए । ‘सिरमसँग खोप उपलब्ध गराइदिन ताकेता भइरहेको छ, लिखित रेस्पोन्स आएको छैन,’ उनले भने, ‘खोप बनाउन आवश्यक कच्चा पदार्थ नभएको र उत्पादन बढाएपछि उपलब्ध गराउने जानकारी आएको छ ।’

सिरमले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई आइतवार पत्र लेखेर आगामी महिना पनि खोप दिन नसक्ने जनाएको छ ।

कोभ्याक्सलाई पनि खोप उपलब्ध गराइदिन पत्राचार भइरहेको उनले बताए । कोभ्यासमार्फत कोभिसिल्ड खोप नै ३ लाख ४८ हजार डोज आएको थियो । सिरमसँग २० लाख डोज खरिद गरिसकेको र ५० लाख डोज खरिद गर्ने प्रक्रिया अघि बढेको भन्दै मन्त्रालयले फागुन २३ देखि ५५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने निर्णय गरेर कार्यतालिका समेत सार्वजनिक गरेको थियो । खोप आउने सुनिश्चित नभएपछि निर्णय सच्याउँदै ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै खोप लगाएको थियो ।

‘सिरमले खोप दिने प्रतिबद्धताका आधारमा खोप लगाउने कार्यतालिका बनाएर सार्वजनिक गर्‍यौं, पहिलोपटक त सच्यायौं,’ विभागका एक उच्च तहका कर्मचारीले भने, ‘दोस्रो डोज जेठ ११ देखि लगाउने भनिएको थियो । यो कार्यतालिका पनि सार्ने योजनामा छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्