माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ ।
संसद्का सबै ठूला दल शुक्रवार दिनभर आन्तरिक र २ पक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने एमालेका नेता माधवकुमार नेपालपक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ ।
नेपाल र उनीपक्षीय नेताहरूसँग केही दिनयता एमालेकै ओली पक्ष, नेपाली कांग्रेस र माओवादीले व्यापक संवाद गरिरहेका छन् । ओली र नेपाल पक्षका केही नेताबीच संवाद भइरहँदा स्वयं नेपाल भने कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग आगामी योजनाबारे छलफलमा थिए ।
नेपाल स्वयंले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेकाले उनको मन अरू दलहरूसँगै गठबन्धन गर्नेतिर सोझिएको छ । दोस्रो पुस्ताका नेताहरू सकेसम्म एमाले नै मिलाउनुपर्छ भन्ने छलफलमा छन् । अब विश्वासको मत लिन तयार ओली या अविश्वासको प्रस्ताव दर्ता गर्न ठिक्क परेका कांग्रेस सभापति शेरबहादुर देउवा कसको पल्ला भारी हुन्छ नेपाल समूहले गर्ने निर्णयमा भर पर्ने देखिएको छ । सबैतिर समानान्तर संवाद गरिरहेको नेपाल पक्ष भने कुन बाटो रोज्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।
कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रवार साँझ आधा घण्टा कुराकानी भयो । दाहालले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले अझै पनि संख्या नपुगेको बताए ।
‘कस्तो कुरा गर्नुहुन्छ तपाईं ? मलाई प्रधानमन्त्री हुन मन नभएको हो र ?’ देउवाले दाहालसँग भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘खोइ संख्या ?’
जवाफमा दाहालले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेश गरेका थिए । देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए । ‘उहाँहरूको विश्वास हुनुपर्यो, मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ ?’ देउवाले दाहालसँग सोधेका थिए ।
देउवाले यही प्रश्न बिहीवार एमाले नेता नेपालसँग पनि सोधेका थिए । अविश्वास प्रस्ताव ल्याउँदा जसरी नि बहुमत पुग्छ भनेर विश्वस्त दिलाउन पुगेका नेपाललाई देउवाले तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिएका थिए । देउवालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका थिए ।
बिहीवार साँझदेखि शुक्रवार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण पनि देउवाले तत्कालै अविश्वासको प्रस्ताव ल्याइनहालौं भन्ने प्रस्ताव दाहालसँग गरेको उनीनिकट एक नेताले बताए । ‘अहिले एमाले नै अनिर्णित छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौं त्यसपछि हेरौंला,’ देउवा र दाहालबीचमा भएको संवाद उदृत गर्दै दाहालनिकट स्रोतले बतायो ।
नेपाल पक्षमा पनि अर्को संशय छ – आफूहरूले राजीनामा दिइहाल्दा देउवाले अविश्वासको प्रस्ताव दर्ता गराएनन् भने के गर्ने ? ‘ओलीविरुद्ध गठबन्धन गर्नुपर्छ भन्नेमा नेपाल र देउवा दुवै सहमत छन्,’ स्रोतले भन्यो, ‘राजीनामा पहिले कि अविश्वास प्रस्ताव पहिले भन्नेमा कुरा अड्किएको छ । खासमा नेपाललाई देउवा र देउवालाई नेपालको विश्वास लागिसकेको छैन ।’
यद्यपि लुम्बिनी र गण्डकी प्रदेशमा सत्ता पक्षले बदमासी गरेको निचोड निकालेका देउवा ओली नेतृत्वको सरकारले चुनाव गराउँदा बर्बाद हुन्छ भन्ने निष्कर्षमा भने पुगेका छन् । त्यसपछि उनले विभिन्न माध्यममार्फत नेपाल पक्षका सांसदहरूको नाडी छामिरहेका छन् ।
लुम्बिनी र गण्डकी प्रदेशको राजनीतिबाट कांग्रेस सभापति देउवा केही हच्किएका थिए । वैशाख १९ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाल समूह रणनीतिक रूपमा अघि सर्यो । ओलीको यो निर्णयलगत्तै नेता नेपाल, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच महाराजगञ्जस्थित देउवाका एक नातेदारको घरमा भेटघाट भयो ।
भेटमा नेपालले राष्ट्रिय सभाको उपचुनावमा वाग्मती प्रदेशबाट नेपाल पक्षीय खिमलाल देवकोटालाई उठाउने प्रस्ताव गरे । ओलीले एमालेबाट रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरिरहेका बेला एमालेकै उम्मेदवार अघि सार्नकक केबल घटना मात्रै थिएन, ओलीका लागि सन्देश पनि थियो किनभने वाग्मती प्रदेशमा एमालेको एउटा खेमा गठबन्धनतिर लाग्नेबित्तिकै ओलीले उठाएका उम्मेदवार कमजोर हुने निश्चितप्रायः छ ।
‘यसलाई गठबन्धनको सुरुवातका रूपमा लिएका छौं, यही मोडेलमा अब सत्ता सहकार्य र आगामी चुनावसम्म जाने गरी संवाद अघि बढाइएको छ,’ देवकोटालाई उम्मेदवार बनाएपछि नेपालनिकट एक नेताले भनेका थिए, ‘नेपाल पक्षीय उम्मेदवारको समर्थनमा कांग्रेस, माओवादी र जसपा हुनु हाम्रा लागि सुखद संकेत हो ।’
नेपालले चालेको यो गोटी ओलीका लागि उत्तिकै दुखद् थियो, जति २७ गतेअघि नै सामूहिक राजीनामा दिने नेपाल पक्षीय सांसदहरूको तयारी संसदीय हिसाबमा प्रतिकूल छ ।
वैशाख २१ गते नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक भयो । बैठकमा २७ गते विश्वासको मत लिएलगत्तै ओलीले आफूहरूलाई कारबाही गर्ने तयारी गरेको कुरा उठेपछि उपमहासचिव घनश्याम भुसालले उसो भए कारबाही अघि नै सामूहिक राजीनामा दिऊँ भनेर प्रस्ताव गरे । फ्लोर क्रस या ओलीको कारबाही भोग्नुभन्दा यही नै उत्तम उपाय हो भनेर उनको प्रस्तावलाई धेरैले समर्थन जनाएपछि माधव नेपाल पनि सहमत भए ।
नेपाल पक्षको यो तयारीले जसपाको एउटा खेमाले मात्रै समर्थन गरे पनि विश्वासको मत लिउँला र पूरै कार्यकाल सरकार चलाउँला भन्ने चाहना एकातिर र अर्कोतिर अल्पमतकै सरकारको नेतृत्व गरेर चुनावमा जाने सोचसहित संसद्को शक्ति परीक्षणमा होमिएका प्रधानमन्त्री ओली आसपासका नेताहरू झस्किए । उनीहरूले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै नेपाल समूहका दोस्रो तहका नेताहरूसँग कुराकानी अघि बढाए, बिहीबार नेताहरूका बीचमा बाक्लो छलफल भयो ।
दिउँसो उपमहासचिवहरू घनश्याम भुसाल, विष्णु पौडेल, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायत नेताहरू संवादमा जुट्दा पौडेलले समस्या समाधानका लागि कार्यदल बनाउने प्रस्ताव ल्याए । त्यसमा अरू नेताहरू पनि सहमत थिए तर २०७५ जेठ २ अघिको पार्टी कमिटीलाई मान्ने वा २०७७ फागुन २८ पछिको परिस्थितिलाई स्वीकार्ने भन्नेमा कुरा मिलेन ।
यहीबीचमा वरिष्ठ नेता नेपाल कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारको विषयले ओली समूहमा तरंग ल्याएको थियो । नेपालको बूढानीलकण्ठतिरको यात्रापछि नेपाल र उनीपक्षीय नेताहरूसँग संवाद गर्न दोस्रो तहका नेताहरूले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिए । फलस्वरूप बूढानीलकण्ठबाट फर्किंदै गर्दा बिहीबार राति ८ बजे नेपाल राष्ट्रपति भवन शीतल निवास छिरे । ओलीले बोलाएपछि एमाले उपमहासचिव भुसाल र सचिव योगेश भट्टराई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गए । दुवैतिर नेताहरूले ३–३ घण्टा समय बिताए तर ती छलफल त्यति सौहार्द भएनन् ।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो, यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले भनेका छन्, ‘२०७७ फागुन २८ र तत्पश्चात बसेका कथित बैठकहरू र तिनले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’
नेपालले यसो भनिरहँदा शुक्रवार बिहान राष्ट्रिय सभाको उम्मेदवार छान्न ओली पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक बालुवाटारमा बसिरहेको थियो, यसबाट पनि कुरा मिलेन भन्ने छनक आइसकेको थियो ।
त्यसो भए ३/३ घण्टाको बसाइमा के कुराकानी भयो त ? ‘खासमा भन्दा केही पनि कुरा भएन,’ नेता नेपालको भनाइ उदृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले तपाईं, म र केपीजी बसेर चिया खाँदै गफगाफ गरौं भन्नेबाहेक अरू केही पनि भन्नुभएन ।’
भेटमा नेपालभन्दा धेरै बोलेकी राष्ट्रपतिले सुरुवातकालीन राजनीति, त्यतिखेरका आरोह अवरोह, पार्टी बनाउँदाका सुखदुःखबारे कुरा गरेकी थिइन् । उनले नेपालकै कारण आफ्नो र मदन भण्डारीको बिहे भएको कुरा उप्काउँदै भण्डारीको सपना पूरा गर्नका लागि भए पनि एकताबद्ध एमाले हुनुपर्ने र त्यसका लागि नेपालले ओलीलाई सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।
‘शुरूमा मदन भण्डारीले बिहेको प्रस्ताव गर्दा विद्याजी मान्नुभएको थिएन, पछि माधव कमरेडले नै कुराकानी मिलाइदिएपछि उहाँहरूको बिहे भएको थियो, हिजो राष्ट्रपतिले त्यही कुरा निकाल्नुभएछ,’ नेपालको ब्रिफिङ सुनेका एक स्थायी कमिटी सदस्यले भने, ‘कहिले के खाइयो, कहिले कता गइयो, त्यस्तै त्यस्तै कुरा भएका रहेछन् । अब पार्टीलाई कस्तो बनाउने भन्ने केही प्रस्ताव आएनछ ।’
भेटमा राष्ट्रपति भण्डारीले धेरैपटक पार्टी निर्माणका बेला गरेका संघर्षका कुरा उधिनेर नेपाललाई सम्झाउन खोजेकी थिइन् । उनले मदन भण्डारीको निधनलगत्तै नेपाल नै कार्यवाहक महासचिव भएर एमाले धानेको सम्झाउँदै पार्टी जोगाउने जिम्मेवारी पनि ‘तपाईंकै हो’ भनेकी थिइन् । जवाफमा नेपालले आफूले एकताबद्ध एमाले चाहेको भए पनि ओलीले पार्टीमा बस्न, खानै नदिएको बताएका थिए ।
‘मलाईभन्दा केपीजीलाई नै सम्झाउनुस्, हामी त जहिले पनि विधिपद्धति सहितको एकताबद्ध एमालेको पक्षमा छौं,’ नेता नेपालको जवाफ थियो । भण्डारीले उनीसित एकपटक ओलीसहित बसौं भनेर प्रस्ताव पनि गरेको नेपालले आफ्ना निकटस्थहरूलाई बताएका छन् । ‘भेटेर के गर्नु, यो माग्यो र त्यो माग्यो भनेर मेरै बदनाम गर्नुककहुन्छ,’ नेपालले राष्ट्रपतिलाई भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो, ‘शुक्रवार पनि भेटौं भन्ने बालुवाटारतिरको प्रस्ताव थियो तर उहाँ मान्नुभएन ।’
राष्ट्रपतिले पार्टी एकताका लागि पहलकदमी लिन माधव नेपालसित कुराकानी गरिरहेका बेला बालुवाटारमा भुसाल र भट्टराईसित संवादमा रहेका ओलीले के भने त ? ‘के भन्नु र ? उही २०४८ यताका कुराकानी भएछन्, प्रधानमन्त्रीले माधव नेपाल र प्रचण्डलाई गाली गुर्नभएछ,’ सम्बद्ध स्रोतले भन्यो, ‘उहाँहरूले धैर्यतापूर्वक सुनेर फर्किनुभएछ ।’ भेटमा प्रधानमन्त्री ओलीले पार्टी मिलाउनेभन्दा पनि आफ्नो समूहमा आउन उनीहरूसँग आग्रह गरेका थिए ।
‘उहाँले तिमीहरूले मलाई साथ देऊ, आफ्नो भविष्य हेर भन्नुभयो, हामीले उहाँलाई पार्टीको भविष्य हेर्नुस् भन्यौं,’ उपमहासचिव भुसालले भने, ‘उहाँलाई हामीले २०७५ जेठ २ गते जाऔं भन्यौं । उहाँले हुँदैन, म त्यो सक्दिनँ भन्नुभयो । सक्दिनँ भनेपछि मिल्ने कुरै भएन ।’
प्रधानमन्त्री ओलीले हिजो आफूलाई कठिन परिस्थितिमा साथ दिएकाहरूलाई पार्टीबाट हटाउन नसक्ने बताएका थिए । ‘उहाँले मलाई हिजो कठिन परिस्थितिमा साथ दिएकाहरूलाई हटाउन सक्दिनँ भन्नुभयो,’ भुसालले भने, ‘हामीले हटाउनु कसले भन्या छ, ती त पार्टीमा आएका बाँकी नै रहन्छन्, पछि तपाईंको निर्णयबाट नाजायज पद पाएकाहरूले त्यो पद छोड्नुपर्छ भन्यौं । उहाँ त्यसमा तयार हुनुभएन हामी फर्कियौं ।’
भेटमा ओलीले अब चुनावमा नै जानुपर्ने भएकाले आफ्नो समूहमा रहे आफूले त्यहीअनुसारको व्यवहार गर्ने बताएका थिए । पौने ३ घण्टाको उक्त संवाद पनि सौहार्दपूर्ण रहेन । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मिलौं भन्ने सबैको मत भए पनि कसरी मिल्ने भन्ने टुंगोमा पुगिनसकेको बताए ।
‘विभिन्न ठाउँमा साथीहरू छलफलमा लागेका छन्, अहिले नै केही भन्न सकिन्नँ, कुनै ठोस सहमति भइसकेको छैन,’ नेम्वाङले भने, ‘मिलौं भन्ने त छ तर कसरी मिल्ने हो, त्यो छैन ।’
नेपाल पक्षले भने ओलीले २७ गतेको गर्जो टार्नमात्रै कुराकानी गरेको निचोड निकालेको छ । ‘यो ओलीजीको दाउपेचमात्रै हो,’ वरिष्ठ नेता नेपालले कान्तिपुरसित भने, ‘ओलीजीकै दाउपेच चल्छ, अरू त के छ र ? यता वार्ता गरेझैं गर्नुहुन्छ, अर्कातिर संवैधानिक नियुक्तिहरू गर्न खोज्नुभएको छ । कसरी विश्वास गर्ने ? कसरी पत्याउने ?’
ओलीपक्ष र नेपालपक्षका नेताहरूबीच शुक्रबार भएको छलफल पनि एकताबद्ध पार्टीको सैद्धान्तिक आधार के हो भन्नेमा कुरा नमिलेपछि निचोडमा पुग्न सकेन । पार्टीलाई एकताबद्ध बनाउन पहल गरिरहेका दुवै समूहका दोस्रो तहका नेताहरू छलफलमा सहभागी थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टी मिलाऔं भन्नेबारेमा सबैको चासो भए पनि त्यसको ठोस आधारबारे कुरा नमिलेको सचिव योगेश भट्टराईले बताए । ‘पार्टी मिलाऔं भन्नेमा सबैको चासो छ, मिलौं भन्ने पनि छ, हामीले जेठ २ वरिपरि जाऔं, त्यही हो आधार भनेका छौं,’ सचिव भट्टराईले कान्तिपुरसित भने, ‘उहाँहरूले त्यसलाई अलि मानिराख्नुभएको छैन ।’
उनले बैठकमा एउटा कार्यदल बनाऔं भन्नेबारेमा पनि कुरा उठेको तर नमिलेको बताए । ‘कार्यदलले के गर्ने त ? जेठ २ लाई मान्ने सैद्धान्तिक सहमति भयो भने कार्यदल बनाएर पनि ठीकै छ, त्यो भएन भने त कार्यदलले त केही गर्दैन, यस्ता कुरामा प्रस्ट गरौं न त भन्ने भएको छ,’ भट्टराईले भने । छलफलमा ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र नेपाल समूहका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए । कान्तिपुर दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...