पूर्वसांसद परियारको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । 

लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित रहनुभएका ६८ वर्षीय पूर्वसांसद परियारको आज विहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै नवासमा निधन भएको नेपाली कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए ।


Advertisement

विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित नेता परियार राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।

दलित समुदायबाट नेपालमै पहिलो पटक जन निर्वाचित सांसद भएका नेता परियार बीपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाको विरुद्धमा सङ्घर्ष गर्दा जेल समेत परेका थिए ।

मानव मानवबीच हुने जातिय विभेदविरुद्धको आन्दोलनका अग्रणी नेता परियारको निधनबाट बाँके जिल्लामा लोकतान्त्रिक आन्दोलनको बलियो खम्बा ढलेको नेता ओलीले बताए ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियारलाई इमान्दार नेताको रूपमा लिने गरिन्थ्यो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्