वायुसेवा निगममा अप्रेसन विभागको मनोमानी

तस्वीर सौजन्य : राजधानी दैनिक

नेपाल वायुसेवा निगमको अप्रेसन विभागले क्रियु मेम्बर राख्ने मलेसियाको होटल छनोट गर्ने क्रममा अनियमितता र बदमासी गरेको खुलासा भएको छ ।

विभागका तत्कालीन प्रमुख क्याप्टेन सुवास रिजाल, निगमका कन्ट्री म्यानेजर सुदीप महर्जन र एयरपोर्ट म्यानेजर सुरेश हमाललगायतको योजनामा मलेसियामा क्रियु मेम्बर राख्न चार वर्षअघि सेरी प्यासिफिक होटल छनोट गर्दा अनियमितता र बदमासी भएको पाइएको हो ।


Advertisement

यसरी होटल छनोट गर्दा नियम कानुन र विधि पद्धति मिचेर टेन्डर प्रक्रिया स्वीकृत गरेको पाइएपछि ठूलै आर्थिक चलखेल र हिनामिना भएको आशंका गरिएको छ ।

होटल छनोको क्रममा अनियमितता र चलखेल

अप्रेसन विभागका प्रमुख रिजालकै रुचि र योजनाअनुसार विभागले आफ्ना क्रियु मेम्बर राख्न विभिन्न प्रपञ्च गरी १ अगस्ट २०१७ मा होटलसँग सम्झौता गरेको थियो । सम्झौता गर्नुअघि अपनाइने टेन्डर प्रक्रियामा समेत मिलेमतो भएको बताइएको छ ।

अझै आश्चर्यको विषय त टेन्डर निकालेर होटल छनोट भएपछि मात्रै रिक्वेस्ट फर प्रपोजल (आरएफपी) गरिएको छ । जबकि हरेक सम्झौता र टेन्डर गर्नुअघि नै नियमअनुसार आरएफपी गर्नुपर्छ । तर, विभागले गैरकानुनी रूपमा मलेसियाको सो सेरी प्यासिफिक होटल छनोट गरिसकेपछि मात्रै आरएफपी जारी गर्नुले टेन्डर प्रक्रियामा अनियमितता भएको आधार देखिएको छ ।

विभागले मलेसियाको सो होटलसँग सम्झौता गरेको दुई महिनापछि मात्रै आरएफपी गरेको पाइएको छ । जुन नियमविपरीत हो । होटलसँग सम्झौता गर्दा दुुई वर्षका लागि भन्दै १ अगस्ट २०१७ मा सम्झौता गरिएको छ भने त्यसको दुई महिनापछि १० अक्टोबर २०१७ मा मात्रै आरएफपी गरिएको पाइएको छ । यसले पनि होटल सम्झौता र टेन्डर प्रक्रियामा ठूलै रकमको चलखेल भएको निगमका कर्मचारीको दाबी छ । विस्तृत खबर राजधानी दैनिकमा छापिएको छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्