महालक्ष्मी नगरपालिकाको १ अर्ब ९४ करोडको बजेट पारित

ललितपुरको महालक्ष्मी नगरपालिकाको नगर सभामा १ अर्ब ९४ करोडको बजेट पारित भएको छ ।

‘स्वच्छ, सफा, समृद्ध सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारासहित आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि मंगलवारदेखि शुरू भएको दशैंनगर सभामा उपप्रमुख निर्मला थापाले बिहीवार चालू खर्चतर्फ २८ दशमलव ७१ प्रतिशत र पूँजीगततर्फ ७१ दशमलव २९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी गराइन् ।


Advertisement

नगर सभाले महालक्ष्मीको वडा नम्बर ८ लुभू र वडा नम्बर ९ लामाटार भौगोलीक हिसाबले जनसंख्या बढी रहनाका साथै यी वडामा सेवा प्रवाह चुस्त र दुरुस्त बनाउन २/२ वडामा विभाजन गर्ने नयाँ नीति समेत पारित गरेको बताइएको छ ।

मुलुकमा बढ्दै गइरहेको कोभिड–१९ नियन्त्रण तथा उपचार र परीक्षणका लागि स्वास्थ्य उपकरण तथा सामग्री आपूर्ति गर्ने र प्रभावितलाई रोजगारीका साथै राहत र सहायताको व्यवस्था पनि गर्ने भएको छ । 
 
कोरोनाका कारण अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई शैक्षिक सहायता, वडा नम्बर १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै मनमोहन मेमोरियल तथा गणेशमान उद्यान अनि नगर सभाहल र अन्तरराष्ट्रिय धार्मिक संग्रहालय निर्माण गर्ने भएको छ ।

नगरभित्रका ज्येष्ठ नागरिकका हितमा बाआमा स्वास्थ्य सेवा कार्यक्रम तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राका लागि शैक्षिक सहायता र  नगरक्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यक्रममा जोड दिएको छ ।

कमेन्ट गर्नुहोस्