२६ जेठ २०८३, मंगलबार
बालकोटमा ओली

‘मैले हारेर वा काम गर्न नसकेर होइन, जालझेल र कपट गरेर प्रधानमन्त्रीबाट हटाइयो’

असार ३०, २०७८
‘मैले हारेर वा काम गर्न नसकेर होइन, जालझेल र कपट गरेर प्रधानमन्त्रीबाट हटाइयो’

आदरणीय साथीहरू, मेरा मित्रहरू सबैमा धेरै-धेरै अभिवादन ! 

३ वर्ष ५ महिना सरकारको सफल कार्यकाल पूरा गरेर आज म फर्किएको छु ।

जनादेशबाट होइन परमादेशबाट, कुनै गल्ती गरेर होइन अदालतबाट अकारण, काम गर्न नसकेर होइन देशको विकास गरेर, देशलाई अगाडि बढाएर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, संविधानलाई सर्वस्वीकार्य गराएर, विकासको लहरलाई अगाडि बढाएर, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविलाई माथि उठाएर, नेपालको स्वाभिमान र छविलाई माथि उठाएर काम गर्दागर्दै जाली र झेलीहरूले जालझेल, षड्यन्त्र र कपटस्वरूप अदालतमा मुद्दा हालेर, असंवैधानिक फैसलाबाट जनादेशविपरीत हटाइएको छ ।

कुनै मूल्यांकनको आधारमा होइन, जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको गलत नजिर कायम गरेर मलाई हटाइयो । 

नेपालको लोकतन्त्रमाथि, नेपालका जनतामाथि, नेपालको संविधानमाथि अतिक्रमण भएको छ । नेपाली जनताको अधिकार खोसिएको छ ।

नेपाली जनताले आवधिक मूल्यांकन गर्न पाउने, पार्टीहरूको, नेताहरूको, सरकारको कामको मूल्यांकन गर्न पाउने नीतिहरूको, विचारको र व्यवहारको मूल्यांकन गर्न पाउने जनताको त्यो अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा अदालतबाट भएको छ । 

हामीले देशका लागि राम्रो काम गरेका छौं । विकासको गति बढाएका छौं । अर्थतन्त्रलाई माथि पुर्‍याएका छौं । कोभिड– १९ ले दुनियाँलाई तबाह गर्दाखेरी हाम्रो जस्तो गरीब देशमा कसैले परीक्षण गर्न पाएनौं भन्ने अवस्था छैन । धनी देशले निःशुल्क परीक्षण गर्दैनन्, निःशुल्क उपचार गर्दैनन्, हाम्रो जस्तो गरीब देशमा निःशुल्क परीक्षण र निःशुल्क उपचार गराइयो । 

सबैलाई पुग्नेगरी खोपको व्यवस्था गरेका छौं । मैले हिजो पनि बोल्दा भनेको छु, सबै नेपाली जनतालाई खोप पुग्नेगरी व्यवस्था गरेका छौं । एकैपटक थुपार्दा बिग्रिन्छ । क्रमशः ल्याउँदै जान्छौं ।

अस्तिका दिन अमेरिकाबाट १५ लाख, हिजो जापानबाट साढे १६ लाख । चीनबाट ३२ लाख खोप आउँदैछ । अस्ति ८ लाख चीनबाट आयो । अरू १६ लाख फेरि अनुदानमा आउँदैछ । ६० लाख ल्याउने भनेर सहमति गरेका छौं । खोपको कुनै कमी हुँदैन । खोप लगाउने शिलशिला अगाडि बढेको छ । 

लाज नहुनेहरूले के भन्दैछन्, नयाँ सरकार बनेपछि खोप आउँदैछ रे ! हामीले जुँगा उमार्दिने, अरूले ताउ लगाउने । 

मैले पहिला पनि भनेको थिएँ, हामी गौरवका साथ, शानका साथ जिउँछौं । काम गर्छौं । मर्न पर्दा पनि शानका साथ मर्छौं । सरकारको कामको जिम्मेवारी लिँदा पनि आत्मविश्वासका साथ जिम्मेवारी लिन जान्छौं, त्यही आत्मविश्वासका साथ । 

अहिलेसम्म म चुनाव हारेर प्रधानमन्त्रीबाट हटेको होइन । पहिलोपल्ट पनि जालझेलबाट यसपटक पनि म चुनाव हारेर हटेको होइन । फेरि बचेर कहाँ जान्छन् ? जालीहरूले सधैँ अदालत गएर, अदालतमा निवेदन हालेर सधैँ परमादेशबाट किस्तीमा सरकार पाउने छैनन् । जलाझेल एकपल्ट चल्ला, दुईपल्ट चल्ला, तर सधैँ चल्नेवाला छैन । नेपाली जनताले बुझेका छन् । 

म हाम्रा युवा साथीहरूलाई भन्न चाहन्छु, आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, यो देशलाई गरीब बन्न दिन हामीलाई मञ्जुर छैन । समृद्ध नेपाल, सुखी नेपाली बनाएर छाड्छौं । परनिर्भरता घटाएर छाड्छौं ।

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र र विकासको लहरबाट हामी अगाडि बढ्छौं । हामी सरकारमा गएपछि त्यति प्रतिकूल अवस्थमा पनि निर्यात बढायौं, शान्ति सुरक्षा र सुशासन कायम गर्‍यौं ।

हाम्रै पार्टीभित्र विभिन्न शक्तिको घुसपैठ यस्तो भयो । पार्टीका कमजोर र बिकाउ तत्व प्रतिक्रियावादीको पछिपछि लागेर पार्टीका विरुद्ध, जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध लागे । आफ्नै सरकार ढाल्नका लागि विरोधीलाई अगाडि लगाएर राष्ट्रपतिकोमा पुगे ।

माधव नेपाल जस्ता लाज शरम हराएका मान्छेको पछाडि लाग्नेहरू कमी कमजोरी महशुस गरेर पार्टीमा आएर काम गर्न चाहन्छन् भने अवसर होला, तर माधव नेपालको हकमा गल्ती कमजोरी, आत्मालोचना गर्ने कुनै ठाउँ छैन । 

यो परिस्थिति निर्माण गर्ने माधव नेपाल हुन् । विकासप्रेमी सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपाल हुन् । देउवाले शपथ ग्रहण गर्दा देउवाले नचाहँदा नचाहँदै हात मिलाउन गए । 

तपाईं युवाहरू हरेक ढंगले जनतालाई सचेत पार्न जानुस् । सचेतनाको अभियान चलाउनुस्, यही आग्रह गर्न चाहन्छु । 

(ओली बालुवाटारबाट बालकोटस्थित निजी निवासमा सरेपछि उपस्थित कार्यकर्तालाई ओलीले गरेको सम्बोधनको सम्पादित अंश)

salt training

कमेन्ट गर्नुहोस्